सल्यान- जिल्ला अस्पताल सल्यानका करार सेवाका स्वास्थ्यकर्मी पाँच महिनादेखि तलबविहीन बनेका छन्। कर्णाली प्रदेश सरकारले आवश्यक बजेट नपठाउँदा अस्पतालका १७ जना स्वास्थ्यकर्मी र कर्मचारीले तलब पाउन नसकेका हुन्।
बिना तलब पाँच महिनादेखि काम गरिरहेका स्वास्थ्यकर्मी तलब नपाएपछि दैनिक खर्च टार्न समस्या पुगेको बताउँदै आइरहेका छन्। 'असोजदेखि तलब नपाउँदा दैनिक खर्च टार्न र परिवार पाल्नै नसक्ने अवस्थामा पुगेका छौं,' ल्याब असिस्टेन्ट अञ्जना रानाले भनिन्।
उनीहरुले पटक पटक तलब मागे पनि कुनै सुनुवाइ नभएको गुनासो गरेका छन्।
ल्याब असिस्टेन्ट रानाले आफू नौ वर्षदेखि अस्पतालमा कार्यरत रहेको बताउँदै तलब रोकिएपछि गम्भीर आर्थिक समस्यामा परेको बताइन्।
नर्स, ल्याब टेक्निसियन, फार्मेसी सहायक, एक्सरे टेक्निसियन, कार्यालय सहायक, वार्ड सहायक जस्ता विभिन्न पदमा कार्यरत करार कर्मचारीले महिनौँसम्म तलब नपाउँदा जीवनयापन गर्न कठिन भएको बताएका छन् ।
करार सेवाका कर्मचारीले पटक पटक अस्पताल प्रशासन हुँदै प्रदेश सरकारसम्म तलबका लागि माग गरेका छन् तर कुनै पनि ठोस पहल नभएपछि अब आन्दोलनमा जानुपर्ने अवस्था आएको उनीहरू बताउँछन्।
स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा अर्जुन बुढाले यस विषयमा प्रदेश सरकारलाई पटक पटक जानकारी गराइएको बताए। उनले धेरै पटक पत्राचार गरिसकेको भन्दै अहिलेसम्म बजेट नआएकाले कर्मचारीलाई तलब दिन नसक्दा अप्ठ्यारो परेको जानकारी दिए।
कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले सङ्घीय सरकारबाट आउने बजेट कटौती भएकाले प्रदेश सरकारले आवश्यक रकम पठाउन नसकेको बताए। उनले कर्णालीका अन्य जिल्ला अस्पतालमा पनि यही समस्या रहेको भन्दै बजेटको माग अर्थ मन्त्रालयसँग भइरहेको जानकारी दिए।