दैनिक रूपमा कफी पिउनुको मुटुको स्वास्थ्यमा पर्ने प्रभावबारे थुप्रै अध्ययनहरू भएका छन्। ट्युलन विश्वविद्यालयका अनुसन्धानकर्ताहरूको नयाँ अध्ययनले पहिलोपटक कफीको मात्रामा मात्र केन्द्रित नभइ कफी पिउने समयले स्वास्थ्यमा पार्ने प्रभावको महत्त्वलाई देखाएको छ।
वैज्ञानिकहरूले बिहान कफी पिउने व्यक्तिहरूमा दिनभरि कफी पिउनेहरूभन्दा मुटुजन्य रोगबाट मृत्यु हुने जोखिम कम हुने बताएका छन्।पछिल्लो केही वर्षमा, दैनिक रूपमा कफी पिउनुका स्वास्थ्य लाभ र हानीहरू, विशेषगरी हृदय स्वास्थ्यसँग सम्बन्धित प्रभावबारे थुप्रै अध्ययनहरू भएका छन्।
सकारात्मक पक्षमा २०२४ मा प्रकाशित अध्ययनहरूले कफी पिउनाले जीवनशैलीको निष्क्रिय प्रभावहरूको केही हानिहरूलाई कम गर्न मद्दत पुर्याउने पत्ता लगाएका छन् र क्याफिनको सेवनले रक्तसञ्चार प्रणाली सुधार्न मद्दत पुर्याउन सक्छ।
यद्यपि, २०२४ मा अन्य अनुसन्धानले केहि नकरात्मक पक्षहरू पनि देखाएका छन्, जस्तै हप्तामा कम्तिमा पाँच दिन उच्च मात्रा क्याफिन पिउनुले हृदय रोगको जोखिम बढाउन सक्छ र अत्यधिक कफीले स्ट्रोकको जोखिम बढाउन सक्छ।
वैज्ञानिकहरूले कफी पिउनुको स्वास्थ्य लाभहरू गैर-हृदयसम्बन्धी स्वास्थ्य समस्याहरूमा पनि अध्ययन गरेका छन्, जस्तै २०२४ को डिसेम्बरमा प्रकाशित अध्ययनले कफी र चिया पिउँदा टाउको र घाँटीको क्यान्सरको जोखिम कम गर्नसँग सम्बन्ध राखेको देखाएको छ।
'मानव स्वास्थ्यमा कफी पिउनुको प्रभावको बारेमा थुप्रै अध्ययनहरू छन् तर यी सबै अघिल्लो अध्ययनहरूले मात्र कफीको सेवनको मात्रालाई परीक्षण गरेका छन्,' ट्युलन विश्वविद्यालयको सेलिया स्कट वेदरहेड स्कूल अफ पब्लिक हेल्थ एण्ड ट्रपिकल मेडिसिनका प्रोफेसर र एचसीए रेजेन्ट्स डिस्टिंग्विश्ड चेर डा. लु क्वीले भने, 'हालसम्म कुनै अध्ययनले कफी पिउने समयको प्रभावको अनुसन्धान गरेको छैन।'
क्वी भर्खरै युरोपियन हार्ट जर्नलमा प्रकाशित नयाँ अध्ययनका प्रमुख लेखक हुन्। जसले पहिलोपटक स्वास्थ्य परिणामहरूमा कफी पिउने समयको महत्त्व देखाएको छ।
बिहान कफी पिउनाले हृदय रोग र सबै कारणको मृत्यु जोखिमलाई घटाउँछ।
यस अध्ययनमा, क्वी र उनको टोलीले १९९९ र २०१८ बीचमा भएको यूएस नेशनल हेल्थ एन्ड न्यूट्रिशन एक्जामिनेशन सर्वेका ४० हजार भन्दा बढी वयस्कहरूको डेटा विश्लेषण गरेका छन्।
