काठमाडौं- सुर्तीजन्य पदार्थ नियन्त्रणमा महत्वपूर्ण योगदान गरेकोमा डा तारासिंह बमलाई इन्डोनेसिया सरकारले विशेष सम्मान गरेको छ।
इन्डोनेसियाका स्वास्थ्य मन्त्री बुडी गुनाडी साडिकिनले एक समारोहमा डा बमलाई सम्मानपत्र प्रदान गरेका छन्। उनले इन्डोनेसियामा सुर्तीजन्य पदार्थबिरुद्ध १७ वर्षदेखि काम गरिरहेको भन्दै सरकारले विशेष सम्मान दिएको हो।
उनले इन्डोनेसियाका साथै विश्वकै लागि सुर्तीजन्य पदार्थ नियन्त्रणमा काम गरिरहेका छन्। डा बमले यसअघि इन्टरनेसनल युनियन अग्नेस्ट ट्युबरक्लोसिस एन्ड लङ डिजिज (द यूनियन)मा एशिया प्यासिफिक डाइरेक्टरको रुपमा काम गरेका थिए। जुन संस्थाका माध्यमबाट इन्डोनेसिया, नेपाललगायत एशिया प्यासिफिक क्षेत्रमा सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि नीति निर्माण, कार्यान्वयन र एड्भोकेसीमा उनले काम गरेका थिए।
हाल उनी भाइटल स्टार्टेजी नामक अन्तर्राष्ट्रिय संस्थामा सुर्तीजन्य पदार्थ नियन्त्रण कार्यक्रमका एशिया प्यासिफिक डाइरेक्टरका रुपमा कार्यरत छन्।