काठमाडौं– आयुर्वेदिक औषधि कम्पनी क्लासिकल हर्बल प्रोडक्ट प्रालिले नयाँ उत्पादनहरु सार्वजनिक गरेको छ। काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नयाँ उत्पादनहरु बजारमा ल्याएको जानकारी दिएको हो।
औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले ती उत्पादनहरु सार्वजनिक गरेका हुन्। औषधि व्यवस्था विभागबाट स्वीकृत लिएर उत्पादन बजारमा आएको बताएँदै आयुर्वेद औषधिहरुले गुणस्तरमा ध्यान दिनुपर्नेमा उनको जोड थियो।
विश्व स्वास्थ्य संगठनको जीएमपीअनुसार लैजाने तयारीका साथ ट्याब्लेट, क्याप्सुल र सिरफ फर्ममा औषधि उत्पादन सुरु गरिएको कम्पनीका अध्यक्ष डा बद्री कोइरालाले बताएका छन्।
आयुर्वेदिक चिकित्सक स्वर्गीय डा ऋषिराम कोइरालाले २४ वर्षअघि स्थापना गरेको यस कम्पनीले यसअघि चूर्ण वर्गका औषधि उत्पादन गर्दै आएको थियो। कम्पनीका प्रबन्ध निर्देशक विनोद अधिकारीले कम्पनीका यसअघि उत्पादनप्रतिको विश्वासलाई मध्येनजर गर्दै नयाँ उत्पादन बजारमा ल्याइएका हुन्।
उनका अनुसार ट्याब्लेट, क्याप्सुल, सिरप र पेस्ट गरी २७ वटा नयाँ उत्पादन बजारमा ल्याइएका हुन्। त्यसमा ट्याब्लेट ९, क्याप्सुल १०, सिरप ५ र पेस्ट तीनटा रहेका छन्।
उक्त कम्पनीका २९ चुर्ण र ७ उपभोक्ताका रुचिअनुसारका उत्पादन बजारमा छन्। औषधिको प्रभावकारिता र गुणस्तरलाई ध्यान दिएर पूर्ण परीक्षण गरी नयाँ उत्पादन बजारमा ल्याइएको कम्पनीले जनाएको छ।