बदलिँदो जीवनशैली, खानपान र वातावरणीय प्रभावसँगै नसर्ने रोगहरु बढ्दै गइरहेको छ। त्यसमध्ये उच्च रक्तचाप जनस्वास्थ्यको बढ्दो समस्याको रुपमा रहेको छ। यो समस्याले धेरै मानिसलाई प्रभावित पारिरहेको छ। यसलाई पहिला विकसित देशको स्वास्थ्य समस्या मानिन्थ्यो भने विस्तारै विकासोन्मुख देशको पनि समस्या बन्न पुगेको छ।
शरीरमा रगत प्रवाह हुँदा नसा (धमनी) मा दिने चापलाई रक्तचाप भनिन्छ। रक्तचाप मापन गर्दा १४०/९० तथा सोभन्दा माथि पाइएमा उच्च रक्तचाप भनिन्छ। यस समस्यामा सुरुको अवस्थामा लक्षण नदेखिने हुन्छ। समयमा रोग पत्ता लगाएर उपचारमा बस्नु सुरक्षित हुन्छ। यो समस्या दीर्घकालीन रोग हो र यसलाई समयमा पत्ता लगाई डाक्टरको सल्लाह अनुसार लगातार औषधि सेवन, खानपान तथा जीवनशैली परिवर्तनले नियन्त्रणमा राख्न सकिन्छ।
उच्च रक्तचापलाई ‘मौन घातक रोग’ मानिन्छ। किनकि, उच्च रक्तचापले लक्षण बिना नै मानिसलाई मृत्युको मुखमा पुर्याउँछ। कतिपयको उमेरै नपुगी ज्यान जान पनि सक्छ।
वर्ल्ड हेल्थ अर्गनाजेसन (डब्लुएचओ)का अनुसार विश्वव्यापी १.२८ अरब ३०-७९ उमेरका वयस्कहरुलाई उच्च रक्तचाप हुने गर्छ र ४६ प्रतिशत वयस्कहरु आफूमा उच्च रक्तचापको समस्या छ भनेर अनविज्ञ छन्। नेपाल डेमोग्राफी र हेल्थ सर्भे २०२२ अनुसार नेपालमा १८ प्रतिशत महिला र २३ प्रतिशत पुरुषमा उच्च रक्तचाप भएको तथ्यांक छ। (नेपाल डेमोग्राफी र हेल्थ सर्भे २०२२)।
यस समस्यामा सुरुको अवस्थामा केही पनि लक्षण नदेखिने हुनसक्छ। समस्या बढदै जाँदा टाउको दुख्ने, आँखा धमिलो देख्ने, रिंगटा लाग्ने हुन थाल्छ। समयमा नै रोग पहिचान गरेर उपचार गर्न सकिएन भने शरीरका मुख्य अंगहरुमा (मष्तिस्क, मुटु, मिर्गौला, आँखा) विभिन्न जटिलताहरू आउन सक्छन् जसमध्ये मस्तिष्कघात तथा पक्षघात, हृदयाघात, मिर्गौलाले काम नगर्ने, आँखामा समस्या ल्याई अन्धोपनको अवस्थासम्म पुर्याउन सक्छ।
यो रोग लाग्न सक्ने सम्भावित कारणहरुमा परिवर्तन गर्न मिल्ने र नमिल्ने विभिन्न कारणहरु पर्छन्। परिवर्तन गर्न नमिल्ने कारणहरुमध्ये उमेर बढ्दै जानु पनि हो। त्यस्तै वंशाणुगत पनि हुने गर्छ। यदि परिवारका सदस्यहरू जस्तै: बुबा, आमा, दाजुभाइ, दिदीबहिनी र अन्य सदस्यहरु जसमा रगतको सम्बन्ध छ भने पनि यो समस्या देखिन सक्छ।
अरु कारणहरुमा यदि कोही व्यक्तिलाई मधुमेह, थाइरोइड, कोलेस्टेरोल, मिर्गौला सम्बन्धी रोगहरु छ भने पनि उच्च रक्तचाप हुनसक्छ। यी परिवर्तन गर्न नमिल्ने कुराहरु प्रायःजसो हाम्रो नियन्त्रणमा हुँदैनन्। तर जीवनशैली र खानपानमा सुधार ल्याएमा केही हदसम्म पर धकेल्न सकिन्छ।
