सर्लाही – प्रादेशिक अस्पताल मलंगवामा जटिल अवस्थामा आइपुगेकी गर्भवती महिलाको शल्यक्रिया गरी चिकित्सकले आमा र बच्चा दुवैको ज्यान जोगाएका छन्। स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा सचिन यादवको नेतृत्वको टिमले उक्त शल्यक्रिया सफल तुल्याएको हो।
जिल्लाको विष्णु गाउँपालिका वडा नं. ६ की ३३ वर्षीया एक महिलाको शल्यक्रियाबाट तेस्रो बच्चा जन्माइएको हो। पाँचौंपटक गर्भवती भएकी उनले यसअघि दुईपटक शल्यक्रिया (सी-सेक्सन)बाट बच्चा जन्माइसकेकी थिइन्।
डा यादवले भने, 'चिकित्सकका रुपमा मेरो र सुविधा सम्पन्न अस्पतालका लागि नयाँ केस नभएपनि यहाँ उपलब्ध स्रोतसाधनका हिसाबले जोखिमपूर्ण थियो। हामीले सिमित स्रोत र साधनको सहयोगले आमा र शिशुको ज्यान जोगाउन सक्यौं।'
यस्ता खालका केसमा सामान्यतया तीन हप्ताअघि नै बोलाएर शल्यक्रियाबाट बच्चा जन्माइने डा यादवले बताए। तर, ती बिरामी बेथा लागेपछि मात्रै अस्पताल आइपुगेकी थिइन्। डा यादवले भने, 'समयमै ह्यान्डिल गर्न सकिएन भने पाठेघर फुट्ने सम्भावना रहन्छ। त्यसैले अवस्था जटिल भनिएको हो।'
हाल निमित्त मेडिकल सुपरीटेन्डेन्ट समेत रहेका डा यादव यहाँ आएपछि स्त्री तथा प्रसुती सम्बन्धी सेवा लिनेको संख्या बढेको छ। समग्र प्रसुती सेवा लिनेको संख्या दोब्बर भएको उनी बताउँछन्। उनले भने, 'पहिले मासिक १२५ देखि १५० जनाले प्रसुती सेवा लिन्थे, २५ जनाको हाराहारीमा सी-सेक्सन हुन्थ्यो। अहिले प्रसुती सेवा २५० देखि ३ सयले लन्छन् र ६० देखि ७० जनाको सी-सेक्सन हुन्छ।'