प्रतिभागीहरूलाई कफीको सेवन सहित उनीहरूले कम्तिमा एक दिनको लागि खाएका खानेकुरा र पिउनेका बारेमा जानकारी दिन भनिएको थियो। १५०० भन्दा बढी सहभागीको उप समूहलाई एक हप्तासम्मको खानपान र पेय पदार्थको जानकारी पनि संकलन गर्न भनिएको थियो।
विश्लेषणपछि, अनुसन्धानकर्ताहरूले पत्ता लगाए कि बिहान कफी पिउने सहभागीहरूको हृदय रोगबाट मृत्यु हुने ३१ प्रतिशत कम सम्भावना थियो भने सबै कारणले हुने मृत्यु जोखिममा १६ प्रतिशतको कमी देखियो।
यी लाभहरू बिहान कफी पिउने व्यक्तिहरूमा देखिएका थिए चाहे तिनीहरू मध्यम पिउने (दुई देखि तीन कप) वा धेरै पिउने (तीन कपभन्दा बढी) थिए। जो एक कप वा सोभन्दा कम कफी पिउँछन्, तिनीहरूका लागि जोखिम र लाभ केवल थोरै मात्र थियो।
क्वी भन्छन्, 'हाम्रो डाटाले देखाउँछ कि केवल बिहान कफी पिउनुले लाभकारी प्रभावलाई बलियो बनाउँछ, जबकि राति कफी पिउनुले फाइदामा कमी ल्याउन सक्छ।'
बिहान कफी पिउनु किन फाइदाजनक हुन सक्छ?
क्वी र उनको टोलीले अन्य समयमा कफी पिउनु भन्दा बिहान कफी पिउँदा, कार्डियोभास्कुलर लाभमा कसरी फरक पार्छ भनेर अनुसन्धान गरेका छैनन्, तर उनले भने कि अघिल्लो अध्ययनहरूले देखाएका छन् कि राति कफी पिउनुले निद्रामा बाधा पुर्याउन सक्छ, जसले सबै दिनको कफी सेवनको फाइदामा कमी ल्याउँछ।
'मानव स्वास्थ्य, विशेष गरी हृदय स्वास्थ्य, शरीरको सर्केडियन रिदमसँग घनिष्ठ सम्बन्धित छ,' उनले भने।
'खाना र पेय पदार्थको सेवन सर्केडियन समयको संकेत हो। धेरै पोषण अध्ययनहरूले मात्र सेवनको मात्रामा ध्यान दिएका छन्, तर केहीले सर्केडियन पैटर्नको पनि अध्ययन गरेका छन्। कफीले निद्रा र सर्केडियन रिदमसँग सम्बन्धित हर्मोनहरूमा जस्तै मेलाटोनिन, कोर्टिसोल, र सूजनका मार्करहरुमा प्रभाव पार्दछ, जुन हृदय स्वास्थ्यसँग सम्बन्धित छन्,' लु क्वीले उल्लेख गरेका छन्।
कफी पिउने समय कुन हो?
चेंग-हान चेन, एमडी, जो हृदय रोग विशेषज्ञ हुन्, यस अध्ययनबारे कुरा गर्दै भन्छन्, 'हामीले कफी पिउनुको स्वास्थ्य लाभ बारे पहिले नै थाहा पाइसकेका थियौं। अब यो पहिलो पटक देखिएको छ कि कफी पिउनुको समयले स्वास्थ्य लाभमा असर पार्न सक्छ, विशेषगरी बिहान कफी पिउनेहरूलाई फाइदा पुग्छ।
'बिहान कफी पिउनु किन राम्रो हुन सक्छ हामीलाई थाहा छैन तर सम्भवत: कफी पिउने समयको गलत चयनले शरीरको प्राकृतिक रिदममा बाधा पुर्याउँछ, जुन निद्रा समस्याहरूको कारण हुन सक्छ,' उनले थपे, 'निद्रा समस्याहरूले आफैंमा शरीरमा नकरात्मक असर पार्न सक्छ र कफीको सकारात्मक लाभलाई कम गर्न सक्छ।'
- एजेन्सीहरुको सहयोगमा