काठमाडौं- यतिबेला जापानमा मृत्युदर बढी भएको डरलाग्दो भाइरसको संक्रमण बढ्दो क्रममा छ। हालसम्मको तथ्यांक अनुसार जापानमा ९७७ जनामा ४८ घन्टे 'मासु खाने ब्याक्टेरिया' उपनाम दिइएको एसटिएसएस अर्थात् 'इस्ट्रेपटोकोक्कल टक्सिक शक सिन्ड्रोम' देखिएको छ।
यो रोगका कारण जापानमा ७७ जनाको ज्यान गइसकेको छ। जापानमा फैलिरहेको उक्त रोग नेपालमा पनि आउने सम्मभावना रहेको विज्ञहरु बताउँछन्। जापानमा धेरै नेपालीहरु रहेका कारण त्यहाँ रहेका नेपाली पनि जोखिममा रहेको अनुमान गरिएको छ। यसका साथै जापानबाट नेपालमा धेरै मानिसहरु आइरहेका कारण नेपालमा पनि उक्त संक्रमण फैलिन सक्छ? भन्ने जिज्ञासा आउन थालेको छ।
स्वास्थ्यखबरले सोही जिज्ञासासहित जापानमा फैलिएको उक्त संक्रमणका विषयमा नेपालले कसरी हेरिरहेको छ? नेपालमा उक्त संक्रमण आउन नदिन के कस्ता तयारी भइरहेको छ? लगायतका विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको निकाय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा यदुचन्द्र घिमिरेलाई प्रश्न सोधेको छ।
डा घिमिरेले नेपाल पनि उक्त रोगको जोखिममा रहेको तर हालसम्म नेपालमा उक्त रोग नदेखिएको जानकारी दिए। उनले जापानमा फैलिरहेको रोगका विषयमा महाशाखाले छलफलहरु अगाडि बढाइरहेको र आगामी १५ गते शनिबार (जुन २९ तारिख) बहुविशेषज्ञहरुसँग थप छलफल पनि राखिएको जानकारी दिए।
'जापानमा धेरै नेपाली रहेका कारण उनीहरुको स्वास्थ्यका विषयमा पनि हामीले चासो दिइरहेका छौं। साथै नेपालमा उक्त रोग आउन नदिन के गर्ने, कसरी उक्त रोगको रोकथाम गर्ने लगायतका विषयमा वृहत छलफल डाकेका छौं,' उनले भने, 'नेपाल सरकार यो विषयमा निकै गम्भीर र सचेत छ। यसका लागि आवश्यक कदम अगाडि बढाइरहेको छ।'
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक समेत रहेका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन यो संक्रमण नौलो नभएकोले नेपालमा पनि हुन सक्ने बताउँछन्।
'समुह 'ए' इस्ट्रेपटोकोक्कस (जीएएस ) ब्याक्टेरिया सम्बन्धी विभिन्न अध्यन/अनुसन्धानहरु नेपालमा पनि भएका छन्। तर अनुवांशिक स्तरमा भने खासै काम गरेको देखिँदैन। जसले गर्दा हाल जापानमा देखिएको जस्तै 'जीन क्यारी' गरेको/गर्ने समुहका समूह 'ए' इस्ट्रेपटोकोक्कस (जीएएस ) ब्याक्टेरिया छ/छैन भनिहाल्ने अवस्था छैन,' उनले भने, 'तर जापानमा ४८ घन्टे 'मासु खाने ब्याक्टेरिया' उपनाम पाएको रोग वर्षेनी बढ्दै जाँदा नेपालले पनि अनुवंशिक स्तरमा ब्याक्टेरियाको पर्याप्त अनुसन्धान गरी जोखिमको आंकलन गर्दै सम्भावित प्रकोपलाई रोक्ने योजना बनाउन आवश्यक देखिन्छ।'
डा पुनका अनुसार यो पहिले नै पहिचान भइसकेको ब्याक्टेरिया हो। एसटिएसएसलाई घातक मानिए पनि दुर्लभ मानिन्थ्यो। तर पछिल्लो समय जापानमा बढ्दो क्रममा देखिएकोले विश्वको ध्यान हाल यो संक्रमण प्रति आकृष्ट भएको उनले जानकारी दिए।
उनका अनुसार ज्वरो/जाडो लाग्ने, मांशपेशीका/जिउ दुख्नु र वाक-वाक/ बान्ता हुनु यसका प्रारम्भिक लक्षणहरु हुन्। तर बिरामीमा एकपछि अर्को द्रूत गतिमा रक्तचाप घट्ने, ढक्कन र श्वास-प्रश्वासको गति बढ्ने अनि रगतमा यसको टक्सिन (विषाक्त पदार्थ) फैलन गइ मुख्य अंगहरु जस्तै मृगौला, कलेजो, फोक्सो जस्ता मुख्य अंगहरुमा अबरोध/क्षति हुने (मल्टि-अर्गान फेलर), अचेत हुने (शक) र मृत्यु हुने यसका लक्षण हुन्।
'यसले शरीरका कोषिका/तन्तुलाई क्षति/मृत (निक्रोसिस) गराउँदछ। यसकारण पनि यसलाई 'मासु खाने ब्याक्टेरिया'को उपनाम दिइएको हो,' डा पुनले भने, 'अचेत र मल्टी-अर्गान फेलर भएको अवस्थामा आक्रामक उपचारका बाबजुत अधिकांश बिरामीको मृत्यु ४८ घण्टा भित्र हुने गर्दछ। यसको मृत्युदर औसतमा ३० प्रतिशत देखिएको छ।'
डा पुनका अनुसार यो रोग विशेषत: संक्रमित व्यक्तिको थुकको छिटाबाट अर्को व्यक्तिमा सर्ने गर्दछ। बोल्दा, खोक्दा वा हाछ्यु गर्दा ब्याक्टेरिया अर्को व्यक्तिमा सर्न सक्दछ। संक्रमितको थुकको छिटा भएको वस्तुमा छोई नाक वा मुखमा छोएमा पनि संक्रमण सर्न सक्दछ। केही अनुसन्धानहरुले पारिवारिक सदस्य र अस्पताल कर्मचारीबीच यो ब्याक्टेरिया फैलिएको देखाएका थिए।
डा पुनले यसको उपचार सम्भव रहेको जानकारी दिँदै भने, 'यसको उपचार सम्भव छ तर यसको लागि संक्रमणको शीघ्र निदान र एन्टिबायोटिक जति सक्दो चाँडो प्रयोग अनिवार्य हुनु पर्दछ।'