काठमाडौँ – नेपाल मेडिकल एशोसिएसनको जुनियर डाक्टर समितिले काठमाडौं विश्वविद्यालय (केयु) स्कुल अफ मेडिसिनको मानसिक रोग विभागका आवासीय डाक्टरहरूमाथि भइरहेको दुर्व्यबहारप्रति आपत्ति जनाउँदै तत्काल छानबिनको माग गरेको छ।
जेडीसीका अनुसार, हालै एकजना प्रथम वर्षका आवासीय डाक्टरले आत्महत्या प्रयास गरेपछि यो विषय बाहिर आएको हो। तर, यो पहिलो घटना होइन। अघिल्लो वर्ष पनि यस्तै घटना दोहोरिएको थियो भने एकजना द्वितीय वर्षका रेसिडेन्ट डाक्टरले दुर्व्यवहार सहन नसकी राजीनामा दिएका थिए।
जेडीसीले वरिष्ठ चिकित्सकहरू मार्फत् भइरहेको मानसिक दबाब र दुर्व्यवहार, स्वीकार्य छैन भनेको छ। समितिले तुरुन्त निष्पक्ष छानबिन गर्नुपर्ने माग गर्दै, यस प्रक्रियामा कुनैपनि राजनीतिक वा प्रशासनिक हस्तक्षेप सह्य नहुने चेतावनी दिएको छ। दोषीहरूमाथि कानूनी कारबाही हुनुपर्ने भन्दै समितिले आवश्यक कदम नचालिए कडा आन्दोलन गर्ने चेतावनी पनि दिएको छ।
यसैक्रममा, जेडीसीले सम्पूर्ण आवासीय चिकित्सकहरूलाई एकताबद्ध भइ आफूमाथि अन्याय र दुर्व्यबहारको विरोध गर्न आह्वान गरेको छ। समितिले राम्रा शिक्षकहरुलाई सम्मान गर्ने उल्लेख गर्दै, तर दुर्ब्यवहार गर्नेहरूलाई कुनै पनि हालतमा नछोड्ने बताएको छ।
जेडीसीले जुनियर डाक्टरहरूको सुरक्षाका लागि सुरक्षित र स्वस्थ कार्य वातावरणको सुनिश्चितता गर्न सरकार र सम्बन्धित निकायहरूलाई तुरुन्त कदम चाल्न आग्रह गरेको छ।
समितिका सदस्य सचिव डा विकास सिटौला र संयोजक डा बिक्रान्त ढकालले विज्ञप्ति जारी गर्दै पीडित डाक्टरहरूलाई न्याय दिलाउन तथा यस्ता घटना रोक्न आवश्यक कानूनी तथा व्यवस्थापकीय सुधारको माग गरेका छन्।