पोखरा- गण्डकी प्रदेश सरकार, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय मातहतका धौलागिरी आयुर्वेद औषधालय बागलुङ र गण्डकी आयुर्वेद औषधालय कास्कीमा अन्तरंग (इन्डोर)सेवाको शुरुवात गरिएको छ।
मन्त्रालयका नवनियुक्त मन्त्री विन्दु कुमार थापाको पदबहाली गर्ने अवसरमा उक्त निर्णय भएको हो। सो निर्णय पश्चात् उक्त औषधालयहरूमा बिरामीलाई भर्ना गरी उपचार गर्ने सुबिधा उपलब्ध हुने छ।
स्वास्थ्य मन्त्री थापाले गण्डकी प्रदेशमा उक्त आयुर्वेद औषधालयहरूलाई चिकित्सालयका रूपमा विकास गरिने नीति अनुरुप हाल भौतिक पूर्वाधार निर्माण, औजार उपकरणको व्यवस्था र संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी आवश्यक जनशक्तिको व्यवस्थापन गर्ने गरी उक्त निर्णय गरिएको बताए।
मन्त्री थापाले रणनैतिक भौगोलिक अवस्थितिमा रहेका, जनघनत्व बढी भएका र सेवाग्राहीको संख्या उल्लेखनीय रहेका उक्त औषधालयहरूलाई चिकित्सालयका रूपमा विकास गर्दै आगामी आर्थिक वर्षमा अन्तरंग सहितको विशेषज्ञ आयुर्वेद स्वास्थ्य सेवा संचालन गर्ने जानकारी दिए।
उनले त्यसका लागि आवश्यक हुने भौतिक पूर्वाधार निर्माण, औजार उपकरणको व्यवस्थापन र हालको मौजुदा दरबन्दी पुनरावलोकन गरीसंगठन तथा व्यवस्थापन सर्वेक्षण समेतको प्रकृया अगाडि बढाइने बताए।
मन्त्रालयका सचिव डा विनोद विन्दु शर्माका अनुसार विशेषज्ञ सहितको अन्तरंग सेवा आवश्यक पर्ने बिरामीहरुले आयुर्वेद सेवा लिन चितवन, काठमाडौँ लगायतका अन्य प्रदेशका शहरहरुमा जानुपर्ने बाध्यता रहेकोमा पक्षघात, हाडजोर्नी खिइने समस्या, ढाडको नसा च्यापिएका, मोटोपना, उच्च रक्तचाप, मधुमेह, हेमोरोइड्स, फिस्टुला, पेटका दीर्घ समस्या, नि:सन्तानपन आदि जस्ता बिरामीहरुलाई अन्तरंग सेवा सहितको आयुर्वेद उपचार प्रभावकारी देखिएको र सो का अलावाआयुर्वेद चिकित्साको मुख्य उपचार मानिने पंचकर्म सेवा संचालन गर्नका लागि समेत अन्तरंग सेवा आवश्यक देखिएकोले मन्त्रालयले उक्त सेवा सुचारू गरेको हो।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका महानिर्देशक खिम बहादुर खड्काका अनुसार प्रदेश मातहतका आयुर्वेद स्वास्थ्य केन्द्रहरुले बार्षिक ३ लाख नागरिकहरुलाई आयुर्वेद स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेका छन् जुन संख्या निरन्तर बढ्दो छ तर अन्तरंग सेवा संचालन नभएको कारण आयुर्वेद सेवा आवश्यक र प्रभावकारी हुने बिरामीहरुलाई अन्तरंग सेवा प्रदान गर्न नसकिएको अवस्था भएकोले मन्त्रालय उक्त निर्णयमा पुगेको हो।
गण्डकी प्रदेश बाहेकका अन्य ६ वटै प्रदेशहरुमा आयुर्वेद चिकित्सालय स्थापना भई अन्तरंग सेवा प्रवाह भइरहेको र सो का लागि आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माण, औजार उपकरणको व्यवस्था र संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी आवश्यक जनशक्तिको समेत व्यवस्थापन भैसकेको तर गण्डकी प्रदेशमा त्यसो हुन नसकेको अवस्था रहेकोमा हाल उक्त निर्णय भएको मन्त्रालयका चिकित्सा सेवा महाशाखा प्रमुख डा रमेश कुमार केसीले जानकारी दिए।
गण्डकी प्रदेशका धौलागिरी औषधालय बागलुङ, गण्डकी आयुर्वेद औषधालय कास्की, आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँ र स्याङ्गजामा हाल बहिरंगबाटै क्षारसुत्र, अकुपंचर, पूर्वकर्म, षटकर्म जस्ता सेवाहरु प्रवाह भैरहेका छन् तर उक्त सेवाहरूअन्तरंग सेवाको रुपमा प्रवाह हुँदा बढी गुणस्तरीय र प्रभावकारी हुने मन्त्रालयका आयुर्वेद शाखा प्रमुख डा मधुरजी ढकालले बताए।
आयुर्वेद नेपालको परम्परागत, मौलिक एवं राष्ट्रिय चिकित्सा पद्धति हो। आयुर्वेदले जीवनशैली परिवर्तन, जडीबुटी, खनिज एवं सामुन्द्रिक द्रव्यहरुको प्रयोग गरी नागरिकको स्वास्थ्य प्रवर्द्धन र बिरामीहरुको उपचार गर्दछ। गण्डकी प्रदेश सरकार मातहत ११ जिल्लामा आयुर्वेद स्वास्थ्य केन्द्र/औषधालयहरु र स्थानीय तह मातहत ५५ आयुर्वेद औषधालयहरु संचालित छन्।