अटिजम भन्नाले मस्तिष्कको असाधारण अवस्था हो। यो एक किसिमको जन्मजात हुने समस्या हो। अटिजम भएका बालबालिकाको शारीरिक अवस्था सामान्य भएता पनि सामाजिक सिप, सञ्चार सम्बन्धी सिप र सिकाइको क्षमता कम हुन्छ। संक्षेपमा भन्नुपर्दा अटिजम भन्नाले बालबालिकाको मस्तिष्क विकासको क्रममा आउने समस्या हो।
अटिजम स्नायु तथा नशाको विकासमा आउने ह्रासले उत्पन्न हुने समस्या हो। यो जन्म जात नशा र तन्तुको विकासका क्रममा आएको असमानताको एउटा रुप हो। अटिजमलाई न्यूरो डेभलपमेन्ट डिसअर्डर वा अटिजम स्पेक्ट्रम डिसअर्डर पनि भनिन्छ। विश्व स्वास्थ्य संगठनले गरेको अनुसंन्धानको आधारमा १०० जना बालबालिकामा १ जनामा अटिजम हुन्छ भने सिडिसीको २०२२ को रिर्पोट अनुसार ३६ जना बच्चामा १ जनामा अटिजम हुन्छ भनेका छन्। साथै ४ जना पुरुषलाई हुँदा १ जना महिलालाई ४.१ को रेसियोमा देखिन्छ। हाल नेपालमा २ लाख ५० हजार देखि ३ लाख बालबालिकामा अटिजम छ भने नयाँ केशहरु २०२२ को तथ्याङले ३६५ जना बालबालिकामा अटिजम निदान भएको छ भन्ने तथ्याङक रहेको छ।
अटिजम हुनुको कारण
यस विषयमा भए गरेका विभिन्न अध्ययन अनुसन्धानहरुले यसको वास्तविक कारण यही नै हो भनेर किटानीका साथ भन्न सकेको अवस्था छैन। अटिजमलाई मुलतः वंशाणुगत गुणको प्रभावले हुन्छ भन्ने गरिन्छ भने यसका आन्तरिक र अन्य कारणहरुमा दम्पतिहरुले ३५ वर्ष भन्दा माथिको उमेरमा बच्चा जन्माएमा,२६ हप्ता भन्दा कम समयमा बच्चा जन्मिएमा, कम तौल भएका बच्चा जन्मिएमा, नवजात अवस्थाको बच्चामा विभिन्न प्रकारका रोगको संक्रमण भएमा, एउटा बच्चा र अर्को बच्चाबीचको जन्मान्तर कम भएमा पनि बच्चामा अटिजम हुन सक्दछ।
अटिजमको सामान्य लक्षण तथा चिन्हहरु
बच्चा एक्लै खेल्न मन पराउने, एक अर्कामा आँखा जुधाउन नसक्नु , अस्वभाविकरुपले हाँस्ने वा कराउने , उमेर अनुसार बोलि नफुट्ने , आफ्ना समान उमेरका साथीहरुसँग घुलमिल हुन मन नपराउने। घाउ चोटपटक लाग्दा दुखाई महसुस नहुनु, सामान्य दुखाई हुँदा चिच्याएर रुने कराउने गर्नु। साङकेतिक भाषाको प्रयोग गर्न नसक्नु उमेर अनुसार बौद्धिक क्षमता उत्कृष्ट नहुनु ठुलो आवाज सुन्दा कान थुन्ने झर्को लागेको जस्तो ब्याबहार देखाउने, एउटै मात्र खेलौना खेलिरहनु, सामान्य शिक्षण विधिबाट पठन पाठन गर्न नसक्नु , केही कुरा कम हुँदा बढी भएको महसुस र बढी हुँदा कम भएको महसुस गरेको ब्यवहार प्रकट गर्ने जस्ता लक्षणहरु देखा पर्दछन।
अटिजम भएको वा नभएको कतिबेला शंका गर्ने
अटिजम मस्तिस्कको बनावटमा हुने असन्तुलनका कारण उत्पन्न हुने जन्मजात समस्या हो। बालबालिकाले जन्मपछि २ वर्षभित्रमा आमा वा अभिभावकसँग कुनै पनि सञ्चार गर्न सकेनन भने अटिजमको शंकागर्न सकिन्छ। बालबालिकाले उमेर अनुसारको गतिविधि गरेका छैन वा असमान्य ब्यवहार देखाउँछन् भने अटिजम हुन सक्दछ। समयमै पहिचान गर्न सके त्यास्ता बालबालिकाको उचित ब्यवस्थापन गर्न सकिन्छ।
अटिजमको पहिचान कसरी गर्ने
अटिजममा बाहिरबाट हेर्दा कुनै रोग देखिँदैन। सामाजिक रुपमा घुलमिल हुन नसक्ने, कसैसँग कुरा गर्न गाह्रो हुने। आँखा नजुधाउने, एक्लै बस्न मन पराउने, अरुलाई आफ्नो कुरा बुझाउन नसक्ने र आफूले पनि बुझ्न नसक्ने, एउटै कुरा दोहोर्याउने आदी हुन्छ। इन्द्रियहरुको उतारचढापका कारण अटिजम भएका बालबालिकाहरुले वातावरण ब्यक्ति र बस्तुप्रति अलग किसिमको प्रतिक्रिया देखाउँछन। बालबालिका जन्मिएदेखि लगभग २ वर्षसम्म प्रष्ट रुपमा यसका लक्षण चिन्ह गाह्रो हुन्छ।
अटिजम हुन नदिन के गर्ने
गर्भधारणको समयदेखि जन्मअवस्थासम्म चिकित्सकको सिफारिसमा आवश्यक सप्लिमेन्ट फोलिक एसिडको सेवन गर्ने। आफ्नो बालबालिकालाई अधिकांश समय दिने। आफ्नो बालबालिकालाई रचनात्मक काममा क्रियाशिल गराउने। आफ्नो बच्चाको मानसिक क्षमताको बारेमा बुझ्न चिकित्सक वा विशेषज्ञको सल्लाह लिने। जति छिटो बच्चाको अवस्था थाहा हुन सक्यो त्यातिनै उनीहरुको संन्चारमा सहजता ल्याउन सकिन्छ। थेरापीको माध्यामबाट सहज तरिकाले सन्चार प्रक्रियाको लागि सक्रिय बनाउन सकिन्छ।
यसको उपचार पद्धति
यस रोगको उपचार भनेको थेरापी नै हो। समयमै रोग पहिचान थेरापी दिनुनै यसको महत्वपुर्ण उपचार हो। अटिजम भएका बालबालिकालाई सञ्चार गर्न , सामाजिक ब्यवहार गर्न, विभिन्न थेरापी एवं खेलको माध्यम प्रयोग गर्न सकिन्छ। बालबालिकाका प्रमुख गुरु नै आमा बाबा तथा अभिभावक हुन। अभिभावकले नै उनीहरुसँग सबैभन्दा बढी समय बिताउने भएकाले यस्तो समस्या भएका बालबालिकाका अभिभावकलाई नै बिहेवियर थेरापी तालिम दिनु पर्दछ। अभिभावकले नै घरमा बालबालिकालाई विभिन्न परिस्थितिमा वातावरण सुहाँउदा खेल खेलाउदैं थेरापी दिनु पर्दछ। अटिजम भएका बालबालिका हरुलाई बौद्धिक रुपमा ठिक ठाँउमा ल्याउन र आफुमा आत्मनिर्भर बनाउन थेरापीको विधिबाट अभिभावकको महत्वपुर्ण भुमिका रहन्छ।