काठमाडौं- नेपाल नर्सिङ संघको नयाँ कार्यसमितिका लागि यही मंसिर २८ गते निर्वाचन हुँदै छ। निर्वाचनमा मुख्यतय दुई समूहबीच प्रमुख प्रतिस्पर्धा हुने देखिएको छ भने केही पदमा बागी र स्वतन्त्र उम्मेदवारी पनि परेको छ।
संघको निर्वाचन समितिले दिएको जानकारी अनुसार देशभरका विभिन्न जिल्ला र स्थानमा गरेर २० वटा मतदान केन्द्र तोकिएको छ। निर्वाचनमा मतदाताले २८ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्न सक्ने निर्वाचन समितिले जानकारी दिएको छ।
'मिति २०८१ मंसिर २८ गते बिहान ७ बजेदेखि बेलुका ५ बजे सम्म हुने नेपाल नर्सिङ संघको २०औं कार्य समिति साथै नर्सिङ परिषद सदस्यको निर्वाचन हुने र निर्वाचनमा नेपाल नर्सिङ संघका साधारण तथा आजीवन सदस्यहरुले मात्र मताधिकार प्रयोग गर्न पाउने हुँदा उक्त दिन नेपाल नर्सिङ संघको सदस्यको परिचय पत्रका साथ आफूलाई पायक पर्ने तोकिएका निर्वाचन केन्दमा उपस्थित भई आफ्नो अमुल्य मत प्रदान गर्न हुन सम्बन्धित सबैलाई जानकारी गराइन्छ,' निर्वाचन समितिकी प्रमुख आयुक्त लक्ष्मी राईद्वारा जारी सूचनामा भनिएको छ।
निर्वाचन केन्द्र कहाँ कहाँ?
सूचना अनुसार प्रादेशिक अस्पताल, भद्रपुर, कोशी अस्पताल, विराटनगर, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, जिल्ला अस्पताल, धनकुटा, गजेन्द्र नारायण सिंह अस्पताल, राजविराज, प्रादेशिक अस्पताल, जनकपुर, वीरगन्ज नर्सिङ क्याम्पस, भरतपुर अस्पताल, चितवन, केन्द्रीय कार्यालय नेपाल नर्सिङ संघ, लाजिम्पाट, भक्तपुर अस्पताल, हेटौंडा अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी अस्पताल, बुटवल, जिल्ला अस्पताल, पाल्पा, दाङ उपक्षेत्रिय अस्पताल, घोराई, भेरी अस्पताल, नेपालगन्ज, प्रादेशिक अस्पताल, सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला, जिल्ला अस्पताल, रोल्पा र सेती प्रादेशिक अस्पतालमा मतदान केन्द्र तोकिएको छ।
यी हुन् उम्मेदवार
संघको निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी निकट रहेका नर्सहरुले प्रगतिशील प्यानल बनाएर उम्मेदवारी दिएका छन् भने नेपाली कांग्रेस र एकीकृत समाजवादी निकटहरुले संयुक्त नर्सिङ पेशागत प्यानल बनाएर उम्मेदवारी दिएका छन्।
निर्वाचनमा प्रगतिशील तर्फबाट चन्द्रकला शर्मा र पेशागत तर्फ गंगाकुमारी थापा अध्यक्षकी उम्मेदवार रहेकी छिन्। अध्यक्षमा एमाले निकट बसन्ती थापाले बागी उम्मेदवारी दिएकी छिन्।
महासचिवमा प्रगतिशील प्यानलबाट एमालेनिकट डा देवका कुमारी आचार्य र पेशागत प्यानलबाट कांग्रेसनिकट मीनाकुमारी कार्कीको उम्मेदवारी परेको छ। महासचिवमै जानकी धामीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छिन् ।
यस्तै, वरिष्ठ उपाध्यक्षमा प्रगतिशीलबाट एमाले निकटका रमेश सुब्बा उम्मेदवार छन्। पेशागतबाट वरिष्ठ उपाध्यक्षमा कांग्रेसनिकट कल्पना श्रेष्ठ जोशीले उम्मेदवारी दिएकी छिन्।
उपाध्यक्षमा प्रगतिशीलबाट माओवादीनिकट बबिता घिमिरे र पेशागतबाट कांग्रेसनिकट मनिषा कोइरालाको उम्मेदवारी परेको छ।
कोषाध्यक्षमा प्रगतिशीलबाट तुलसा देवी अधिकारी र पेशागतबाट रमा देवी पहारी ज्ञवालीको उम्मेदवारी परेको छ। यस्तै सचिव पदमा प्रगतिशीलबाट बेली पौडेल र पेशागतबाट जया मिश्राको उम्मेदवारी परेको छ।
सदस्यहरुमा प्रगतिशील समूहबाट क्रमश: मेनुका पोख्रेल, हरि कोजु, कला बस्याल, कोपिला विश्वकर्मा, पासपति जयसवाल, सवेनाज वेगम, जानुका मोक्तान र शान्ति कुमारी विश्वकर्मा रहेका छन्।
पेशागत समूहबाट सदस्यहरुमा सानु कुमारी विष्ट, रुपा देवी थापा, रती पक्वाङ्ग, निशा विक, अन्जु ठाकुर, जाफ्रे आलम अंसारी, सफला बुढाथोकी र सिता कुमारी प्याकुरेल रहेका छन्।
यस्तै, परिषद् सदस्यमा प्रगतिशीलबाट राधादेवी आचार्य सुमिता पाठक र राजदेवी अधिकारी रहेका छन् भने पेशागतबाट ज्ञानु महर्जन मित्रा देवकोटा र सरला केसी रहेका छन्।