काठमाडौं– इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले देशभर डेंगु संक्रमितको संख्या बढ्न सक्ने जोखिम सुरु भएको बताएको छ।
महाशाखाकाे किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा गोकर्ण दाहालले मनसुन सक्रिय रहेको समयमा डेंगु संक्रमण पनि उच्च हुने बताए।
उनले भने, ‘जेठको अन्तिम सातादेखि मनसुन सक्रिय भइसकेको छ, त्यसैले यो महिनाको अन्तिम सातादेखि डेंगु संक्रमितको संख्या बढ्न सक्ने सम्भावन उच्च रहन्छ।’
महाशाखाको तथ्यांक अनुसार पुसदेखि असार २० गतेसम्ममा १ हजार ४३२ जनामा डेंगु संक्रमण भइसकेको छ।
सन् २०२२ र २०२३ मा नेपालमा डेंगु संक्रमण अत्याधिक बढेको थियो। सन् २०२२ मा ८८ जना र २०२३ मा २० जनाको मृत्यु समेत भएको थियो।
मनसुनको समयमा डेंगु संक्रमणको जोमिख उच्च हुने भएकाले अबको समय लामखुट्टेको टोकाइबाट बच्न डा दाहालको सुझाव छ।
एडिज जातको लामखुट्टेबाट डेंगु संक्रमण हुन्छ। लामखुट्टेको टोकाईबाट नेपालमा चार सेरोटाईपको डेंगु देखिएको छ।
नेपालमा पछिल्लो समय एक, दुई र तीन सेरोटाइपको डेंगु संक्रमित बढी रहेको डा विमल चालिसेले बताए। उनका अनुसार एकपटक एउटा सेरोटाइपको डेंगु लागिसकेपछि जीवनभर त्यसै सेरोटाइपबाट पुन डेंगु संक्रमण हुँदैन। तर एकपटक डेंगु भइसकेका व्यक्तिमा पुन डेंगु संक्रमण भएमा संक्रमितको अवस्था भने गम्भीर हुनसक्छ।
‘अहिले डेंगुको मृत्युदर कम छ भनरे हामी ढुक्क हुने अवस्था छैन,’ डा चालिसेले भने, ‘एकपटक डेंगु लागेको व्यक्तिलाई अर्को पटक डेंगु हुदा अर्को सेरोटाइपको भाइरसबाट हुने भएकाले दोस्रोपटक डेंगु भएका बिरामीमा गम्भीर समस्या आउने जोखिम बढी हुन्छ।’
डा चालिसेका अनुसार डेंगु संक्रमित सबै व्यक्तिलाई भने डेंगुको लक्षण नदेखिन पनि सक्छ। डेंगु संक्रमित ७५ प्रतिशतमा लक्षण नदेखिने भएकाले सरकारी तथ्यांकमा भए भन्दा धेरैमा डेंगुको संक्रमण भएको हुनसक्छ।
डा चालिसेले भने, ‘तथ्यांकमा प्रस्तुत भएको संक्रमितको संख्या त डेंगुको लक्षण देखिएर उपचार गर्ने क्रममा परीक्षणबाट आएको नतिजा मात्र हो, ७५ प्रतिशत संक्रमितमा लक्षण नदेखिने भएकाले समुदायमा लक्षण विहिन संक्रमित धेरै हुनसक्छन्।’
डेंगु नियन्त्रणमा कति छ बजेट?
सकारले आगामी आर्थिक वर्ष अर्थात २०८१÷८२ का लागि स्थानीय तहमा मात्र ७ करोड ९८ लाख रुपैयाँ डेंगु नियन्त्रणका लागि छुट्याएको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा गोकर्ण दाहालका अनुसार संघीय बजेट व्यवस्था मार्फत् ७५३ स्थानीय तहका ७५३ पालिका मध्ये ४०२ पालिकालाई कुल ७ करोड ९८ लाख रुपैयाँ विनियोजन गरिएको छ। अघिल्ला वर्षहरुमा सबैभन्दा धेरै डेंगु संक्रमण देखिएको कोशी प्रदेशका ९८ पालिकामा सबैभन्दा धेरै बजेट विनियोन गरिएको छ। कोशी प्रदेशका ९८ पालिकामा २ करोड ६ लाख ५० हजार विनियोजन गरिएको छ।
कुन प्रदेशका कति पालिकामा कति बजेट?
