म्याग्दी- भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरि गाउँपालिकामा ‘दीर्घरोगीसँग अध्यक्ष’ कार्यक्रम सञ्चालन भएको छ। नसर्ने रोग पहिचान र उनीका उपचारमा पहुँच बढाउने तथा जनचेतना अभिवृद्धिका लागि गाउँपालिकाको स्वास्थ्य शाखाले कार्यक्रम सञ्चालन गरेको हो।
धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले स्वास्थ्य क्षेत्रको प्रमुख चुनौती बनेको नसर्ने रोग न्यूनीकरणका साथै उपचार सेवामा पहुँच बढाउन कार्यक्रम सञ्चालन गरेको जानकारी दिए।
‘भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रका नागरिकलाई घरदैलोमा विशेषज्ञ सहितको सेवा उपलब्ध गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो,’ उनले भने, ‘प्रयोगशालाका सामग्री, उपकरण, औषधि र चिकित्सक सहितको टोली गाउँगाउँमा पुगेका छन्।’
कार्यक्रममार्फत चिकित्सक सहितको टोलीले स्वास्थ्य परीक्षण, परामर्श, प्रयोगशाला र निःशुल्क औषधि वितरण सम्बन्धी सेवा प्रदान गरिने धवलागिरिका स्वास्थ्य शाखाका प्रमुख सम्झना खाती कार्कीले बताइन्। मुटु, मिर्गौला, मधुमेह, उच्च रक्तचाप लगायत रोगीहरुलाई पहिचान गर्ने र उनीहरुलाई निःशुल्क औषधि वितरण गरिने उनले बताँइन्।
कार्यक्रम अन्तर्गत धवलागिरि गाउँपालिका–७ ताकममा मङ्गलबार भएको शिविरमा एक सय आठ जनाले सेवा लिएका थिए।
बुधबार वडा नम्बर ४ मुदीमा शिविर सञ्चालन गरिएको छ। बेनी अस्पतालका चिकित्सक डा रामु सापकोटा, समीर भण्डारी सहितको टोलीले सेवा दिएको छ। धवलागिरि गाउँपालिकामा ७ वटा वडा छन्। सबै वडामा कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ।