नेपालमा पछिल्लो समय उच्च रक्तचापसहित मुटुका अन्य समस्याका बिरामीको संख्या बढ्दो क्रममा रहेको विभिन्न अध्ययन प्रतिवेदन र अस्पतालहरुको तथ्यांकले देखाउँछ। बिरामीको संख्या बढेसँगै नेपाली औषधि उत्पादक कम्पनीहरुको औषधिको बजार पनि सोही अनुसार बढ्दै गएको फार्मेसी सञ्चालकहरु बताउँछन्।
औषधि उत्पादकहरु पनि दश वर्ष यताको तथ्यांक हेर्दा नेपाली कम्पनीबाट उत्पादित मुटु रोगका औषधिको बजार हिस्सा क्रमशः उकालो लाग्दै गइरहेको छ।
नेपाल औषधि उत्पादक संघका अध्यक्ष महेश प्रधान नेपालमा मुटु रोगको औषधि बजार कति रहेको भन्ने यकिन तथ्यांक नभएको बताउँछन्। उनका अनुसार बजार हिस्सा भने क्रमशः नेपाली कम्पनीको बढ्दो क्रममा रहेको उनी जानकारी दिन्छन्।
नेपाल औषधि व्यवसाय संघका उपाध्यक्ष टंकप्रसाद अधिकारी नेपालमा मुटुका औषधिको बजार हिस्सामध्ये नेपाली कम्पनीको हिस्सा आधाजस्तो रहेको बताउँछन्। ‘ठ्याक्कै तथ्यांक त छैन तर कार्डियाक औषधिमा करिब आधा हिस्सा स्वदेशी औषधि कम्पनीले ओगटेको छ,’ उनले भने। उनका अनुसार नेपाली बजारमा भारतीय कम्पनीहरुको बजार हिस्सा पनि बलियो छ।
औषधि व्यवस्था विभागको विवरण अनुसार नेपालमा ३३ कम्पनीहरुले मुटु रोगको औषधि उत्पादनका लागि अनुमती लिएको पाइन्छ। औषधि व्यवस्था विभागको तथ्यांक अनुसार नेपालमा करिब ७ अर्ब बराबरको आर्थिक हिस्सा मुटु रोगसम्बन्धी प्रयोग हुने औषधिले ओगटेको छ। त्यसमध्ये तीन अर्बभन्दा बढी नेपाली उत्पादकहरुको छ। औषधि व्यवस्था विभागको पछिल्लो तथ्यांक अनुसार ६९ विदेशी कम्पनीहरुले उत्पादन गरेका कार्डियाक औषधिहरु नेपालमा आयात गरी बिक्री वितरण हुने गरेको छ।
के भन्छन् नेपाली उत्पादक ?
पृथ्वीराज भण्डारी
डाइरेक्टर (अपरेसन), क्वेस्ट फर्मास्यूटिकल प्रालि
हामीले जीवनशैलीका कारण लाग्ने रोगको औषधिमा उत्पादनमा जोड दिएका छौं। करिब २३ वर्षदेखि हामीले औषधि उत्पादन सुरु गरेसँगै कार्डियाक औषधिहरु समेत बजारमा ल्याएका छौं। उत्पादन लन्चको समयमा एम्लोडिपिन, याटोनो, मेट्रोपोलोन लगायतका मुटुका बिरामीहरुका लागि लक्षित करिब आधा दर्जन औषधि उत्पादन गरेको थियौं। हाम्रो कम्पनीले कार्डियाक मात्रै ९६ थरीका औषधि उत्पादन गरिरहेको छ। त्यतिबेला हामीले कार्डियाक औषधिको उत्पादन सुरु गर्दा चिकित्सकहरुलाई औषधि बारे बुझाउन नै कठिन समय थियो। मुटु रोगमा प्रयोग हुने स्वदेशी औषधिहरुमा चिकित्सकहरुको विश्वास जित्नका लागि केही समय लाग्ने भएकोले हामी अन्य औषधिमा भन्दा कार्डियाक औषधिहरुमा बढी केन्द्रित भएर उत्पादन बजारमा ल्याएका थियौं। अहिले चिकित्सकहरुले नेपाली औषधिमा विश्वास गर्न थालेका छन्। अन्तराष्ट्रिय कम्पनी र हाम्रा उत्पादनको गुणस्तर उस्तै हो। औषधिको गुणस्तरमा सम्झौता गर्न मिल्दैन।
