काठमाडौं– बंगलादेशमा जारी कोटा विरोधी प्रदर्शन हिंसात्मक बन्दै गएपछि नेपाली विद्यार्थी स्वदेश फर्कन थालेका छन्।
बंगलादेशका विभिन्न शैक्षिक संस्थामा अध्ययनरत करिब ४०० जना नेपाली विद्यार्थी अन्तराष्ट्र्रिय विमानस्थल तथा भारतको सीमा हुँदै नेपाल आइपुगेका हुन्।
नेपाली राजदुतावास तथा बंगलादेशका सरकारी अधिकारीहरुको सहयोगमा भारतको सीमा हुँदै नेपाली विद्यार्थी नेपाल आइपुगेका हुन्।
बिहीबार राती मात्र करिब ७० जना नेपाली विद्यार्थी भारतीय सीमा हुँदै नेपाल फर्किएका थिए। भारतको सीमा हुँदै स्वदेश फर्किएका मेडिकल विद्यार्थी आशिष शाहले आफूसहित करिब ७० जना नेपाली विद्यार्थी एकैपटक प्रहरी स्कर्टिङमा भारतको सीमा हुँदै नेपाल आएका छन्।
‘हामीले हाम्रो एम्बेस्डर घनश्याम भण्डारी सरसँग कुरा गर्न पायौं, हाम्रो अवस्था थाहा पाएपछि उहाँले सरले हाम्रो कलेजको प्रिन्सिपल सरसँग कुरा गर्नुभयो,’ नेपाली विद्यार्थी शाहले भने, ‘त्यहाँको डिस्ट्रिक कन्सुलरसँग पनि कुरा भएपछि हामी राति साढे ३ बजे प्रहरीको स्कर्टिङमा बंगलादेशबाट भारतको सीमासँग आयौं।’
शाह बंगलादेशको सरकारी मेडिकल कलेज ओस्नामी मेडिकल कलेजमा अध्ययनरत छन्। शाहसँगै सोही कलेजमा अध्ययनरत ९ जना नेपाली र अन्य भारत र भुटानमा पनि विद्यार्थीहरु एउटै बसमा भारतसम्म आइपुगेका थिए। आफू बस्दै आएको क्षेत्रमा गोली चल्ने, झडपलगायतका हिंसात्मक घटना बढी हुन थालेपछि स्वदेश फर्किएको बताएका छन्।
शाह र उनका साथीहरु चढेको बस बाहेक अन्य बसमा पनि बंगलादेशबाट नेपाली विद्यार्थी स्वदेश फर्किएका छन्।
करिब नेपाली ७० जना बिद्यार्थी बिहिबार राती नै बंगलादेशबाट नेपाल फर्किएको शाहले जानकारी दिए।
उनले भने, ‘हाम्रो कलेज नजिकै अन्य कलेजहरुबाट पनि करिब ४ वटा गाडीमा विद्यार्थी प्रहरी स्कटिङमा भारतको सीमासम्म आइएका थिए। त्यसमा नेपाली विद्यार्थी ७० जना थिए।’
शाहका अनुसार बंगलादेशका सरकारी मेडिकल कलेजहरुमा हिंसात्मक घटना बढी भइरहेको छ। भारतको सीमानाका दुई घण्टाको फरकमा भएकाले पनि शाह तथा उनका साथीहरु नेपाल फर्किन पाएको उनले जानकारी दिए।
बंगलादेशको विभिन्न मेडिकल कलेजमा अध्ययनरत नेपाली विद्यार्थी भारतीय सीमा हुँदै नेपाल फर्किने क्रम जारी रहेको छ।
ढाका लगायतका क्षेत्रमा रहेको मेडिकल कलेजमा पनि नेपाली विद्यार्थी छन्। कतिपय मेडिकल कलेजमा आन्दोलनकारी प्रवेश गरेर विद्यार्थीलाई कुटपिट गर्ने छतबाटै फालिदिने समेत गरेको स्वदेश फर्किएका शाहले बताए।
शाहका अनुसार आन्दोलनरत पक्षले विदेशी विद्यार्थीलाई लक्षित नगरे पनि प्रभावित क्षेत्रमा गोली चलिरहने, तोडफोड हुने भएपछि नेपाली विद्यार्थी पनि प्रभावित भएका छन्।
बंगलादेशको ढाकामा रहेको पपुलर मेडिकल कलेजमा अध्ययनरत नेपाली विद्यार्थी चेतना पोखरेल पनि एयर बांग्लाकोको विमान मार्फत आजै स्वदेश आइपुगेकी छन्।
पोखरेलका अनुसार कलेज प्रशासनले कलेज क्षेत्र सुरक्षित नभएको भन्दै नेपाल पठाएको हो। पोखरेलसँगै पपुलर मेडिकल कलेजमा अध्ययनरत ७ जना विद्यार्थी तथा अन्य विद्यार्थीहरु पनि सोही विमानमार्फत स्वदेश आइपुगेका छन्।
‘हाम्रो कलेजले सुरक्षा दिएर हिजो राति ३ बजे एयरपोर्टसम्म पु¥याइदियो, बाटोमा ढुंगामुढा भइरहेको थियो, विमान मार्फत आज दिउँसो नेपाल आइपुगें,पोखरेलले स्वास्थ्यखबरसँग भनिन्, ‘हामी एउटै कलेजका ७ जना थियौ, विमानमा त थुप्रै नेपाली विद्यार्थी थिए।’
बंगलादेशस्थित नेपाली राजदूतावसले नेपाली विद्यार्थीहरु अहिलेसम्म सुरक्षित रहेको र विद्यार्थीसँग नियमित सम्पर्कमै रहेको बुधबार विज्ञप्ति मार्फत जनाएको छ।
बंगलादेशमा मंगलबारदेखि जारी आन्दोलन हिंसात्मक हुन थालेको हो। बंगलादेशस्थित नेपाली राजदुतावसले बुधबार नै विज्ञप्ति जारी गर्दै नेपाली विद्यार्थीलाई आफू बसेको स्थानमा सुरक्षा अवस्था प्रतिकुल भएमा जानकारी गराउन अनुरोध समेत गरेको थियो।