काठमाडौं- सरकारी अस्पतालहरुमा बिरामीले समयमै उपचारको लागि पालो नपाएको, शल्यक्रियाको लागि लामो समयसम्म पालो बस्नुपर्ने जस्ता गुनासोलाई सम्बोधन गर्न समिति गठन गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले तीन सदस्यीय समिति गठन गरेका हुन्।
मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा दिपेन्द्र रमण सिंहको संयोजकत्वमा गठित उक्त अध्ययन समितिमा डा मदन कुमार उपाध्याय सदस्य रहेका छन् भने वरिष्ठ जनस्वास्थ्य प्रशासक डा गुणनिधि शर्मा सदस्य सचिव रहेका छन्।
'मन्त्रालयबाट आफू मातहत रहेका संघीय अस्पतालहरुबाट प्रदान हुने शल्यक्रिया लगायतका स्वास्थ्य सेवाहरु चुस्त-दुरुस्त राख्न तत्काल पहल गर्न आवश्यक देखिएको महशुश गरेर समिति गठन गरिएको हो,' मन्त्री यादवले स्वास्थ्यखबरसँग भने।
समितिले अध्ययन प्रतिवेदन २ हप्ता भित्र पेश गर्नुपर्नेछ। समितिले पहिलो चरणमा काठमाडौँ उपत्यका भित्रका संघीय अस्पतालहरुको स्थलगत अनुगमन गर्नेछ। अस्पतालहरुमा शल्यक्रियाको लागि लामो समयसम्म पालो कुर्नुपर्ने अवस्था, प्रेषणको अवस्था, सेवाको गुणस्तर एवं प्रक्रिया लगायतका विषयबस्तुहरु सम्बन्धमा क-कसको जिम्मेवारी भित्र पर्ने, कसको लापरवाहीको कारण नागरिकको शल्यक्रियाको समय ढिलाई भैरहेको, अस्पतालमा विद्यमान शल्यक्रिया सेवा दिने विशेषज्ञ चिकित्सकको संख्या र निजहरुले दैनिक दिएको सेवाको बिवरण तयार गर्नुपर्ने भनिएको छ।
अस्पतालहरुबाट प्रदान हुने ओपीडीका विषयमा ओपीठी हेर्ने चिकित्सकको संख्या र निजहरुले दैनिक रुपमा बिरामी हेरेको संख्या, प्रेषणको अवस्था लगायतका बिस्तृत बिवरण तयार गरिनेछ। समितिलाई अस्पतालमा प्रवाह हुने प्रयोगशाला र रेडियोलोजी सम्बन्धी सेवाको बिस्तृत बिवरण एवं सोहि सेवाको लागि अन्यत्र रिफर गरेको भए सो समेतको बिवरण तयार गर्न पनि भनिएको छ।
अस्पतालहरुमा बिरामीको चाप, जनशक्ति, साधन स्रोत एवं अन्य पूर्वाधारहरुको अध्ययन गरी स्वास्थ्य सेवा समयमा नै एवं गुणस्तरीय रुपमा प्रवाह गर्न सुझाव पेश गर्ने जिम्मेवारी पनि समितिलाई छ।
यी समस्याको प्रभावकारी व्यवस्थापनको लागि अल्पकालीन (३ महिना भित्र गर्न सकिने), मध्यकालीन (१ आर्थिक वर्षभित्र गर्न सकिने) र दिर्घकालिन (५ वर्ष भित्र गर्नुपर्ने) कार्ययोजना तयार गरी पेश गर्न समेत मन्त्री यादवले समितिलाई निर्देशन दिएका छन्।