डेंगु नियन्त्रणकै लागि प्रत्येक जिल्लामा कम्तिमा २ लाखका दरले ७७ वटै जिल्लामा कुल १ करोड ५४ लाख थप रकम विनियोजन भएको छ।
स्थानीय तहमा विनियोजित ७ करोड ९८ लाख र जिल्लागत रुपमा विनियोजित १ करोड ५४ लाख गरी कुल ९ करोड ५२ लाख बजेट डेंगु नियन्त्रणका लागि विनियोजन भएको छ।
डेंगु कसरी सर्छ?
महाशाखाको किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा दाहालका अनुसार एडीस जातको लामखुट्टे डेंगु सार्ने लामखुट्टे हो। यो लामखुट्टेले डेंगु संक्रमित व्यक्तिलाई टोक्छ। संक्रमित व्यक्तिलाई टोकेपछि संक्रमित लामखुट्टेले सो रोगको बाहक बन्छ। संक्रमित लामखुट्टेले स्वस्थ व्यक्तिलाई टोक्छ र संक्रमित लामखुट्टेबाट व्यक्तिमा डेंगु सर्छ। संक्रमित लामखुट्टे वृद्धि भएमा व्यक्तिमा पनि डेंगुको संक्रमण बढ्छ। संक्रमण बढ्दै गएमा महामारी हुनसक्छ र संक्रमित व्यक्तिहरुमा स्वास्थ्य जटिलता तथा मृत्युको जोखिम बढ्छ भने अस्पतालमा भर्नादर पनि वृद्धि हुनसक्छ।
डेंगु लागेको कसरी थाहा पाउने?
डेंगु संक्रमण भएपछि उच्च ज्वरो आउने ज्वरो ५ देखि ६ दिनसम्म रहन सक्ने, आँखाको गेडी दुख्ने, ढाड, जोर्नी तथा मांसापेशिहरु दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, ज्वरो आएको ३ देखि ५ दिनपछि शरीरमा रातो रातो बिमिराहरु देखा पर्ने हुनसक्छ। डा दाहालकाअनुसार डेंगुको परीक्षण द्रूत परीक्षण किट वा प्रयोगशाखामा रगतको जाँच गरेर पत्ता लगाउन सकिन्छ।
डेंगुको कुनै खास औषधि नभएपछि दुखाइ र लक्षणहको व्यवस्थापन नै डेंगुको उपचार भएको उनले बताए।गम्भिर डेंगुका बिरामीहरु अस्पतालमा भर्ना गर्नुपर्ने अवस्था हुने उनले बताए।डेंगु संक्रमण नियन्त्रणका लागि डेंगु सार्ने लामखुट्टेको टोकाइबाटै बच्नुपर्ने डा दाहाल बताउँछन्।
डेंगु सार्ने लामखुट्टेको आयु कति ?
एउटा लामखुट्टेको आयु सदरमा ३० दिनको हुन्छ भने सो अवधिमा वयस्क लामखुट्टेले ५०० देखि एक हजार सम्म अण्डा उत्पादन गर्न सक्छ।
वयस्क लामखुट्टेले अण्डा उत्पादन गरेको २ देखि ३ दिनमा लार्भा बन्छ। सो लार्भा ४ देखि ५ दिनमा प्यूपा बन्छ र १ वा २ दिनमा प्यूपा वयस्क लामखुट्टे बन्छ। लामखुट्टेको प्रजनन् प्रक्रिया जमेको सफा पानीमा हुन्छ। डेंगु संक्रमित लामखुट्टेको सबै अण्डा संक्रमित नै हुने डा दाहालको भनाइ छ।