काठमाडौं- सरकारी अस्पतालमा बिग्रिएर थन्किएकाा ३ सय बढी उपकरण राष्ट्रिय आविष्कार केन्द्रले मर्मत गरी पुन: प्रयोग गर्न योग्य बनाएको छ। गत भदौमा स्वास्थ्य मन्त्रालयले सरकारी अस्पतालमा बिग्रिएका उपकरणहरु बनाउनका लागि राष्ट्रिय आविष्कार केन्द्रसँग सम्झौता गरेको थियो।
उक्त सम्झौता अनुसार वीर अस्पताल, गंगालाल हृदयरोग उपचार केन्द्र लगायतका ठूला सरकारी अस्पतालमा बिग्रिएर थन्क्याइएका ४ सय उपकरणमध्ये हालसम्म ३४० वटा मर्मत गरेर बनाएको केन्द्रले जानकारी दिएको छ।
आविष्कार केन्द्रका बायोमेडिकल इन्जिनियर उमेश किराँतीका अनुसार केन्द्रलाई अस्पतालमा के-कति उपकरण छन् र तीमध्ये कति बिग्रिएर बसेका छन् भनेर सूची बनाउनका लागि नै डेढ महिना लागेको थियो।
आविष्कार केन्द्रले सञ्चालन हुन नसकेका भनिएका उपकरणलाई एक-एक गरी लागत अनुमान गर्दै मर्मत गरिरहेको उनको दाबी छ। ‘हामीले अहिले खर्च नलाग्ने र थोरै खर्चमा बनाउन सक्ने उपकरणको मर्मत गरिरहेका छौं। धेरै खर्च लाग्ने उपकरणको लागत अनुमान गर्दै अस्पताल प्रशासनलाई लिष्ट दिइरहेका छौं,’ उनले भने।
तीमध्ये वीर अस्पतालमा एक सी-आर्म मेसिन र पाँच वटा भेन्टिलेटर सञ्चालनमा आएका छन्। यस्तै कान्ति बाल अस्पतालमा इन्फन्ट राडियन वार्मर १, मोनिटर २ र इन्फ्युजन पप्प ३ वटा मर्मत भएका छन्। उनले थपे, ‘बिग्रिएका भनेर थन्क्याइएका धेरै उपकरण बनाउन सकिनेछ।’
उपकरण मर्मतका लागि आफूसहित २० जना प्राविधिकको टोली निर्माण कार्यमा जुटेको जानकारी किराँतीले दिए।
विशेषगरी भेन्टिलेटर, एक्सरे, सीटी स्क्यान, म्यामोग्राफी, डायलसिस मेसिन, सिरिन्जरइन्फ्युजन पम्प कन्ट्रास्ट इन्जेक्टर‚ डिफिब्रिलेटर मेसिन, रगतको प्लाज्मा छुट्याउने ल्याबका सामान, सिरिन्ज पम्प, इन्फ्युजन पम्प, तापमान नियन्त्रक, पेसेन्ट मनिटर, ईसीजी मेसिन, आईसीयूरसीसीयूमा प्रयोग हुने मझौला खालका उपकरण मर्मत गरिरहेको छ।
स्वास्थ्य सेवा विभागको एक सर्वेक्षण अनुसार सामान्य औजारदेखि जटिल र महंगा मेसिन हजारभन्दा बढी संख्यामा थन्किएको देखिएको छ।
विभागको तथ्यांक अनुसार ९७७ वटा अक्सिजन कन्सेन्ट्रेटर, ३७४ वटा सिरिन्ज पम्प, २८५ वटा इन्फ्युजन पम्प, २६८ वटा मल्टी प्यारामिटर मनिटर लगायत उपकरण थन्किएका छन्। अधिकांश उपकरण एक पटक पनि प्रयोग नगरी बिग्रिएका थिए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले अहिले केन्द्रले ठूला अस्पतालहरूमा बिग्रिएका उपकरण मर्मत गरिरहेको र यही बेला बिग्रिएकामध्ये कति उपकरण मर्मत भएर कति मर्मत गरेर पनि प्रयोग गर्न नमिल्ने खालका रहेछन् भन्ने छुट्याउने काम पनि केन्द्रले नै गरेको बताए।
‘बिग्रिएकै उपकरण मर्मत गरेर प्रयोग गर्न सकिन्छ कि भनेर हामीले यो निर्णय गरेका थियौँ। सोहीअनुरूप केन्द्रले पनि उपकरण बनाइरहेको छ,’ उनले भने।
केन्द्रले हाल नारायणी अस्पताल वीरगन्ज, भक्तपुर क्यान्सर अस्पताल, मानव अंग प्रत्यारोपण केन्द्रका उपकरण समेत मर्मत गरिरहेको छ।