काठमाडौं- डोनाल्ड ट्रम्पको कार्यकारी आदेशहरूले अमेरिकाको अनुसन्धान क्षेत्रलाई अस्तव्यस्त बनाइरहेका छन्। केही नीतिहरू अदालतले रोक लगाए पनि, धेरै नीतिहरू कार्यान्वयन भइरहेका छन्।
उदाहरणका लागि, वैज्ञानिक अनुसन्धानमा विविधता बढाउने पहलहरूलाई प्रभावित पार्दै, केही संघीय निकायहरूले कालो, भेदभाव, महिला र लिंग जस्ता शब्दहरू भएका अनुदान आवेदनहरू र तथ्याड़कहरूलाई निशाना बनाइरहेका छन्। साथै, राष्ट्रिय विज्ञान फाउन्डेसनमा फैलिएको एउटा मेमो अनुसार, यस वर्ष ठूलो संख्यामा कर्मचारी कटौती गर्ने तयारी भइरहेको छ, जसले वैज्ञानिक अनुसन्धानमा थप असर पुर्याउनेछ।
यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले लागत कटौती गर्ने क्रममा बायोमेडिकल रिसर्चका लागि दिइदै आएको अनुदानमा कटौती गर्ने निर्णय गरेको थियो। अर्बौं डलरमा रहेको अनुदान कटौतीले वैज्ञानिक अनुसन्धान प्रभावित हुने देखिएको छ। नेशनल इन्सिच्युट अफ हेल्थ (एनआईएच)ले अनुसन्धानसँग सम्बन्धित 'अप्रत्यक्ष लागत' जस्तै भवन, प्रशासन र उपकरणका लागि दिइने अनुदानमा कटौती गर्ने बताएको छ।
'संयुक्त राज्य अमेरिकाले विश्वको उत्तम चिकित्सा अनुसन्धान गर्नुपर्छ,' एनआईएचले आफ्नो घोषणामा भनेको छ, 'त्यसैले यथासम्भव धेरै रकम प्रत्यक्ष वैज्ञानिक अनुसन्धान लागतमा जानेछ, प्रशासनिक खर्चमा होइन।' उक्त कटौतीले ४ बिलियन बचत गर्ने बताइएको छ। अनुसन्धानका लागि अप्रत्यक्ष लागत अनुदान दरलाई १५ प्रतिशतमा सीमित गर्ने भनिएको छ। अहिले औसतमा ३० प्रतिशत रहेको छ।
स्टयाटमा प्रकाशित एक लेखअनुसार, वैज्ञानिकहरू अमेरिका छोड्नेबारे सोच्न थालेका छन्। विदेशी वैज्ञानिकहरूले अमेरिका आउनेबारे पुनर्विचार गरिरहेका छन्, भने अमेरिकी वैज्ञानिकहरू विदेश जाने वा अनुसन्धान नै छोड्ने सोचिरहेका छन्।
२०औं शताब्दीमा अमेरिका संसारभरका वैज्ञानिकहरूको प्रमुख गन्तव्य थियो, जसले प्रविधि र विज्ञानलाई उच्च स्तरमा पुर्यााए। तर, यदि यो अवस्था जारी रह्यो भने, अमेरिका विज्ञानको क्षेत्रमै पछि पर्न सक्ने चिन्ता बढेको छ।