२४ अक्टोबर २०१८ मा अमेरिकाको एफडिएले नयाँ फ्लूविरुद्ध औषधि प्रयोग गर्न स्वीकृति प्रदान गरेको छ। आठ महिना अगाडि जापानले सोही औषधि फ्लूविरुद्ध प्रयोग गर्न अनुमति प्रदान गरेको थियो। यसलाई जोफ्लूजा (xofluza) नामकरण गरिएको छ। फ्लूको उपचारमा हाल प्रयोग भइरहेको एन्टी भाइरल औषधि (oseltamivir) विकास भएको लगभग २० वर्ष पछि अत्यन्तै प्रभावकारी औषधिको विकास भएको छ। औषधि विज्ञानमा थप नयाँ आयाम तथा आशा जगाएको यो औषधी जापानी अनुसन्धानकर्ताले पत्ता लगाई अमेरिकी कम्पनीले उत्पादन र वितरणको जिम्मा लिएको हो।
फ्लूका कारणले उत्पन्न हुनसक्ने स्वास्थ्य जटिलटा आउनै नदिनका लागि विकास गरिएको नयाँ एन्टी भाइरल औषधि जोफ्लूजा हो। यो विशेष खालको फ्लूको लक्षणहरु देखिएको ४८ घण्टाभित्र प्रदान गर्दा अत्यन्तै प्रभावकारी देखिएको छ। फ्लूका लक्षणमा पनि अति शीघ्र सुधार भएको (एक दिनमा नै) अनुसन्धानले देखाएको छ। यसले भाइरसको उत्पादन गर्ने क्षमता नै ह्रास ल्याइदिन्छ। हाल प्रयोग भैरहेको औषधि (oselramivir) ले भने प्रसारण गर्ने क्षमतामा ह्रास ल्याइ भाइरस कम गर्न मद्दत गर्दछ। यसको सबैभन्दा राम्रो पक्ष जोफ्लूजाको ट्याब्लेट एकपटक एक मात्र लिए पुग्छ। हाल प्रयोगमा ल्याइरहको एन्टी भाइरल औषधी भने दिनको दुईपटक पाँच दिनसम्म लिनु पर्छ। oseltamivir भन्दा xofluza ले भाइरसको संख्यामा द्रुत गतिमा कमी ल्याइ भाइरसबाहिर निकाल्ने सम्भावनालाई धेरै हदसम्म कमी ल्याउने गर्दछ । अर्थात् संक्रमित व्यक्तिबाट अरु स्वस्थ व्यक्तिमा फ्लू भाइरस सार्ने सम्भावना अत्याधिक कम हुनेछ।
यसको नकारात्मक असर सामान्य मात्र देखिएको छ। पखाला लाग्ने, ब्रोङ्काइटिस् हुने, वाकवाक लाग्ने, टाउको दुख्ने गरेको देखिएको छ। तर, यी सबै सामान्य स्तरमा देखिएका छन्। हाल यो औषधि गर्भवती तथा स्तनपान गराइरहेका महिलामा हुने असरको विषयमा अनुसन्धान हुन बाँकी छ। यस्तै, ग्यास्ट्रिकको झोल औषधि (एन्टासिड) र विभिन्न मिनरल सप्लिमेन्ट्ररि सँगै भने दिनु हुँदैन। यो औषधि चलाउदा फ्लूको प्रजाति एचथ्रीएनटु (हङकङ फ्लू) भएकोले अरु प्रजाति जस्तै एचवानएनवान (स्वाइन फ्लू) र अरु प्रजातिमा कस्तो प्रभाव पर्छ भनेर हेर्न अरु क्लिनिकल अनुसन्धान गरी प्रमाणित गर्न भने बाँकी नै देखिन्छ।
सेन्टर फर डिसिज कन्ट्रोल एण्ड प्रिभेन्सन अमेरिकाको तथ्यांकअनुसार गत वर्ष २०१७-२०१८ को सिजनमा मात्र अमेरिकाभरमा झन्डै ४ करोड ९० लाख फ्लूबाट संक्रमित भएकोमा ९ लाख ६० हजार अस्पताल भर्ना भएको र सो मध्ये ७९ हजार फ्लूको कारणले उत्पन्न स्वास्थ्य जटिलताको कारणले मृत्यु भएको अनुमान गरिएको छ। यसले अस्पताल भर्ना भएका संक्रमितमा मृत्युदर झन्डै ८% को हाराहारीमा भएको देखिन्छ। संक्रमण मात्र भएकामा झन्डै ०.२ % देखिन्छ। नेपालमा यस विषयमा राम्रो अनुसन्धान भएको पाइदैन। पंक्तिकारले वर्षेनी सयौंको संख्यामा फ्लू संक्रमितको उपचार तथा परामर्श दिँदै आइरहेको छ। बेलाबखतमा फ्लूको महामारीको कारणले नेपालीले मृत्युवरण गर्नु परेको तितो यथार्तता हामीसामू छ।
कुपोषण, वहुसंक्रमण, बेलामै सहि पहिचान गर्न नसक्नु, उपचार तथा परामर्शको कमीले गर्दा फ्लूबाट हुने मृत्युदर डरलाग्दो हुन सक्दछ। केहि दिन अघि राजधानीको एउटा विद्यालयमा एकै पटकमा फ्लूको लक्षणले दुई सय जना बिरामी भएका र बिहेमा जन्त जादा हभागी लगभग सबैलाई त्यस्तै लक्षणहरु देखिएको थियो। यस्तै राजधानीका दुई ठुला अस्पतालमा स्वाइन फ्लू अर्थात् एचवानएनवान पीडीएम २००९ फ्लूको कारणले आइसियूमा भर्ना हुनुपरेको (जसमा एकजना एयर एम्बुलेन्स मार्फत भारतमा उपचार गर्न गएको) अवस्थाले २०७५ सालको हिउँदे सिजनको फ्लू नेपाल आइसकेको र सजक हुनु पर्ने बेला भैसकेको देखिन्छ। विकसित देशमा फ्लूविरुद्ध खोप लगाउने चलन हुँदाहुँदै पनि ठूलो संख्यामा फ्लू संक्रमितको मृत्यु भइरहेको छ। त्यसलै नेपाल जस्तो गरिब देशमा डरलाग्दो स्थिति हुन सक्छ। तसर्थ हाल विकसित गरिएको जोफ्लूजा औषधि हाम्रो जस्तो देशमा पनि सर्वशुलभ हुनसके र समयमा नै फ्लूको पहिचान गरी प्रयोग गरिएमा बरदान साबित हुन सक्नेमा दुईमत छैन।
- (डा. पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्।)