नवलपरासी- पश्चिम नवलपरासीमा कुष्ठरोग नियन्त्रण र जीवनस्तर सुधारका लागि रामग्राम नगरपालिका र लेप्रोसी मिसनबीच सम्झौता भएको छ।
कुष्ठरोग नियन्त्रणका साथै कुष्ठ प्रभावितको स्वास्थ्य र जीवनस्तर सुधार गर्ने उद्देश्यका साथ नगरपालिकाले द लेप्रोसी मिशन नेपालसँग सम्झौता गरेको हो । आगामी पाँच वर्षका लागि नगरपालिकासँग सम्झौता भएको नगरपालिकाले जनाएको हो।
द लेप्रोसी मिसन नेपालको आर्थिक तथा प्राविधिक सहयोग र नगरपालिकासँगको साझेदारीमा एकीकृत कुष्ठरोग तथा अपाङ्गता कार्यक्रम आगामी पाँच वर्षसम्म सञ्चालन हुने भएको छ। त्यसका लागि करिब रु दुई करोड बराबरको कार्यक्रम रहेको संस्थाका प्रमुख पराजुलीले जानकारी दिए।
नगर प्रमुख धनपत यादवले नगरपालिकाले लिएको स्वास्थ्य तथा जिविकोपार्जनका लक्ष्य पूरा गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए। सञ्चालन हुने परियोजनाअन्तर्गत समुदायमा कुष्ठरोग खोजपड्ताल, उद्यमशिलता विकास, लघु उद्यम स्थापना, क्षमता अभिवृद्धि, मानसिक स्वास्थ्य, खानेपानी र सरसफाइ तथा स्वच्छता पूर्वाधार विकास लगायतका विविध क्षेत्रमा काम हुने जनाइएको छ।