काठमाडौं- नेपाल मेडिकल व्यवसायी संघले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको स्वास्थ्य परीक्षणमा हुने सिन्डिकेट प्रणालीको अन्त्य हुनुपर्ने लगायतका ९ बुँदे माग राखेको छ।
संघले जारी गरेको विज्ञप्ति अनुसार वैदेशिक रोजगारीमा जाने श्रमिकहरुकै स्वास्थ्य परीक्षणका लागि समान रुपमा २१२ वटा स्वास्थ्य संस्था रहे पनि मेलेसियाका लागि ३६ वटा र गाम्काको १९ वटा संस्थाबाट मात्र सम्बन्धित देशको स्वास्थ्य परीक्षण गर्ने सिन्डिकेट प्रणालीको अन्त्य हुनुपर्ने माग राखेको छ।
'सरकार मातहतमा दर्ता भई संचालनमा रहेका २१२ वटा स्वास्थ्य संस्थाहरुलाई समान हक अधिकार, खुल्ला प्रतिस्पर्धा तथा लगानीको सुनिश्चित गर्नुपर्ने अवस्थामा उल्टै देशै पिच्छेको सिन्डकेट खडा गरी मुल्यमा समेत कार्टेलिङ गर्नेगरी वैदेशिक हस्तक्षेप भएको कुरा सम्बन्धित निकायले महशुस गरिरहँदा पनि नेपाल सरकार तथा मातहतका निकायहरु टुलुटुलु हेर्न र अदृश्य रुपमा लाभ उठाउने दाउमा लागेको मात्र देखिँदै आएको छ। यस विषयमा गम्भीर ध्यानाकर्षण गराउँदै सम्पूर्ण सरोकारवाला निकायहरुमा हाम्रा मागहरु यथाशीघ्र सम्बोधन गर्न गराउन हार्दिक अपिल गर्दछौं,' विज्ञप्तिमा भनिएको छ।
यस्ता छन् ९ बुँदे माग
१) वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परिक्षण सम्वन्धि व्यवस्था वैदेशिक रोजगार ऐन २०६४ समय सापेक्ष परिमार्जिन गर्नुपर्ने ।
२) वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परिक्षण गर्ने सम्पुर्ण स्वास्थ्य संस्थाहरुमा एक रुपता कायम हुने स्वास्थ्य परिक्षण प्रतिवेदन (Health Checkup Report) तयार गरि सबै देशको स्वास्थ्य परिक्षण सबै स्वास्थ्य संस्थाले गर्न पाउने गरि एकै किसिमको Software प्रणाली अनिवार्य रुपमा स्वास्थ्य संस्थाहरुमा लागु गर्नुपर्ने ।
३) बैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परिक्षण गर्ने सम्पुर्ण स्वास्थ्य संस्थाहरुमा Biometric system: Iris को तत्काल व्यवस्था गर्नुपर्ने ।
४) सवै स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य परिक्षण गर्न अनलाईन नाम दर्ता (Online Appointment) मार्फत मात्र गर्न मिल्ने प्रकृयाको व्यवस्था गर्नुपर्ने ।
५) देशको राज्य संचालन व्यवस्था अनुशार संघिय संरचना तथा बिकेन्द्रिकृत सिद्धान्त अनुरुप सबै श्रमीकको पहुँचमा पुग्ने गरि स्वास्थ्य सेवा प्रवाह गनुपर्ने ।
६) सबै देशको स्वास्थ्य परिक्षण शुल्क बैज्ञानिक ढङ्गले निर्धारण गरि एकरुपता कायम गरिनु पर्ने।
७) अदालतबाट स्टे अर्डर लिएर वा अन्य गैर कानुनी रुपमा संचालन भएका वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परिक्षण गर्ने स्वास्थ्य संस्थाहरुलाई कानुनी प्रकृया अवलम्बन गरि तत्काल बन्द गर्नुपर्ने।
८) हाल समान रुपका २१२ वटा स्वास्थ्य संस्थाहरु संचालनमा रहे पनि मलेशिया देशको ३६ वटा र गाम्काको १९ वटा स्वास्थ्य संस्थाबाट मात्र सम्बन्धित देशको स्वास्थ्य परिक्षण गर्ने सिण्डिकेट प्रणालीको अन्त्य गर्नुपर्ने ।
९) नेपाल सरकार श्रम रोजगार तथा सामाजिक मन्त्रालयले छुट्टै कानुन बनाई सरकारलाई धरौटी जम्मा गरि करोडौं लगानी गर्न लगाएर बैदेशिक रोजगारमा जाने श्रमीकको स्वास्थ्य परिक्षण गर्ने स्वास्थ्य संस्थाहरु वैदेशिक रोजगार ऐन तथा नियामावली अनुसार मन्त्रालयमा सुचिकृत भई संचालनमा भएता पनि व्यवसायीलाई अवज्ञा गर्दै बिर अस्पताल, कोरियन अस्पताल जसले नियमित बिरामीको उपचार गर्न नसकि रहेको अवस्थामा वैदेशिक क्षेत्रमा जाने आम नागरिकको स्वास्थ्य परिक्षण गरि रहेको तितो यर्थात एकातिर छ भने अर्को तर्फ राष्ट्रिय तथा अन्तराष्ट्रिय नामका संस्थाहरु जस्तैः नर्भिक अस्पताल, आईओएम आदि खडा गरी चर्को मूल्यमा स्वास्थ्य परिक्षण गरिरहेको व्यवस्थालाई समेत तत्काल खारेज गर्नुपर्ने।