काठमाडौं- सरकारले मंगलबारदेखि आगामी फागुन ५ गतेसम्म पाठेघरको मुखको क्यान्सर रोकथामका लागि किशोरी लक्षित एचपीभी खोप अभियान सञ्चालन गर्दैछ।
अभियानले कक्षा ६ देखि १० सम्मका र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका करिब १७ लाख किशोरीलाई समेट्ने टेकुस्थित बाल स्वास्थ्य तथा खोप सेवा शाखा प्रमुख डा अभियान गौतम बताउँछन्। १९ हजार विद्यालय र ८ हजार स्वास्थ्य संस्थामा अभियान सञ्चालन गरिने उनले जानकारी दिए।
यो नेपाल सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्ध सञ्चालन गर्न लागेको सबैभन्दा ठूलो अभियान हो। यसअघि सात संघीय अस्पतालमा नमूना कार्यक्रमको रूपमा करिब १० हजार किशोरीलाई खोप दिइएको थियो। एचपीभी खोप सबै स्थानीय तहमा पुर्याइसकेको र स्वास्थ्यकर्मीलाई पनि पूर्ण तालिम दिइसकिएको डा गौतम बताउँछन्।
चिकित्सकहरुका अनुसार सरकारले १० देखी १४ वर्षसम्मका किशोरीहरुलाई दिन लागेको सिकोलिन नामक उक्त खोपले नेपालमा बढी मात्रामा देखिएको पाठेघरको मुखको क्यान्सरका १६ देखी १८ प्रजातीलाई रोकथाम गर्न सक्छ।
विश्वमा हरेक वर्ष ५ लाख ७० लाख महिलाहरुलाई पाठेघरको क्यान्सर हुने तथा उक्त संख्या सन् २०३० सम्ममा उक्त संख्या ७ लाख पुग्ने अनुमान गरिएको छ। तथ्यांक अनुसार तीमध्ये ३ लाख ११ हजार महिलाको मृत्यु हुने गरेको छ।
सरकारले पाठेघरको मुखको क्यान्सरलाई प्राथमिक रुपमा रोकथाम गर्न उक्त एचपीभी खोप अभियानका रुपमा सञ्चालन गर्न लागेको हो। राष्ट्रिय खोप सल्लाहकार समितीको २०८१ असोज २३ को सिफारिस तथा स्वास्थ्य मन्त्रालयको २०८१ कात्तिक ८ गतेको निर्णयअनुसार खोप दिन लागिएको हो।
एचपीभी खोपले क्यान्सर लाग्ने सम्भावना ९० देखि ९५ प्रतिशतले कम गराउँछ : क्यान्सर रोग विशेषज्ञ डा चालिसे
क्यान्सर रोग विशेषज्ञ डा उज्वल चालिसे एचपिभी खोपले ह्युमन प्यामिलोमा भाइरसका कारण हुने पाठेघरको मुखको क्यान्सर हुने सम्भावना ९० देखी ९५ प्रतिशतले न्यून हुने बताउँछन्। ह्युमन प्यामिलोमा भाइरसका विभिन्न प्रजातीमध्ये १६ र १८ नम्बरले गराउने क्यान्सरका लागि यो खोपले सुरक्षित गराउने उनी बताउँछन्। क्यान्सरबाहेक अन्य रोगहरु मुसा आउने,रोग सर्ने सम्भावना कम गर्ने जस्ता फाइदा पनि एचपीभी खोपले गर्छ।
विभिन्न अध्ययनका अनुसार १० देखी १४ वर्ष उमेरसमुहका किशोरीहरुलाई यो खोप प्रभावकारी हुने भएपछि उक्त उमेर समुहलाई खोप दिन लागिएको उनले बताए । यौन जीवनको सुरुवात भइनसकेका उमेर समुहलाई खोप लगाउँदा बढी प्रभावकारी हुने भएकोले पनि १० देखी १४ वर्ष उमेर छनोट गरिएको उनको तर्क छ।
खोप क्यान्सर रोकथामको उपाय भएपनि शरीरमा भाइरस प्रवेश गरिसकेकाहरु भने उपचारकै प्रक्रियामा अगाडि बढ्नुपर्ने डा चालिसे बताउँछन्। यौन जीवनमा प्रवेश गरिसकेका २० वर्ष माथिका महिलाहरुले यौन अंगहरुको परीक्षण नियमित रुपमा गर्नुपर्ने तथा त्यसका लागि सरकारले सहयोग गर्नुपर्ने उनको सुझाव छ। यौन क्रियाकलापबाट शरीरका अन्य अंगहरुमा समेत ह्युमन प्यामिलोमा भाइरस जान सक्ने भएकोले अन्य क्यान्सरमा पनि यो खोप प्रभावकारी हुन्छ।
एचपीभी खोपको साइट इफेक्ट के-के हुनसक्छन्?
विश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त तथा नेपालको औषधि व्यवस्था विभागबाट अनुमति प्राप्त एचपीभी खोप एक सुरक्षित तथा प्रभावकारी खोप हो। साधारणतया यो खोपको प्रयोग लगाएपछि न्यून मात्रामाा मात्रै असरहरु देखिने गर्छन् ।
यसबाट हुन सक्ने सामान्य असरहरु खोप लगाएको ठाउँमा दुख्नु तथा सुन्निनु,टाउको दुख्नु, वाकवाकी लाग्नु, थकाल महसुस हुनु, रिंगटा लाग्नु, ज्वरो आउनु, एलर्जी रियाक्सन आदि हुन्।