अन्य औषधि भन्दा मुटुको औषधि बिरामीहरुले लामो समयसम्म प्रयोग गर्छन्। मुटु रोगीहरुले आफूले प्रयोग गर्दै आइरहेको औषधि चाँडै परिवर्तन नगर्ने भएकोले प्रयोगकर्ताको संख्यामा धेरै घटबढ हुँदैन। जसले कम्पनीलाई स्थायित्व दिनमा सहयोग पुग्छ।
एक भारतीय कम्पनीले गरेको सर्वेक्षणअनुसार नेपाली औषधि कम्पनीको समग्र कार्डियाक उत्पादनमा हाम्रो कम्पनी पहिलो नम्बरमा परेको तथ्य सार्वजनिक भएको थियो, त्यो सत्य हो। अन्य उत्कृष्ट २० ब्रान्ड मध्ये ४ वटामा क्वेष्ट कम्पनीका उत्पादन परेका छन्। यो खुसीको कुरा हो।
औषधिको सेवनसँगै मानिसको क्वालिटी अफ लाइफ हुनुपर्छ भन्ने मान्यता हामी औषधि उत्पादकहरु पनि राख्छौं। हालसम्मको कार्डियाक औषधिको उत्पादनका आधारमा भन्नुपर्दा नेपाली बजारलाई स्वदेशी उत्पादनले नै कभर गर्न सक्छौ भन्ने मलाई लाग्छ।
औषधि उत्पादन निश्चित प्रोटोकल अनुसार हुने गर्छ। त्यसमा पनि मुटु औषधि उत्पादन अझै संवेदनशील पक्ष हो। यदि हाम्रा औषधिहरु गुणस्तरीय नभएको भए चिकित्सकहरुले प्रयोगका लागि सिफारिस तथा बिरामीले प्रयोग गर्थे भन्ने मलाई लाग्दैन। त्यसैले नेपाली कम्पनीका औषधिहरु पनि विदेशी कम्पनीका जस्तै गुणस्तरीय छन् भन्नेमा म दाबी गर्छु।
निश्मा बजाचार्य
मार्केटिङ प्लानिङ प्रमुख, नेपाल फर्मास्युटिक्लस ल्याबोरेटोरी
एनपिएलले मुटु रोगको उपचारमा प्रयोग हुने करिब ३० प्रकारका औषधिहरु उत्पादन गर्दै आइरहेको छ। मुटु रोगको उपचारका लागि प्रयोग हुँदै आइरहेका करिब ९० प्रतिशत औषधि हाम्रो कम्पनीबाट उत्पादन हुन्छन्। जसमा भिटा ब्रकर्स, क्याल्सियम क्याटल ब्रकर्स लगायतका मुटु रोगको उपचार प्रयोग हुने औषधि पर्छन्।
हाम्रो कम्पनीले २०५४ सालदेखी नै मुटु रोगका लागि प्रयोग हुने औषधिको उत्पादन सुरु गरेको हो। नेपाली औषधि कम्पनीहरुले उत्पादन गरेका औषधिले नेपाललाई पूर्ण रुपमा धान्न सक्छ या सक्दैन भन्नुअघि दुई पक्षमा एकदमै ध्यान दिनु आवश्यक हुन्छ। मुटु रोगको उपचारका लागि विभिन्न प्रकारको इन्जेक्सनको समेत प्रयोग हुँदै आइरहेको छ।
हाल नेपालमा ३ वटा औषधि कम्पनीले मात्रै इन्जेक्सनको उत्पादन गरिरहेको छ। बाँकी विदेशी कम्पनीले उत्पादन गरिरहेका इन्जेक्सनको प्रयोग नेपालमा हुँदै आएको छ।
जब नेपाली औषधि कम्पनीहरुले पनि मुटु रोगमा प्रयोग हुने इन्जेक्सनको उत्पादन थाल्दैनन्, तबसम्म नेपाली औषधि कम्पनी मुटु रोगको औषधिमा आत्मनिर्भर हुन सक्दैनन् भन्ने मलाई लाग्छ।
