औषधि बिरामीहरूको लागि जीवनरक्षाको स्रोत हो। आधुनिक औषधिहरुको अविष्कारसँगै पराकालमा निकै भयानक ठानिने रोगहरूको पनि समाधान पाइएको छ। समयसँगै औषधिको सेवन गर्ने बिरामीहरूको संख्या पनि वार्षिक रूपमा बढेको पाइन्छ। तथ्याङ्क अनुसार २०१९ को तुलनामा विश्व बजारमा औषधिकाे खपत २०२४ सम्म १४ प्रतिशतले बढेको जनाएको छ। खानपान, तनाव, विलासी जिवनशैली इत्यादीकाे कारणले आजकाल मानिसहरूलाई कलिलै उमेरमा दीर्घरोग लाग्ने गरेको पाइन्छ।
उच्च रक्तचाप, मधुमेह, थाइरोइड, पार्किन्सन, कोलेस्टेरोल, छारेरोग आदि जस्ता रोगहरू देखिएमा बिरामीहरूले लामो समय सम्म वा जिवनभर नै यी रोगहरू नियन्त्रण गर्ने औषधि सेवन गर्नुपर्ने हुन्छ। औषधि उपचारमा लाग्ने खर्च प्राय महंगोनै हुने गर्छ, त्यो माथि लामो समय सम्म अथवा जिवनभर नै यी औषधि सेवन गर्न परेमा बिरामीहरूको धेरै पैसा खर्च हुने गर्दछ।
औषधि कम्पनीहरुले मनोमानी ढंगले औषधिको मूल्य बढाइदिँदा बिरामीहरूले मारमा परेको गुनासो गर्दै आइरहेका छन्। वार्षिक रुपमा औषधिहरुको १० प्रतिशत भन्दा बढी मूल्य वृद्धि भएको पाइन्छ। यसरी दैनिक सेवन गर्नुपर्ने औषधिको सरकारले मूल्य निर्धारण र वार्षिक मूल्यवृद्धि न्यूनतम प्रतिशत राखिदिए आफूहरुलाई धेरै राहत मिल्ने गुनासो बिरामीहरूले गर्दै आएका छन्।
सरकारले स्वास्थ्य बीमा कार्यक्रम सबैजना बिरामीहरूलाई सहज हुने गरी नीति ल्याउन नसकेको, सरकारी अस्पतालमा सबै प्रकारका औषधि उपलब्ध नहुने, फरक चिकित्सकले फरक फरक कम्पनीको औषधि प्रिस्क्राइब गर्ने हुँदा जस्ता कारणहरूले गर्दा बिरामीहरूले आफै पैसा तिरेर निजी फार्मेसीहरुबाट औषधि किन्न बाध्य छन्।
औषधि किन्दा अघिल्लो आर्थिक वर्षमा भन्दा अर्को वर्ष १० प्रतिशत भन्दा बढी सधैं मूल्य बढ्ने गरेको बिरामीहरूले बताउँछन्। ४/५ महिना अगाडि ३९० मा पाइने औषधि अहिले ४५० पर्ने र वार्षिक चर्को मूल्यवृद्धि हुँदा आम्दानीकाे ठूलो रकमनै औषधि किन्दा जाने बिरामीहरू गुनासो गर्दछन्।
अहिलेसम्म औषधि व्यवस्था विभागमा १९००० बढी औषधि दर्ता भएका छन्। वार्षिक रूपमा यी औषधिहरुको प्रोडक्ट लाइसेन्स, बिक्री वितरण अनुमति पत्र नवीकरण गर्नुपर्ने व्यवस्था रहेको छ, जसमा सबै औषधिको मूल्य सूची विभागमा बुझाउनु पर्छ। औषधि व्यवस्था विभागले विषेशगरी दैनिक खानुपर्ने औषधिको मूल्य वृद्धिमा बिशेष ध्यान दिनुपर्ने बिरामीहरू बताउँछन् भने केही कम्पनीहरुले विभागमा एउटा मूल्य सूची र बजारमा बढी मूल्यको लेबल राखेर औषधि पठाएको पाइन्छ। यो सबैबाट दुःख पाहुने सर्वसाधारण/ बिरामी नै हुन्।
सरकारले सके नेपाली बजारमा पाइने सबै, नत्र काम से कम लामो समयसम्म दैनिक खानुपर्ने औषधिको मूल्य साथै न्युन वार्षिक मूल्य वृद्धि दर निर्धारण गरिदिए बिरामीहरूलाई निकै राहत हुने थियो।
(आचार्य मध्यविन्दु जिल्ला अस्पताल नवलपुरमा फार्मेसी अधिकृतका रुपमा कार्यरत छन् ।)