विश्व स्वस्थ संगठनले सन् २०१० मा प्रकाशित रेबिज विरुद्धको निर्देशिकामा केही परिवर्तन गरेको छ। सन् २०१७ को अक्टुबर महिनामा भएको विज्ञहरुको गहन छलफलपछि निकालिएको निर्क्योलको सिफारिसलाई विश्व स्वस्थ्य संगठनले हालै प्रकाशित गरेको निर्देशिकामा समावेश गरेको हो।
यो निर्देशिकाको मुख्य विशेषता भनेको आजसम्म लगाउँदै आइरहेको सुईको अवधि पहिलेको निर्देशिकामा उल्लेख गरेकोभन्दा छोटो हुनु हो। यसबाट उपचार गर्दा लाग्ने समय अवधि र आर्थिक भार कम हुनेछ।
नेपालले पनि रेबिज विरुद्धको सुई लगाउने अवधिलाई छोट्याएको छ। यो नयाँ तालिका केही दिनयता शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालले पनि लागू गरिसकेको छ।
धेरै स्वास्थकर्मीले अहिले पनि पुरानै तालिका प्रयोग गरिरहेको र सुई लगाइरहेकाहरुबीच पनि शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल आउँदा लगाउने अवधिलाई लिएर केही अन्योल छाएको देखिन्छ।
नयाँ तालिकामा के छ?
रेबिज विरुद्धको सुई हाल दुई प्रकारले लगाउने गरिन्छ।
१) छाला मुनि लगाउने।
२) मासु मुनि लगाउने।
छाला मुनि लगाउने- नयाँ तालिकाअनुसार छाला मुनि लगाउँदा अब तीन पटक मात्र लगाए हुन्छ। योभन्दा अगाडि चार पटक लगाउनु पर्थ्यो। यो तरिका अनुसार हरेक पटक आउँदा दुबै पाखुराको छाला मुनि ०.१ एमएल/०.१ एमएल (दुबैमा गरि ०.२ एमएल) दिने गरिन्छ। यो तालिमप्राप्त स्वस्थकर्मीहरुबाट मात्र लिनुपर्छ।
मासु मुनि लगाउने- यो तरिकाबाट लगाउँदा अब चार पटक लगाए पुग्छ। यो भन्दा अगाडि पाँच पटक लगाउनु पर्थ्यो। यो एक पटकमा एक भाइल एउटा पाखुराको मासु मुनि दिने गरिन्छ। यो टिटानसको सुई जस्तैगरी मासु मुनि दिने भएकोले अस्पताल आउन समय नहुनेले बाहिर पनि लगाउन सक्छन्।
सुई लगाउँदा के खान हुने के नहुने?
यो प्रश्न सबैभन्दा बढी सुई लगाउन आउनेले सोध्ने गरेको पाइन्छ। सुई लगाउने अवधिभर यो अथवा त्यो खाने वा नखाने भन्ने हुँदैन तर धूमपान, मधिरापान, खैनी जस्ता अम्मल छोड्नु राम्रो हुन्छ।
(डा पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल, क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्)