परिवर्तन गर्न मिल्ने विभिन्न कारणहरुमा जीवनशैली र खानपानसँग सम्बन्धित कुराहरु पर्छन्। जसमध्ये धेरै चिल्लो पदार्थको प्रयोग पनि एक हो। जसमा तारेको, भुटेको खानेकुरा, घ्यू, चीज, बटर, रातो मासुको नियमित र धेरै मात्रामा प्रयोग आदिले जोखिम बढाउन सक्छ।
त्यसैगरी दैनिक खानामा नुनको अत्यधिक सेवन गरियो भने हुनसक्छ। मोटोपनको समस्या छ र हाम्रो बडी मास इन्डेक्स २४.९ भन्दा बढी छ भने यो समस्या हुने गर्छ। त्यस्तै निस्क्रिय जीवनशैली पनि अर्को कारण हो, जो व्यक्तिको शारीरिक सक्रियता कम छ वा लागातार लामो समयसम्म बसेर गर्ने प्रकारको काम छ र नियमित कसरत कम छ भने पनि यो समस्या हुने गर्छ। नियमित कसरतलाई प्राथमिकता दिइएन भने पनि निस्क्रिय जीवनशैलीका कारण मोटोपनसँगै यो समस्या देखिने हुन्छ। त्यसैगरी लामो समयसम्म तनावयुक्त जीवनशैली व्यतित भइराखेको छ भने पनि यस्तो समस्या हुने गर्छ।
यस्तो समस्या हुनबाट बच्न वा कम उमेरमा हुनबाट रोक्नको लागि विभिन्न रोकथामका उपायहरु अपनाउन सकिन्छ। यसको लागि मुख्यत: खानपानमा र जीवनशैलीमा नै ध्यान पुर्याउन आवश्यक हुन्छ। धेरैजसोलाई यी रोकथामका उपायहरु थाहा नै हुन्छ तर ती कुराहरुलाई व्यवहारमा उतार्न मात्र गाह्रो परिरहेको हुन्छ।
उच्च रक्तचाप हुनबाट रोक्नका लागि सन्तुलित र पोषिलो खानेकुरा मिलाएर खानुपर्छ। विशेषत: दैनिक ताजा हरियो सागपात, फलफूलमा जोड दिनुपर्छ। यसले उच्च रक्तचाप हुनबाट रोक्नुको साथै यदि छ भने पनि नियन्त्रण गर्न सहयोग पुर्याउँछ। खानेकुरामा अन्नको प्रयोग गर्दा सकेसम्म बोक्रासहित बनेका परिकार र घरमा नै बनेका कुराहरु खाने बानी बसाल्नुपर्छ। चिल्लो पदार्थको अत्यधिक प्रयोग कम गर्नुपर्छ। तारेको, भुटेको खानेकुरा साथै घ्यू, चीज, बटर, रातो मासुको नियमित र धरै प्रयोगलाई नियन्त्रण गर्नुपर्छ। सुख्खा फलहरु जस्तै बदाम, ओखर, काजु आदिलाई पनि मिलाएर खाँदा शरीरलाई चाहिने राम्रो चिल्लो पदार्थ प्राप्त गर्नुको साथै प्रोटिन र अन्य आवश्यक पोषक तत्व पाइन्छ।
खानामा नुनको कम प्रयोग साथै नुनयक्त जन्क तथा प्रशोधित र प्याकेटिङ खानेकुरा पनि नखानु राम्रो हुन्छ। नुनको धेरै प्रयोगबाट उच्च रक्तचापको समस्या हुनसक्छ। वर्ल्ड हेल्थ अर्गनाजेसनले सिफारिस गरेअनुसार दैनिक एक व्यक्तिले ५ ग्राम (एक चिया चम्चा) भन्दा नुन कम प्रयोग गर्नुपर्छ। नेपालीहरुले नुन भएको खानेकुरा नै धेरैथरी खाने हुनाले यसलाई कम गर्नुपर्छ।
