जीउलाई सेतो एप्रोनले बेरेको, घाँटीलाई स्टेथकोपले घेरेको र खल्तिबाट खुस्स हचिसिन र ह्याम्मरले हेरेको देख्दा जो कसैले ठोकुवा गर्न सक्थ्यो यो डाक्टरै हुनुपर्छ भनेर। तर, मैले उसको सिङ, पुच्छर, चारखुट्टा र जीउभरी ऊन भएको त विचारै गरिनछु। मायालाग्दो देखिने गरी बिचरा अलमल्ल र रनभुल्लमा थियो। आँशु झारेर लोलाई रहेको थियो, बोल्नै नसकेर टोलाइरहेको थियो। हात भनौं कि अगाडिको एउटा गोडाले प्ले कार्ड देखाइरहेको थियो।, ‘म डा कि भेडा ?’ अनि उसको पुच्छरमा एउटा नम्बर प्लेट थियो, ‘भे. अ. डा. अन टेष्ट।’ म निकै अचम्ममा परें। के रहेछ कुरो भनेर ममा खुलदुली जाग्यो। केही त बुझ्नैपर्यो भन्ने लाग्यो। त्यसैले सरासर लागें त्यो अचम्मको प्राणीतिर र लिएँ अन्तर्वार्ता। प्रस्तुत छ अन्तर्वार्ताका मुख्य अंशहरुः
मः साँच्चि तपाईं डा कि भेडा ?
अचम्मको प्राणीः हुन त म यो प्रश्न आफैं अरुसँग सोधिरहेको छु। तर, के चाहिँ बताइहालुँ भने कुनै बेला क्यारियरको डरले, बेसिक साइन्समा ब्यारियरको डरले फाइनलमा फ्यालिने डरले पढ्दा पढ्दा त्यतिबेलै आफू पशु सरह नलागेको होइन। तर, मरेर पढेपछि जब म ‘डा’ बनें, भोलिपल्टै थाहा पाएँ कि बनिएको त भेडा पो रहेछ। डा त भेडा भन्ने नमिलेर मात्रै भनिएको रहेछ।
मः अनि आफू डा नभएर भेडा हुनु परेको यथार्थलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
अचम्मको प्राणीः मान्छेले पो मान्छेलाई मान्छेको जस्तो व्यवहार गर्छ । पशुले कसरी मान्छेको व्यवहार गर्न सक्छ र ? उसले त मान्छेलाई भुक्छ, टोक्छ, हान्छ र चिथोर्छ। किनकी मान्छेलाई आफू भन्दा तल्लो स्तरको ठान्छ। वास्तवमा कुरा यही हो।
मः तपाईं मान्छेको रुपमा अटेरी हुनुभयो रे, नटेरी शहरै बस्नुभयो रे। विदेश पस्नु भयो रे, मनीमोहमा फस्नुभयो रे । डाक्टर भएर सर्वसाधरणलाई डस्नुभयो रे। त्यही भएर तपाईंलाई धपाउन माथिबाट कोही कम्मर कस्नुभयो रे हो ?
अचम्मको प्राणीः बडो मार्मिक प्रश्न गर्नुभयो। तर, तपाईंको कुरा सोह्रै आना सही पनि हो। ती चेपारे चम्चाहरु चुनाव जितेर आएपछि आफै पनि चित्लाङ र चरिकोट चहार्न चाहदैनन्। हामी मात्रै जमल नबसेर जुम्ला, हनुमानढोका नबसेर हुम्ला, डिल्लीबजार नबसेर डोल्पा र रत्नपार्क नबसेर रोल्पा किन जाने ?
मः नेता र तपाईंहरु जस्तो वुद्धिजीविमा भन्या त ‘कहाँ को चन्द्रमा, कहाँ कन्ड्रोमा’ भन्याजस्तै फरक भयो नि। तपाईंले देशलाई सच्चा हृदयले केही गर्नुपर्यो नि होइन ?
अचम्मको प्राणीः अरे पठाउने व्यवस्था गर्नुअघि अवस्था बनाउनु पर्यो नि। हामीलाई मात्रै रसुवा नगएर रसिया, बर्दिया नगएर जर्जिया, सिरहा नगएर सिरिया, धादिङ नगएर बेइजिङ जाने मन त छैन नि। कालिकास्थानमा क्लिनिक खोल्नुभन्दा कालिकोट जान मन छ। बिएण्डबि मा बस्न भन्दा बाग्लुङ र बाजुरमा बिरामी बिसेक पार्न मन त छ नि। तर…. खै अवस्था ?
मः प्रसंग बदलौं, तपाईको पुच्छरमा ‘अनटेष्ट’वाला प्लेट छ, यस्तो त मोटरसाइकलमा टाँसेको पाइन्थ्यो। तपाईंमा कसरी ?
अचम्मको प्राणीः स्थायी नम्बर लिन त फेरि दुई वर्षपछि काउन्सिल धाउने रे। त्यतिन्जेल यही टाँसेर उनीहरुले भनेको बाटोमा मात्रै गुड्न पाउने रे !
मः भनेपछि रातो स्टिकर टाँसेको विक्रम टेम्पो जस्तो ?
अचम्मको प्राणी : बडो मार्मिक प्रश्न गर्नुभयो। हामी डाक्टरलाई र विक्रम टेम्पोलाई एकैपटक काठमाडौंबाट हटाउन खोज्यो सरकारले। सायद हामीले पोलुशन बढायौं होला तर बढाए पनि पोलुशनको सोलुशन त यो होइन नि।
मः त्यसोभए तपाईंको बिचारमा समाधान के त ?
अचम्मको प्राणीः मेरो बिचारमा ऐनले लैजाने हैन, चैनले मै जाने अवस्था बन्नुपर्यो। अनि बल्ल मात्र जानका लागिथ भन्नुपर्यो। कानुन यस्तो हुनुपर्यो, जुन कानून किन भन्ने सबले जानून् सबैले राम्रो ठानून् र जसलाई सबले जानून्, सबैले राम्रो ठानून्। अहिले हामीलाई धपाउन खोज्या छन्। आफू्र सोफामाथि सफ्ट ड्रिङ्क्स डकार्दै हामीलाई गुन्द्रीमाथि गुन्द्रुक चटाउन खोज्या छन्।
यसरी त भेडालाई मात्रै धपाइन्छ, त्यसैले त मेरो प्रश्न– म डा. कि भेडा ?