स्वास्थ्य सेवा विभागले जनस्वास्थ्य सम्बन्धी कार्यक्रमहरू कार्यान्वयन गर्ने मुख्य काम गर्दछ। मन्त्रालयबाट प्रदान भएको नीतिगत व्यवस्था निर्देशनको पालना गरेर यी कामहरू सम्पन्न गर्दछ। जनस्वास्थ्यका कार्यक्रमहरू सम्पन्न गर्न आवश्यक पर्ने विषयवस्तुहरूमध्ये स्वास्थ्य सामग्री र औषधि जन्य सामग्री पनि हो। यस्ता सामग्रीहरूको प्राप्ति, आपूर्ति तथा वितरण गर्ने काम स्वास्थ्य सेवा विभागले गर्दछ। स्वास्थ्य सामग्री तथा विभिन्न औजार उपकरणहरु विभिन्न सहयोगी संघसंस्था बाट अनुदानमा प्राप्त भएका वा विभागको आफ्नै नियमित वजेटबाट खरिद गरि प्राप्त भएका हुन्छन्।
विभागबाट सम्पन्न गरिने अरु धेरै कार्यक्रमहरु मध्ये खरिद कार्य पनि एउटा हो। यस्तो खरिद कार्य प्रचलित कानुन (सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद नियमवाली २०६४) को परिधि भित्र रही पारदर्शी एवं प्रतिस्पर्धात्मक किसिमले गर्ने गर्दछ।
हालका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आफ्नो कार्यकाल सुरु हुने बेलादेखि नै खरिद कार्य पारदर्शी गराउने, खरिद गरिएका सामग्रीहरु छिट्टै काममा ल्याउने आवश्यकता अनुसार मात्र खरिद गर्ने जस्ता निर्देशनहरू दिनुभएको थियो। सोही अनुसार खरिद कार्यका लागि भएका नियम कानुनहरूको अलावा हालै मन्त्रीज्यूको विशेष पहलमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खरिद सुधार मार्गदर्शन २०८१ तयार गरी कार्यान्वयनको लागि पठाएको छ।
स्वास्थ्य सेवा विभागबाट खरिद हुने सामग्रीहरू विभिन्न अस्पतालबाट आवश्यकता अनुसार माग भएकाहरूमध्ये प्राथमिकीकरण गरी सूची तयार गरिन्छ जसको लागि खरिद गरिसकेपछि तुरुन्तै ती उपकरणहरु प्रयोगमा आओस् र अस्पतालहरुमा यथेष्ट जनशक्ति विद्यमान रहोस् भन्ने कुराको सुनिश्चितता पनि गरिन्छ।
सामग्रीको सूची बनिसकेपछि ती सामग्रीहरूको लागि विनियोजित बजेटको आधारमा सम्बन्धित विशेषज्ञहरु जसले त्यो सामग्रीको प्रयोग गर्छन् उनीहरू सम्मिलित टोलि बनाई प्राविधिक स्पेसिफिकेसन (technical specification) तयार गरिन्छ। स्पेसिफिकेसन संलगन राखी अन्य कागजातहरु (बोलपत्र कागजात) तयार गरि खरिद प्रक्रिया अगाडि बढाइन्छ।सबै खरिद क्रियाकलापहरु सार्वजनिक खरिद अनुगमन कार्यालयको इ-जिपी पोर्टल मार्फत गरिँदै आएको छ । मूल्याङ्कनको लागि छुट्टै समिति बनाई मूल्याङ्कन गरिन्छ जसले गर्दा बढी पारदर्शी निस्पक्षता होस्। सम्झौता पश्चात प्राप्त भएका सामानहरुको जाचको लागि पोष्ट डेलिभरी इन्सपेक्सन गरी गुणस्तर सुनिस्चित भए पश्चात मात्र तोकिएका अस्पतालहरुमा वितरण गर्ने गरिन्छ।
विभागले आवश्यक रहेका मात्र सामग्री खरिद गर्ने गरेको, खरिद गरेका सामग्रीहरूको भ्यालु फर मनीको हिसाबले गुणस्तरीय सामग्री खरिद हुने गरेको छ । सामग्रीहरु तत्काल प्रयोगमा आउन सक्ने सम्पूर्ण पूर्वाधार तयार भएको अस्पतालहरूमा मात्र वितरण गर्ने गरी व्यवस्था मिलाएको छ।
पछिल्लो समयमा विशेषज्ञ चिकित्सकहरुको (सर्जन, रेडियोलोजिष्ट, अर्थोपेडिक्स आदी) उपलब्धता सरकारी अस्पतालहरुमा बढी रहेको छ। त्यस अनुसार अस्पतालहरुमा अध्याधुनिक उपकरणहरुको व्यवस्थापन हुन जरुरि छ र यसलाई समेत ध्यानमा दिएर विभागले आफ्नो खरिद कार्यलाई सम्पन्न गर्नु पर्दछ।
मन्त्रालयको नेतृत्वको निर्देशन नियम कानुन को परिधि विनियोजन भएको रकम आवश्यकता र औचित्य जस्ता कहाँ के आवश्यकता छ सो अनुसार उपकरण हरुको खरिद प्रक्रिया गरि समय मै प्राप्त गरि तोकिएको ठाउमा वितरण गर्ने जनताले सो बाट लाभान्वित अवसरलाइ सुनिस्चित समेत गर्नु पर्दछ। देशभरिका अस्पतालहरुको मागअनुसारको औजार उपकरण खरिद गर्नको लागि बजेट प्रयाप्त बजेट व्यवस्थापन गरि सो अनुसार कार्यन्वयन भए नभएको उचित अनुगमनको व्यवस्था मन्त्रालयले गर्नु पर्दछ।
तोकिएका क्रियाकलाप समयमा सम्पन्न भए- नभएको र खरिद सम्झौताको कार्यन्वयन सेवामा परेको सकारात्मक प्रभावका विषयमा मन्त्रालयले नियमित अनुगमनको व्यवस्था गर्नु पर्दछ र खरिद क्रियाकलापमा संग्लन कर्मचारीहरुको क्षमता अभिवृद्धिको लागि विभिन्न तालिमहरुको लागि व्यावस्था मन्त्रालय तथा सम्बन्धित निकायहरुले ध्यान पुर्याउन आवश्यक देखिन्छ। साथै विभिन्न सरोकारवाला संसंस्थाहरुसंग समय समयमा अन्तरक्रियात्मक कार्यक्रमहरु संचालन गर्दा खरिद कार्य समेत प्रभावकारी, पारदर्शी र व्यवस्थित हुन मद्दत पुग्दछ।
-(लेखक स्वास्थ्यकर्मी हुन्)