हाल नेपालमा करिब ५९ प्रतिशत कार्डियाक औषधिमा नेपाली कम्पनीहरुको योगदान रहेको छ। नेपालमा मुटु रोगको औषधिको आवश्यकता तथा उत्पादन क्षमता बारे अध्ययन भई वास्तविक तथ्यांक निकाल्न सकिदैंन त्यतिबेलासम्म नेपाललाई मुटु रोगको औषधि उत्पादनमा आत्मनिर्भर बनाउन कठिन हुन्छ।
मुटु रोगसम्बन्धि औषधिको उत्पादन बिक्री वितरण तथा स्वदेशी कम्पनीहरुलाई आत्मनिर्भर बनाउनका लागि सरकारको तर्फबाट धेरै काम हुन सक्छन्।
सबैभन्दा महत्वपूर्ण पक्षका सरकारले अवसर प्रदान गर्न सक्नुपर्छ। नेपाली कम्पनीहरुले मुटु रोगमा प्रयोग हुँदैं आएका करिब ९० प्रतिशत औषधि उत्पादन गर्दै आइरहेका छन्।
यस्तो अवस्थाका सरकारले विदेशी कम्पनीको नभई स्वदेशी औषधि कम्पनीहरुको औषधि खरिदलाई बढावा दिने खालका निती ल्याउन आवश्यक छ।
मुटु रोगका औषधि उत्पादन गरिरहेका विभिन्न औषधि कम्पनीहरुलाई सहुलियत प्रदान गर्ने सरकारको नीति आवश्यक छ। त्यस्तै औषधि कम्पनीहरुलाई नयाँ प्रकारमा औषधि उत्पादनका लागि सहुलियत प्रदान गर्ने व्यवस्था ल्याउनु आवश्यक छ। धेरै कम्पनीलाई एकै प्रकारमा औषधि उत्पादनका लागि दिइने अनुमतीमा समेत सरकारको तर्फबाट रोक लगाउनुपर्ने हुन्छ।
औषधिको हुनुपर्ने पहिलो गुण नै गुणस्तरीयता हो, गुणस्तर कायम गर्न नसकेको अवस्थामा त्यो औषधि नै हुन सक्दैन भन्ने मेरो र हाम्रो कम्पनीको मान्यता छ।
नेपाली औषधि कम्पनीले औषधि उत्पादनमा गुणस्तरीयता कायम गर्न नसकेको भए ५९ प्रतिशत बजार हिस्सा दिन सक्ने थिएन।
औषधिमा गुणस्तरीयता कायम गर्न नसकिएको भए मुटु रोगका चिकित्सकहरुले बिरामीलाई नेपाली औषधि कम्पनीको औषधि प्रयोगका लागि अनुमती दिने अवस्था हुँदैन थियो।
नेपाली औषधि बजारमा एक दशक अगाडि कार्डियाक औषधिमा नेपाली औषधि कम्पनीको हिस्सा एकदमै कम रहेको अहिले त्यो बढेर ५९ प्रतिशत पुगेको छ, यसबाट नेपाली औषधि कम्पनीको औषधिको गुणस्तरीयता कति छ भन्ने पुष्टि हुन्छ।
नेपालको औषधि उत्पादन क्षेत्रमा करिब १३ –१४ प्रतिशत हिस्सा कार्डियाक औषधिले ओगटेको अवस्था छ। नेपालको कार्डियाक औषधिको करिब १८ प्रतिशत हिस्सा एनपिएलले ओगटेको अवस्था छ।
विं सं २०५४ बाट कार्डियाक औषधिको उत्पादन थालेको एनपिएलले जनताको स्वास्थ्यलाई पहिलो प्राथमितकता राख्दै औषधि उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ। जसकारण कार्डियाक औषधि उत्पादनको क्षेत्रमा एनपिएल उत्कृष्ट कम्पनी मध्येमा पर्न सफल भएको छ।
सबिन राज शाक्य
मार्केट प्लानिङ मेनेजर, टाइम फर्मास्यूटिकल प्रालि
हाम्रो कम्पनीले मुटु रोगको उपचारमा प्रयोग हुने १० प्रकारका जेनरिक मलिक्यूल उत्पादन गर्दै आइरहेको छ। कम्पनीले उच्च रक्तचाप तथा मधुमेहका लागि करिब १६ वटा मलिक्यूल उत्पादन गर्दै आइरहेको छ।
