काठमाडौं- बालबालिकामा कब्जियतको समस्या बढ्दो छ। कान्ति बाल अस्पताल कब्जियतको समस्यालाई लिएर आउने बिरामीको संख्या बढ्दो छ। खानपानमा फाइबरको कमी, जंकफुड सेवन र निष्क्रिय जीवनशैली यसका मुख्य कारक रहेको कान्ति बाल अस्पतालका बाल पेट तथा कलेजो रोग विशेषज्ञ डा सुमित अग्रवाल बताउँछन्। उनीसँग रिता लम्सालले गरेको संवाद :
पेटसँग सम्बन्धित समस्या भएका कति बिरामी हेर्नुहुन्छ? तीमध्ये कति बिरामी कब्जियतको समयमा लिएर आउने गरेका छन्?
हामीले कान्ति बाल अस्पतालमा सरदरमा दैनिक ३५ जना पेट रोग सम्बन्धी नयाँ बिरामी हेर्छौं। तीमध्ये करिब ८० प्रतिशत बालबालिकामा कब्जियत भएको भेटिएको छ।
बालबालिकामा कब्जियतको समस्या किन बढिरहेको छ ?
अहिले बालबालिकामा कब्जियतको समस्या बढ्नुको मुख्य कारण बालबालिकाको खेल्ने वातावरण अर्थात् खुला ठाउँ नहुने हो। बालबालिकाहरुको शारीरिक सक्रियता बढ्ने खेलकुद घटेको छ । मोबाइलको प्रयोग बढ्दो छ, जसले गर्दा बालबालिकामा कब्जियत बढेको हो। बालबालिकाको जीवनशैली निस्क्रिय हँुदा आन्द्रा चलायमान हुन पाउँदैन। जसले गर्दा कब्जियतको समस्या उत्पन्न हुन्छ।
कुन उमेरका बालबालिकामा कब्जियतको समस्या बढी पाइएको छ, यसको कारण के हो?
बालबालिकामा ६ देखि ७ महिनाको बीचमा कब्जियतको समस्या बढी देखिन्छ। आमाको दूधबाट ठोस खानेकुरा खुवाउन थाल्दा कब्जियतको समस्या हुन सक्छ। त्यसैगरी बालबालिकामा कुनै कुराको तनाव भयो। ठाउँ परिवर्तन भएमा पनि कब्जियतको समस्या देखिन्छ। बालबालिकामा कब्जियत गराउने मुख्य कारण त खानेकुरा नै हो।
बालबालिकालाई कब्जियत भएको कसरी थाहा पाउने ? कस्ता लक्षण सामान्य होइनन्?
कुनै बच्चाले यदि हप्तामा दुईपटक भन्दा कम दिशा गरेको छ, दिशा गर्दा बच्चाले लामो समय लिएको छ, गोटा परेको जस्तो दिशा गरेको छ, दिशा गरीसकेपछि पनि पेट खाली भएको जस्तो अनुभव गरेको छैन भने कब्जियत भनेर थाहा पाउन सकिन्छ। दिशा गरिसकेपछि शौचालय जाम हुने वा शौचालय जान थालिसकेका बच्चाहरुले शौचालय नगइ कपडा लगाएकै अवस्थामा दिशा गर्ने गरेका छन् भने पनि कब्जियतको आशंका गर्न सकिन्छ।
६ महिना भन्दा कम उमेरका बालबालिकालाई कब्जियत भएको छ भने वा कब्जियतसँगै पेट सुन्निएको छ वा दिशामा रगत मिसिएको छ, बच्चाको तौल बढेको छैन वा कब्जियतसँगै अरु लक्षणहरु जस्तै, छातिको संक्रमण भइरहने, बेहोश हुने, काम्ने समस्या पनि छ भने यस्ता बालबालिकामा कब्जियतको अरु कारण पहिचान गर्नुपर्छ र चिकित्सकको परामर्श लिइहाल्नुपर्छ।
कस्तो खानेकुराले बालबालिकालाई कब्जियत गराउन सक्छ?
