काठमाडौं - नेपाल मेडिकल कलेजले स्थापनाको २५ औं वर्ष (रजत जयन्ती) भब्यताका साथ मनाउने भएको छ। कलेजले आज एक विज्ञप्ती जारी गर्दै फागुन १३ गते प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा रजत जयन्ती भब्यताका साथ मनाउन मनाउन लागेको जनाएको छ।
अध्यक्ष प्राडा जैनुद्धिन अन्सारीले नेपालको चिकित्सा शिक्षा, स्वास्थ्य सेवा र अनुसन्धानका क्षेत्रमा पहिलो पटक ‘नेपाल र नेपालीका लागि नेपाली लगानी’ भन्दै २०५६ सालमा स्थापना भएको नेपाल मेडिकल कलेजको रजत जयन्तीमा विशेष कार्यक्रम आयोजना गर्न लागिएको बताएका छन् । रजत जयन्तीको अवसरमा आयोजित विशेष समारोहमा प्रमुख अतिथीको रुपमा प्रधानमन्त्री केपी शर्मा ओली, विशिष्ट अतिथीमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, कानुनमन्त्री लगायतको उपस्थिति रहने कार्यक्रम छ।
त्यस्तै कलेजको रजत जयन्ती स्तम्भ अनावरण, नवनिर्मित डेण्टल भवनको उद्घाटन तथा रजत जयन्ती स्मारिका लोकार्पणको कार्यक्रम छ। कार्यक्रममा कलेज स्थापनामा महत्वपूर्ण योगदान पुर्याउने संस्थापकहरुलाई सम्मान समेत गरिनेछ।
स्वास्थ्य सेवामा पछिल्लो समय भित्रिएका नविनतम् स्वास्थ्य प्रविधिहरुलाई आत्मसात गर्दै विभिन्न विषयगत विज्ञ स्वास्थ्यकर्मीहरुबाट उच्चस्तरीय स्वास्थ्य सेवा प्रदान गरेकोले नेपाल मेडिकल कलेज हरेक नागरिकका मन मस्तिष्कमा बस्न सफल भएको अध्यक्ष प्राडा अन्सारीको भनाइ छ।
स्वास्थ्य सेवातर्फ कलेजले जनरल स्वास्थ्य सेवासँगै विशिष्टीकृत स्वास्थ्य सेवाहरु सञ्चालन गर्दै आइरहेको छ भने, नेपाल सरकार, विभिन्न निकाय र स्थानीय तहसँग समेत सहकार्य गरी स्वास्थ्य उपचार सेवामा जनताको पहुँच अभिबृद्धि गराउन विभिन्न प्रकारका स्वास्थ्य कार्यक्रमहरु सञ्चालन गरिरहेको छ।
हालसम्म एमबीबीएसमा २२६२ जना, बीडीएसमा ३३५ जना, एमडि/एमएस र एमडीएसमा ३२४ जना, सुपरस्पेशियालिटी अन्तर्गत डिएम एमसीएचमा ८ जना, विएस्सी नर्सिङ र एमएस्सी नर्सिङमा २०८ जना दक्ष जनशक्ति उत्पादन गरिसकेको कलेजको दाबी छ।