काठमाडौं- नेपाल रेडियोलोजिकल सोसाइटीले नेपालमा रेडियोग्राफी सेवाका लागि छुट्टै नियमनकारी निकाय वा संरचनाको स्थापना गर्नुपर्ने लगायतका माग राख्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई ज्ञापन पत्र बुझाएको छ।
सोसाइटीका अध्यक्ष मुकेश कुमार झाको नेतृत्वमा गएको टोलीले मन्त्री पौडेललाई बिहीबार ज्ञापन पत्र बुझाएका हुन्। ज्ञापन पत्रमा छुट्टै निकाय स्थापनासहित स्वास्थ्य मन्त्रालयले संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षणमा रेडियोग्राफी सेवाको दरबन्दी सुनिश्चित गर्नुपर्ने, रेडियोग्राफरहरुको पेशागत सुरक्षाका लागि विकिरण तथा सुरक्षा जोखिम भत्ता सबैलाई उपलब्ध गराउनु पर्ने माग पनि रहेको छ।
रेडियोग्राफी स्वास्थ्य सेवासम्बन्धी उचित संरचना, दरबन्दी व्यवस्थापन तथा सेवाका गुणस्तर सुधार सम्बन्धी विगत लामो समयदेखि गरिएका विभिन्न छलफल, आन्दोलन, तथा ज्ञापनपत्रहरूको बाबजुद पनि सम्बन्धित निकायहरूले कुनै ठोस कदम नचाल्दा नेपालमा रेडियोग्राफी सेवा कमजोर बन्दै गएको छ सोसाइटीको ठहर छ। जसका कारण सर्वसाधारण नागरिकहरू सुलभ, सहज र गुणस्तरीय रेडियोग्राफी सेवाबाट बञ्चित भइरहेको भन्दै सोसाइटीले यस क्षेत्रको विकास र विस्तारका लागि मन्त्रीलाई ज्ञापन पत्र बुझाइएको अध्यक्ष झाले जानकारी दिए।
ज्ञापन पत्रमा नेपालमा रेडियोग्राफी सेवा तथा दरबन्दीको वर्तमान अवस्था, विकिरण जोखिम सम्बन्धी असमानता, गुणस्तर सुनिश्चितता तथा विकिरण सुरक्षा अधिकृतको आवश्यक दरबन्दी लगायतका विषयमा पनि जानकारी दिइएको छ।