काठमाडौं- विश्वमा सूर्तीजन्य पदार्थको सेवनका कारण वार्षिक ८० लाख मानिसहरुले ज्यान गुमाउने गरेका छन्।
विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवसका अवसरका शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक डा भक्तबहादुर केसीले उक्त जानकारी दिएका हुन्।
उनका अनुसार विश्वमा १२ लाख मानिसहरुको मृत्यु अर्काेले सेवन गरेको सूर्तीजन्य पदार्थको कारणले हुनेगर्छ। मृत्यु हुनेमा २८ प्रतिशत पुरुष तथा ७ प्रतिशत महिला पर्ने गर्छन्।
त्यस्तै सन् २०२२ को तथ्यांक अनुसार ३ करोड, ७० लाख १३ हजारले १५ वर्षको उमेरमा नै सुर्तीजन्य पदार्थको सेवन गर्ने गर्छन्। यस्ता पदार्थहरुको खेतीका लागि किसान तथा विपन्न परिवारका करिब १३ लाख बालबालिका संलग्न हुने गरेको पाइएको छ।
सुर्तीजन्य पदार्थ प्रयोग गर्नेमध्ये ८० प्रतिशत हिस्सा विकासोन्मुख मुलुकले ओगटेको छ।नेपालमा करिब ३९ हजार मानिसहरुको सूर्तीजन्य पदार्थको सेवनका कारण ज्यान गुमाउने गर्छन्। जुन कूल मृत्युको १८ प्रतिशत हो।
सुर्तीजन्य पदार्थ क्यान्सरको जोखिम बढाउने एक कारक तत्व हो। हरेक १० क्यान्सरबाट हुने मृत्युमध्ये ३ को कारण धूम्रपान तथा सुर्तीजन्य पदार्थ रहेको पाइन्छ। त्यस्तै कुल क्यान्सरको ४० प्रतिशत कारण धूम्रपान तथा सुर्तीजन्य पदार्थको प्रयोगले हुने गर्दछ। धूम्रपानको कारण हुने क्यान्सरमध्ये फोक्सो तथा आन्द्राको क्यान्सरले कुल क्यान्सरको आधा भाग ओगटेको पाइन्छ।
त्यस्तै सूर्तीजन्य पदार्थको सेवनले मुटुको रोग, फोक्सोको समस्या, मस्तिष्कघात हुने गर्दछ। गर्भावस्थामा यसको प्रयोगले कम तौल भएको बच्चा जन्मनु तथा समय अगाडि बच्चा जन्मिने, गर्भ तुहिने जस्ता जटिलताहरु निम्त्याउन सक्छ।