उच्च रक्तचाप हुन नदिनको लागि दैनिक गरिने कसरतलाई पनि उत्तिकै ध्यान दिनु आवश्यक हुन्छ। शहरी क्षेत्रमा मानिसहरुको व्यस्तता, कुर्सीमा बसेर गर्ने प्रकृतिको काम, निष्क्रिय जीवनशैलीसँगै यो समस्या झन् बढिराखेको छ। वर्ल्ड हेल्थ अर्गनाजेसनले तोकेअनुसार कुनै पनि व्यक्तिले हप्तामा मध्यम खालको (पसिना आउने र श्वासप्रश्वास बढने गरी) कम्तीमा १५० मिनेट शरीरिक कसरत गर्नुपर्छ।
यदि हाम्रो कामको प्रकृति शारीरिक श्रम पर्ने खालको छैन भने हामीले आफ्नो स्वास्थ्यको लागि प्राथमिकता दिएर नियमित शरीरिक कसरत गर्ने बानी बसाल्नुपर्छ। यसले गर्दा तौल नियन्त्रणलाई पनि सहयोग पुर्याउँछ। तर तौल नियन्त्रणको लागि हामीले खानामा कार्बोहाइड्रेट र चिल्लो पदार्थलाई पनि घटाउनुपर्छ। यदि तौल नियन्त्रण गर्न सकियो भने मोटोपनबाट हुनसक्ने सम्भावित समस्याहरू जस्तै: उच्च रक्तचाप, मुटुरोग, मधुमेह आदिबाट बच्न सहयोग पुर्याउँछ।
त्यस्तै यो समस्या हुन नदिनको लागि मानसिक तनावलाई पनि कम गर्ने उपायहरु अपनाउनु पर्छ। यसको लागि हामीले छिटोछिटो हिँड्ने, योग गर्ने, मेडिटेसन गर्ने, जिम गर्ने, मनोरन्जन दिलाउने विभिन्न प्रकारका डान्स गर्न सकिन्छ।
स्वास्थ्यलाई हानि गर्ने बानीहरु जसमा सुर्तीजन्य पदार्थहरु (चुरोट, बिंडी, खैनी, गुट्खा), मध्यपानहरु (रक्सी, वाइन, बियर) को प्रयोग गर्ने बानी हटाउनुपर्छ। यस्ता चीजहरुको प्रयोगले उच्च रक्तचापको साथै अन्य खालका रोगहरु पनि निम्या उँन सक्छ।
यदि कुनै व्यक्तिलाई दीर्घ रोगहरु जस्तै: मधुमेह, थाइरोइड, मिर्गौला सम्बन्धी रोग छ भने त्यसलाई बेलाबेलामा स्वास्थ्य जाँच गरी रोगलाई नियन्त्रणमा राख्नुपर्छ।
उच्च रक्तचापको समस्यामा सुरुको अवस्थामा लक्षण नदेखिने हुनाले समयसमयमा स्वास्थ्य परीक्षण गरेर रोग पहिचान गर्नु आवश्यक हुन्छ। यदि समयमा रोग पत्ता लाग्यो भने विभिन्न प्रकारका जटिलताबाट बच्नुको साथै यसबाट हुने अपाङ्गता र समय अगावै हुने मृत्युलाईसम्म रोक्न सकिन्छ। रोग पहिचान भएमा चिकित्सकको सल्लाह अनुसार नियमित औषधि सेवन गर्नु सुरक्षित मानिन्छ। यदि समस्या सुरुको अवस्थामा नै पहिचान हुन सक्यो र उपचारमा बसियो भने उच्च रक्तचापको जटिलता रोकी, घर परिवार र समाज र देशले स्वास्थ्यमा गरिने आर्थिक भार कम गर्न सकिन्छ।
उच्च रक्तचाप अहिले सबैको घरघरको समस्या हुन गइरहेको छ। तसर्थ यस समस्याबाट बच्नको लागि जीवनशैली र खानपानको परिवर्तनमा विशेषत ध्यान दिनुपर्छ। यसको लागि सबै सचेत हुन आवश्यक छ। स्वस्थ जीवनशैली अपनाई, स्वस्थ भई घरपरिवार, समाज र देशको लागि उत्पादनशील नागरिक बन्न सकिन्छ।