काठमाडौं- काठमाडौं क्यान्सर सेन्टर (केसीसी) ले सुर्तीजन्य पदार्थका हानिकारक प्रभावहरू र बालबालिकालाई सुर्तीजन्य पदार्थ उद्योगको हस्तक्षेपबाट जोगाउने महत्त्वबारे सचेतना जगाउन वाकाथन र फ्ल्याशमोब आयोजना गरेको छ।
“सूर्ति उद्योगको हस्तक्षेपबाट बालबालिकाको सुरक्षा” भन्ने नाराका साथ आयोजित कार्यक्रमको प्रमुख अतिथिमा बनेपा नगरपालिकाका मेयर शान्ति रत्न शाक्यसहित ट्राफिक प्रहरी तथा नेपाल प्रहरीका प्रतिनिधिहरू र बनेपा ८ का वडा अध्यक्ष उपस्थित सहभागी थिए। सो कार्यक्रममा विद्यार्थी, स्वास्थ्यकर्मी, सरोकारवाला नागरिकलगायतको सहभागिता रहेको थियो।
वाकाथन लायकु बनेपाबाट सुरु भएको थियो। चिकित्सक, विद्यार्थी र स्थानीय नागरिक लगायतका सहभागीहरु धुम्रपान मुक्त विश्वको वकालत गर्दै ब्यानर र प्लेकार्ड बोकेर हिँडेका थिए। चुरोट, खैनी जस्ता सुर्तीजन्य पदार्थबाट हुने हानिकारक असर र छाड्नुका फाइदाहरु समेटिएको जानकारीमूलक पोस्टरले रुट सजाइएको थियो।
कार्यक्रमको मुख्य आकर्षण केसीसी कर्मचारीहरूको समूहद्वारा गरिएको फ्ल्यास मब थियो। नृत्य र संगीतको माध्यमबाट सुर्तीजन्य पदार्थबाट टाढा रहनुको महत्त्वको बारेमा सन्देश दिइएको थियो।
केसीसीका निर्देशक डा सिमित सापकोटाले कार्यक्रममा उपस्थित सबैलाई सम्बोधन गर्दै क्यान्सर र अन्य सम्बन्धित रोगको प्रकोपलाई कम गर्न चुरोट, खैनी आदिको प्रयोग विरुद्ध लड्नुपर्ने र युवाहरूलाई सुर्तीजन्य पदार्थको जोखिमबारे जानकारी गराउनुपर्ने बताए।
उनले सुर्तीमुक्त पुस्ताको विकास गर्नु अबको उद्देश्य हुनुपर्नेमा जोड दिए। उनले धुम्रपान नियन्त्रण अभियानमा सहयोग गर्न र स्वस्थ जीवनशैली अपनाउन समुदायलाई आग्रह गरे।
वाकाथन र फ्ल्यास मबलाई सुर्तीजन्य पदार्थको प्रयोग विरुद्ध लड्न र भविष्यका पुस्ताहरूलाई यसको हानिकारक प्रभावहरूबाट जोगाउन केसीसीको मिशनलाई अगाडि बढाउँदै उत्कृष्ट सफलताको रूपमा स्वागत गरिएको थियो।