सन् २००२ देखि २०२१ सम्म ५० वर्षमुनिका महिलामा स्तन तथा थाइराइड क्यान्सरको दर बढेको पाइएको छ भने सोही उमेर समूहका पुरुषमा मेलेनोमा र प्रोस्टेट क्यान्सर घटेको एक अध्ययनले देखाएको छ। १९९२ मा पुरुषलाई महिलाभन्दा १.६ गुणा बढी क्यान्सर हुने सम्भावना थियो, तर सन् २०२१ सम्म आइपुग्दा यो अन्तर लगभग बराबर भएको अमेरिकन क्यान्सर सोसाइटीको बिहीबार सार्वजनिक प्रतिवेदनले देखाएको छ।
प्रतिवेदनअनुसार अमेरिकामा क्यान्सरको बोझ पुरुषबाट महिलातर्फ सर्दै गएको छ भने वृद्ध उमेर समुहभन्दा युवाहरुमा यसको प्रभाव बढ्दै गएको छ।
पहिलोपटक ५० देखि ६४ वर्षका महिलामा क्यान्सरको दर पुरुषभन्दा बढी भएको पाइएको छ। साथै, सन् २०२१ मा ५० वर्षमुनिका महिलामा क्यान्सर हुने दर सोही उमेर समूहका पुरुषभन्दा ८२ प्रतिशत बढी थियो, जुन सन् २००२ मा ५१ प्रतिशत थियो। 'सारांशमा, अहिले हामी समग्र रूपमा क्यान्सरका घटना बढेको देखिरहेका छौं, विशेषगरी युवा उमेर समूह र महिलामा,' अमेरिकन क्यान्सर सोसाइटीका प्रमुख अधिकारी डा. अरिफ कमलले भने।
उनका अनुसार, '१० वर्षअघि पुरुषमा महिलाभन्दा ५० प्रतिशत बढी क्यान्सर हुने सम्भावना थियो, तर आज यो लगभग बराबर भइसकेको छ। यसको मुख्य कारण पुरुषमा क्यान्सरको दर घट्नु र महिलामा बढ्नु हो।'
फोक्सो क्यान्सरमा पनि महिलाको जोखिम बढ्दो
सन् २०१२ देखि २०२१ को बीचमा फोक्सो क्यान्सरका घटनाहरू घटे तापनि महिलामा भने घट्ने क्रम सुस्त रहेको अध्ययनले देखाएको छ। यसको प्रमुख कारण महिलाहरू ढिलो धूम्रपान गर्न सुरु गर्ने र छोड्ने क्रम पनि ढिलो हुने भएको बताइएको छ। 'पहिलोपटक ६५ वर्षमुनिका महिलामा फोक्सो क्यान्सर हुने सम्भावना पुरुषभन्दा बढी देखिएको छ,' अमेरिकन क्यान्सर सोसाइटीका प्रमुख वैज्ञानिक अधिकारी डा. विलियम डाहुटले जानकारी दिए।
समग्र रूपमा सन् २०२४ मा क्यान्सरका २० लाख ४१ हजार ९१० नयाँ घटनाहरू हुने अनुमान गरिएको छ, जुन अघिल्लो वर्षको तुलनामा थोरै वृद्धि हो।
क्यान्सरको मृत्युदर भने घट्दो
हालैको प्रतिवेदनअनुसार, क्यान्सरबाट मृत्यु हुने दर सन् १९९१ देखि २०२२ सम्म ३४ प्रतिशतले घटेको छ। यसलाई प्रारम्भिक पहिचान, राम्रो उपचार विधिहरू र धुम्रपान कम हुनुले सहयोग पुर्याेएको बताइएको छ।
डा नील इयंगरका अनुसार, इम्युनोथेरापी (रोग प्रतिरोधात्मक प्रणालीमार्फत् उपचार), जेनेटिक सिक्युन्सिङ र नयाँ एन्टिबडी औषधिहरूले उपचार प्रक्रिया प्रभावकारी बनाएको छ।
महिलामा क्यान्सरको वृद्धिको कारण के हो?
विशेषज्ञहरूका अनुसार महिलामा क्यान्सर दर बढ्नुको पछाडि एउटै कारण औंल्याउन गाह्रो छ। तर, जीवनशैलीसँग जोडिएका कारकहरू जस्तै मदिरा सेवन, शारीरिक निष्क्रियता र अल्ट्रा-प्रोसेस्ड खानेकुराको उच्च सेवन मुख्य कारण हुन सक्छन्।
'१० वर्षअघि हामी क्यान्सर वा त खराब जीनका कारण वा भाग्यको खेल ठान्थ्यौं। तर अहिले हामीलाई थाहा छ कि करिब ५० प्रतिशत क्यान्सर जीवनशैलीसँग सम्बन्धित छन्,' डा कमल भन्छन्, 'मोटोपनसँग सम्बन्धित १३ विभिन्न प्रकारका क्यान्सरहरू छन्। रक्सी सेवनसँग सम्बन्धित ७ विभिन्न प्रकारका क्यान्सरहरू छन्।'
तौल वृद्धि (मोटोपन) अहिलेको क्यान्सरको प्रमुख जोखिम कारक भएको उनले बताए। अमेरिकन क्यान्सर सोसाइटीका अनुसार, मोटोपनले महिलामा पुरुषभन्दा झन्डै दोब्बर क्यान्सरका घटना निम्त्याउने गर्छ। विशेषगरी युवतीहरूमा पाठेघरको क्यान्सर बढिरहेको छ, जुन मोटोपनसँग प्रत्यक्ष सम्बन्धित छ।
'पहिले ६०-७० वर्ष उमेरमा देखिने मोटोपनसम्बन्धी क्यान्सर अब ४०-५० वर्ष उमेरका मानिसमा बढ्दै गएको छ,' कमल भन्छन्। त्यस्तै, वातावरणमा रहेका कार्सिनोजेनिक (क्यान्सर उत्पन्न गर्ने) तत्वहरू, जस्तै रेडोन ग्यास र वायु प्रदूषण पनि सम्भावित कारण हुन सक्छन्।
इयंगर भन्छन्, 'पर्यावरणीय जोखिम कारकहरू परिवर्तन हुँदै गएको देखिन्छ, जसको प्रभाव अब क्यान्सरको दरमा देखिन थालेको छ।'
रोकथाम सम्भव छ
डाक्टरहरूले क्यान्सरको जोखिम कम गर्न जीवनशैली परिवर्तन महत्वपूर्ण हुने बताएका छन्।
'जसरी हामी मुटुरोग, मधुमेह, र उच्च रक्तचाप कम गर्न स्वस्थ खानपान र व्यायामको महत्त्व बुझ्छौं, त्यस्तै व्यवहारहरू क्यान्सर कम गर्न पनि महत्त्वपूर्ण छन्,' डा कमल भन्छन्।