काठमाडौं- गैरआवासीय नेपाली (एनआरएन) चिकित्सकले नेपालमा चिकित्सा अभ्यास गर्न पाउने भएका छन्। आवेदन दिइसकेका अमेरिका निवासी डा भुपेश खड्का उक्त लाइसेन्स प्राप्त गर्ने पहिलो एनआरएन चिकित्सक हुनेछन्।
काउन्सिलको शुक्रबार बसेको बैठकले एनआरएन चिकित्सकलाई लाइसेन्स दिने निर्णय गरेको काउन्सिलका रजिस्ट्रार डा सतिश देवले जानकारी दिए। डा खड्काले एक वर्षका लागि लाइसेन्स पाउने छन्। डा खड्का अमेरिका नेपाल फाउन्डेसनका पूर्वअध्यक्ष पनि हुन्।
डा देवका अनुसार पाँच वर्षका लागि लाइसेन्स दिन सकिने प्रावधान छ तर हरेक वर्ष नवीकरण गर्नुपर्नेछ। निर्णयमा भनिएको छ, 'गैरआवासिय नेपाली चिकित्सकको दर्ता सम्बन्धमा 'नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेसँगै 'नेपालको संविधान २०७२' ले प्रदत्त गरेको आर्थिक सामाजिक र सांस्कृतिक अधिकार सहितको 'गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न मार्ग प्रशस्त भएको 'एक पटकको नेपाली सधैको नेपाली' भन्ने मूलमन्त्रलाई सार्थक बनाउन, विश्वभरी रहेका नेपालीहरुलाई मातृभूमिसँग जोड्न र विदेशमा आर्जन गरेको ज्ञान, सीप र पूँजीलाई नेपाल भित्र्याउन राज्यले पहल गरिरहेको सन्दर्भमा गैरआवासिय नेपाली चिकित्सकको दर्ता गर्ने निर्णय गरिएको छ।'
के-के चाहिन्छ दर्ताका लागि ?
रजिस्ट्रार डा देवका अनुसार दर्ताका लागि गैरआवासिय नेपाली प्रमाणपत्र वा पासपोर्ट र कम्तिमा ६ महिना अवधि रहेको सम्बन्धित देशको मूल
राहदानी, सम्बन्धित देशमा हसिल गरेको उच्चतम चिकित्सक उपाधी प्रमाणपत्र, सम्बन्धित देशको काउन्सिलको दर्ता प्रमाणपत्र चाहिनेछ।
यसैगरी सम्बन्धित देशको काउन्सिलले जारी गरेको गुड स्ट्यान्डिङ प्रमाणपत्र वा नो अब्जेक्सन लेटर र दक्षता, विषय विज्ञता र पढाइको तहको समकक्षता प्राप्त गरेको प्रमाणपत्र बुझाउनुपर्नेछ। दर्ता तथा नविकरण शुल्क प्रति वर्ष १५ हजारका दरले पाँच वर्षसम्म नविकरण गर्न सकिने बताइएको छ।
कस्तो छ प्रक्रिया ?
निर्णयअनुसार दर्ता प्रयोजनका लागि चिकित्सकले प्राप्त गरेको उच्चतम शैक्षिक तहको नेपाल मेडिकल काउन्सिलको दर्ता प्रमाणपत्र परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ नेपाल मेडिकल काउन्सिलबाट दर्ता परीक्षा, विशेषज्ञ दर्ता परीक्षा र विशिष्ठ दर्ता परीक्षा शुरु भएको मिति अगावै सो सरहको उपाधिको परीक्षा दिएकाहरुले यो परीक्षामा संलग्न हुनुपर्ने छैन।
दर्ताका लागि छुट्टै गैर आवसीय दर्ता किताव खडागरी विदेशी चिकित्सक दर्ता समितको सिफारिस बमोजिम प्रक्रिया गर्ने डा देवले जानकारी दिए।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिस र गैरआवासिय नेपाली नागरिक चिकित्सकका लागि आवश्यक श्रम स्वीकृति आवश्यक नहुने प्रस्ट पारिएको छ।
त्यसरी लाइसेन्स प्राप्त चिकित्सकले बढीमा २ संस्थामा मात्र काम गर्न पाउनेछन्। तोकिएका संस्था बाहेक अन्यत्र व्यवसायिक काम गरेको पाइएमा कसुर बमोजिमको कारवाही हुने निर्णय समेत गरिएको डा देवले बताए।
एनआरएनए चिकित्सकले विदेशमा हासिल गरेको ज्ञानसीप नेपालमा प्रयोग गर्न यो निर्णयले सहयोग गर्ने नेपाल मेडिकल एशोसिएसनका अध्यक्ष डा अनिल कार्कीले बताए।