जंकफुड बढी खाने, फाइबरयुक्त खानेकुरा नखाने बालबालिकाहरुमा कब्जियतको समस्या बढी हुन्छ। त्यसैले बालबालिकालाई कब्जियत हुन नदिन जंकफुड खान दिनुहुँदैन र फाइबरयुक्त खानेकुरा खुवाउनुपर्छ। फाइबर कस्तो खानेकुरामा पाइन्छ भन्ने थाहा नहँुदा पनि बालबालिकालाई अभिभावकले फाइबरयुक्त खानेकुरा नखुवाएको हुनसक्छ। फाइबरयुक्त खानेकुराहरुमा गेडागुडी हो। एक कचौरा गेडागुडीमा ७ ग्राम फाइबर हुन्छ। आलुबखडा, केरा, सागपात, फलफूलमा पनि फाइबर हुन्छ।
कब्जियतसँग सम्बन्धित भ्रमहरु के–कस्ता छन्? यथार्थ के हो?
केरा खाएपछि कब्जियत गराउँछ भन्ने भ्रम रहेको पाइएको छ। यो भ्रम चिर्नु चिकित्सकका लागि पनि चुनौतीको विषय हो। तर यो भ्रम हो। केरामा फाइबर हुने भएकाले केरा खाँदा बालबालिकाको कब्जियतको समस्या कम हुन चाहिँ सक्छ। ठिक्क पाकेको केरामा प्रशस्त फाइबर पाइन्छ।
कब्जियत भएका कतिपय बालबालिकालाई मलद्वारमा औषधि राख्ने चलन बढेको छ। यसले ठूलो आन्द्राको तल्लो भागमा अड्किएको दिशा मात्र जानसक्छ। त्यसैले ठूलो आन्द्राको माथिल्लो भागमा पनि दिशा निकाल्न मुखबाट खाने औषधि पनि दिनुपर्छ।
बालबालिकालाई पानी कुन उमेरबाट दिने? कति दिने? पानी र कब्जियतको समस्या अन्तरसम्बन्धित छ?
फाइबरयुक्त खानेकुराले मात्र कब्जियतको समस्या कम गराउँदैन। कब्जियत कम गराउन बालबालिकालाई पानी पनि खुवाउनुपर्छ। सामान्यतया ६ महिना पूरा भएपछि बच्चालाई पानी दिन सकिन्छ। गर्मीको समयमा अली बढी र जाडोमा कम दिनुपर्छ। किनकी गर्मीमा पसिना मार्फत् पनि पानी जाने भएकाले बढी आवश्यक हुनसक्छ। स्वस्थ बालबालिकालाई ६ महिनापछि दैनिक ५०० एमएल पानी दिँदा पुग्छ। कब्जियत भएका बालबालिकालाई थप पानी दिनुपर्छ।
कस्तो अवस्थामा कब्जियतको उपचारका लागि अस्पताल ल्याउनै पर्छ?
केही लक्षण वा अवस्थालाई कडा कब्जियतको लक्षण भन्छौं। ६ महिना भन्दा कम उमेरको बच्चामा कब्जियतको समस्या छ भने चिकित्सकको परामर्श लिनुपर्छ। यसबाहेक कब्जियतसँगै पेट फुलेको छ, दिशामा रगत गएको छ, बच्चाको तौल बढेको छैन, खोकी लाग्ने, छाती घ्यार–घ्यार हुने, ज्वरो आउने वा बच्चाले हरियो वान्ता गर्ने गरेमा तुरुन्त अस्पताल जानुपर्छ।
कब्जियतको समस्या कम गर्ने घरेलु उपाय के–के छन्?
कब्जियतको उपचारका लागि पनि खानपान महत्वपूर्ण छ। पर्याप्त मात्रामा फाइबर भएको खानेकुरा खाने, झोलिलो पदार्थको सेवन गर्ने र दुई वर्षको उमेरपछि बच्चालाई शौचालयमै दिशापिसाव गर्ने बानी बसाल्नु पर्छ।
कब्जियतको दीर्घकालिन असरहरु के–के छन्?
लामो समय कब्जियत हुने समस्या भएका बालबालिकाको पिसाबमा समस्या हुने र पिसाबको संक्रमणको जोखिम रहन्छ। दिशा राम्रोसँग नभएपछि राम्रोसँग खाना पनि नखाने हुनसक्छ जसको कारण बच्चामा कुपोषण हुनसक्छ। कब्जियत बढेर बच्चाको आन्द्रा नै जाम हुने समस्या पनि हुनसक्छ, यस्तो अवस्थामा शल्यक्रिया गरेर नै उपचार गर्नुपर्ने हुनसक्छ।