काठमाडौं- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजुको पुस्तक ‘मुटुको कथा’ सार्वजनिक भएको छ। मंगलबार दिउसो नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा पुस्तक सार्वजनिक गरिएको हो।
वरिष्ठ मुटु रोग विशेषज्ञ डा भगवान कोइराला, बरिष्ठ आँखा रोग विशेषज्ञ डा सन्दुक रुइत, धुलिखेल अस्पतालका संस्थापक तथा काठमाडौं विश्वविद्यालयका पूर्व उपकुलपति डा रामकण्ठ मकाजु, हास्यकलाकार हरिवंश आचार्य, मुटु रोग विशेषज्ञ डा स्मृति शाक्यले पुस्तक सार्वजनिक गरेका हुन्।
कोजुले आफूले मुटुरोगको उपचारमा हासिल गरेको ज्ञान र त्यसको प्रयोगका क्रममा बटुलेको अनुभव पुस्तकमा समेटेको बताए। उनले भने, 'आफूले बुझेको कुरा अरुलाई बुझाउन लेख्न थालें। त्यसको प्रतिक्रिया राम्रो आउँदा विभिन्न सञ्चारमाध्यमका लागि लेखें। साथीभाइले हौस्याउनुभयो। अहिले पुस्तकका रुपमा आएको छ।'
पुस्तकमा ४१ वटा शीर्षकमा डा कोजुले आफूले महशुस गरेका, देखेका र भोगेका कुराहरु लेखेका छन्। जुन आमजनका लागि उपयोगी छन्। धुलिखेल अस्पतालका प्रमुख डा रामकण्ठ मकाजुले आफूले अस्पताल बनाउने सपनाको सारथीमध्ये एउटा डा कोजु भएको उल्लेख गरे। कार्यक्रममा बोल्दै उनले डा कोजुको पुस्तक सामान्य भन्दा सामान्यले पनि बुझ्न सक्नेगरी सरल भाषामा प्रस्तु गरिएको बताए। अर्का चिकित्सक डा कोइरालाले पुस्तकभित्र पसेपछि निस्किन मुश्किल हुनेगरी लेखिएको बताए। यसैगरी डा रुइतले पुस्तकले महत्वपूर्ण सन्देश प्रवाह गर्न सफल हुने उल्लेख गर्दै शुभकामना प्रदान गरे।
धुलिखेल काभ्रेमा जन्मिएका मुटुरोग डा कोजु अहिले धुलिखेल अस्पतालका संस्थापकमध्येमा पर्छन्। काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेजका डिन भइसकेका छन्। त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान, महाराजन्जबाट एमबीबीएस तथा बिएसएम, मेडिकल विश्वविद्यालय ढाकाबाट एमडी (कार्डियोलोजी) गरेका हुन्।
उनले युवा वैज्ञानिक अवार्ड, धुलिखेल रत्न, रजत जयन्ती पदक तथा सुप्रवल जनसेवा श्री पदक लगायतका पुरुस्कार तथा सम्मान प्राप्त गरेका छन्। जनचेतनामूलक लेख–निबन्ध तथा आख्यान लेखनमा उनको रुचिका विषय हुन्।