काठमाडौं- स्वास्थ्यमन्त्री ब्लूम्बर्ग जनस्वास्थ्य पत्रकारिता पुरस्कारबाट स्वास्थ्यखबरकर्मी डिबी खड्का सम्मानित भएका छन्।
विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवसका अवसरका शुक्रबार आयोजित कार्यक्रममा स्वास्थ्यखबरका कार्यकारी सम्पादक खड्कालाई उक्त पुरस्कार प्रदान गरिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गठन गरेको विज्ञ सम्मिलित निर्णायक मण्डलले सहभागी भएका स्वास्थ्य पत्रकारहरुमध्ये सबैभन्दा बढी अंक ल्याएका पत्रकार खड्काको नाम पुरस्कारका लागि छनौट गरेको हो।
लामो समयदेखि पत्रकारिताको माध्यमबाट सूर्तिजन्य पदार्थविरुद्ध जनचेतना विस्तार गर्न र नसर्ने रोगको संक्रमण न्यूनिकरणमा विशेष योगदान गरेको मूल्यांकनका आधारमा स्वास्थ्य पत्रकार खड्कालाई ब्लूम्बर्ग जनस्वास्थ्य पत्रकारिता पुरस्कार प्रदान गरिएको हो।
दिवसका अवसरका खड्कासहित संस्था तर्फ हेल्थ नेपाल प्रकाशन प्राली, व्यक्ति तर्फ अतुल मिश्र र नीता सापकोटा, कर्मचारी तर्फ विनोदविन्दु शर्मा र सुनिल शर्मा रहेका छन्। सबैलाई जनही नगद ५० हजार रुपैयाँ सहित पुरस्कृत गरिएको छ।
सूर्तिजन्य पदार्थको बट्टामा ९० प्रतिशत भागमा चेतावनीमुलक घातक चित्र राख्ने प्रतिवद्दता जनाएपछि सन् २०१५ मा नेपालले एक लाख अमेरिकी डलर (करिब १ करोड नेपाली रुपैयाँ) राशिको ब्लूम्बर्ग फिलान्थ्रोपिक अवार्ड प्राप्त गरेको थियो। उक्त रकमलाई स्वास्थ्य मन्त्रालयले छुट्टै अक्षय कोष बनाएर त्यसबाट प्राप्त हुने ब्याज रकम सुर्तीजन्य पदार्थ विरुद्दको अभियानमा योगदान गरेका व्यक्ति र संस्थालाई दिने निर्णय गरेको थियो।
पहिलो पटक २०७६ सालमा व्यक्ति र संस्था गरी ६ जनालाई पुरस्कार प्रदान गरिएको थियो। त्यसपछि कोभिड-१९ का कारण यो पुरस्कार वितरण रोकिएको थियो। गत वर्षबाट फेरि पुरस्कार वितरण शुरु भएको हो। अहिले दिइएको पुरस्कार तेस्रो पटक हो।