मुटु रोगसँग सम्बन्धित लिप्लो, फ्लुपन, लोडिकएस, कारप्रो लगायतका औषधि कम्पनीले उत्पादन गरिरहेको छ। कम्पनीले २०६४÷६५ देखि नै उच्च रक्तचाप नियन्त्रणका लागि औषधि उत्पादन गर्दै आइरहेको छ। मुटु रोगका लागि टार्गेड क्याप्सुल औषधिहरु नेपाली जनताको आवश्यकता अनुसार उत्पादन गर्न सक्ने क्षमता हामीसँग छ।
बंगलादेश सरकारले औषधि विदेश निर्यातका लागि औषधि कम्पनीहरुलाई गरेको सहयोग प्रशंसनीय छ, त्यस्तै नेपाल सरकारले पनि औषधि निर्यात गर्न सक्ने क्षमता भएका कम्पनीहरुलाई सहुलियत तथा प्रोत्साहन गर्नुपर्छ भन्ने मलाई लाग्छ।
त्यस्तै नेपाली कम्पनीहरुले उत्पादन गर्न सक्ने एम्लोडिपिन जस्ता औषधिहरुको आयात रोक्न सकेको अवस्थामा स्वदेशी औषधि कम्पनीहरुलाई प्रोत्साहन मिल्थ्यो।
विदेशी औषधि कम्पनीसँग समेत प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा हाम्रा उत्पादन छन्। नेपालमा मुटु सम्बन्धि औषधिहरुको बजार हिस्सा ६ सय ९३ करोडको वार्षिक बजार हिस्सा रहेको अवस्थामा त्यसमा २ प्रतिशत भन्दा बढी बजार हिस्सा हाम्रो कम्पनीको छ।
टाइम फर्मास्यूटिकल प्रालिको स्थापना विसं २०५१ सालमा भएपनि यसले आफ्ना उत्पादनहरु बजारमा विं सं २०५४ मंसिर २ गतेदेखि ल्याएको थियो। हाल यस कम्पनीले १ सय ८० प्रकारका औषधिहरुको उत्पादन तथा बिक्रीवितरण गर्दै आइरहेको छ।
यी हुन् मुटु रोगमा प्रयोग हुने औषधि उत्पादन गर्ने नेपाली उद्योगहरु
नेपाल फर्मास्यूटिकल ल्याबरोटरी प्रालि
भेगा फर्मास्यूटिकल प्रालि
म्याग्नस फर्माे प्रालि
सिद्वार्थ फर्मास्यूटिकल प्रालि
एसियन फर्मास्यूटिकल प्रालि
नेशनल हेल्थकेयर प्रालि
फ्लोरिड ल्याबरोटरी प्रा .लि
क्यूमेड फरमूलेसन प्रालि
टाइम फर्मास्यूटिकल प्रालि
अलाइभ फर्मास्यूटिकल प्रालि
ओम्निका ल्याबरोटरी प्रालि
पानस फर्मास्यूटिकल प्रालि
क्वेष्ट फर्मास्यूटिकल प्रालि
समर फर्माे कम्पनी प्रालि
लोमस फर्मास्यूटिकल प्रालि
देउराली जनता फर्मास्यूटिकल प्रालि
क्यूबिडी फर्मास्यूटिकल प्रालि
बायोगेन रिमेडिज प्रालि
कस्तुरी फर्मास्यूटिकल प्रालि
रोयल फर्मास्यूटिकल प्रालि
नेपाकेयर फर्मास्यूटिकल प्रालि
सुप्रिम हेल्थकेयर प्रालि
एकर्ड फर्मास्यूटिकल प्रालि
निभिक्स फर्मास्यूटिकल प्रालि
एलिक्जर लाइफ साइन्स प्रालि
मेडड्रिक फर्मास्यूटिकल प्रालि
सीटीएल फर्मास्यूटिकल प्रालि
ग्रेस फर्मास्यूटिकल प्रालि
एरो फर्मास्यूटिकल प्रालि
फारमोनिक लाइफ साइन्स प्रालि
ओम मेगाश्री फर्मास्यूटिकल लिमिटेड
यो पनि:
नेपालमा मुटु रोगका औषधि : कति छन् उद्योग, कस्तो छ बजार?