कोरोनरी रक्तनलीको रोग भनेको यस्तो अवस्था हो जसमा मुटुमा आवश्यकता भन्दा कम मात्रामा रगत प्रवाह हुने गर्दछ। यसलाई इस्केमिक मुटुरोग पनि भनिन्छ र यो हृदयघात हुनुको प्रमुख कारण हो। यो सामान्यतया मुटुको मांसपेसीमा रगत तथा अक्सिजन प्रवाह गर्ने कोरोनरी रक्तनलीहरू साँघुरो वा बन्द हुनाले लाग्ने गर्दछ।
यस रोगका लक्षणहरू निम्न प्रकारका छन्ः
छाती दुख्नु (प्रायःजसो देब्रेतिर)। कहिलेकाहीँ बायाँ पाखुरा, घाँटी र पेटको माथिल्लो भाग दुख्नु।
कोरोनरी रक्तनलीका रोग भएका बिरामीले कुनै किसिमको दुखाइ महसुस नगर्न सक्छन् तर उनीहरूलाई श्वास फेर्न गाह्रो हुने, वाकवाक लाग्ने र बेहोस हुने गर्दछन्।
प्रायःजसो यस्ता लक्षणहरू बिरामीले बल लगाउने किसिमका काम (जस्तै हिँडाइ) सकाएपश्चात् कम हुने गर्दछ। तथापि यदि आराम गरिरहेको समयमा पनि छाती दुख्न थालेमा वा सो दुखाइ पर्याप्त आराम लिएपश्चात् पनि यथावत रहेमा, यो हृदयघातको संकेत हुनसक्छ।
सुर्तीजन्य पदार्थको सेवन, धुम्रपान, उच्च रक्तचाप, मधुमेह, रगतमा बढी चिल्लोपना, मोटोपना, निष्क्रिय जीवनशैली यो रोगका प्रमुख कारक तत्वहरू हुन्।
यो रोग इलेक्ट्रोकारडियोग्राम (ईसीजी) मार्फत पत्ता लगाउन सकिन्छ। यसबाहेक रक्तनली बन्द भएको पुष्टि गर्न अभ्यास सहितको ईसीजी, कोरोनरी एन्जियोग्राफी र स्क्यान जस्ता अन्य थप जाँचहरू गर्न आवश्यक पर्न सक्छ।
औषधिको सेवनले कोरोनरी रक्तनलीको रोगका लक्षणहरूका साथै भविष्यमा मुटुलाई हुन सक्ने हानिलाई नियन्त्रण गर्न सकिन्छ। केही बिरामीहरूको बन्द भएको रक्तनलीलाई सानो बेलुनको प्रयोग वा शल्यक्रिया गरेर खोल्नु पर्ने हुन सक्छ।
पर्याप्त उपचार गर्न र जटिलताको रोकथामका लागि नियमित रेखदेख तथा जाँच गराउन जरुरी हुन्छ।
तपाईंले कोरोनरी रक्तनली रोगको रोकथाम र व्यवस्थापन कसरी गर्न सक्नुहुन्छ?
आफ्नो जीवनशैलीलाई परिवर्तन गर्नुहोस्ः
–सन्तुलित आहारमा बढी जोड दिने र आफ्नो स्वस्थ तौललाई कायम राख्ने
–नियमित रूपमा शारीरिक व्यायाम गर्ने, धुम्रपान सेवन नगर्ने
–मानसिक तनाव हटाउने
–धेरै बोसोयुक्त खानेकुरा नखाने
जोखिमपूर्ण कारक तत्वहरूको समयभन्दा अगावै मूल्यांकन गर्न आफ्नो चिकित्सकसँग सम्पर्क गर्नुहोस् र यदि केही कारक तत्वहरूको विकास भइसकेको छ भने स्वास्थ्यको पूर्ण परीक्षण गराउनुहोस्।
ती जोखिमपूर्ण कारक तत्वहरूलाई तपाईंको चिकित्सकले निम्न तरिकाबाट उपचार गर्नेछन्ः
–बोसो कम गर्ने औषधिको प्रयोग गरेर रगतमा भएको चिल्लोपन घटाउने
–औषधिको प्रयोग गरेर रक्तचापलाई सामान्य बनाइराख्ने डायटिसियनसँग सरसल्लाह गरेर खानपिन सम्बन्धी सुझाव दिने
–नियमित रूपमा दिनहुँ औषधि सेवन गर्नुहोस्। अन्यथा ती औषधिहरू लाभदायी हुने छैनन्। यस्ता आवश्यक औषधिहरू सधैं बोक्ने गर्नुहोस्।
–तपाईंले सेवन गरिरहनुभएका औषधिहरूको प्रतिकूल असर बारे र यसबाट बच्ने विभिन्न उपायहरूबारे आफ्नो चिकित्सकसँग जानकारी लिनुहोस्।
–चिकित्सकसँग समयसमयमा स्वास्थ्य जाँच गराउनुहोस् र परामर्श लिनुहोस्।