काठमाडौं- सुर्तीजन्य पदार्थको सेवनबाट हुने हानीलाई प्रत्यक्ष दोहोरी गीतबाट प्रस्तुत गरिएको छ। मनोरञ्जन क्षेत्रका महिलाहरुको अधिकारका पक्षमा काम गरिरहेको महिलाको निम्ति महिला मञ्च नेपालले उक्त सचेतनामूलक गीत प्रस्तुत गरेको हो।
मनोरञ्जन क्षेत्र दोहोरी रेस्टुरेन्ट, डान्सबारे, स्पा तथा मसाज, क्याबिन र खाजाघरमा हुने सुर्तीजन्य पदार्थको सेवनले पार्ने असरहरुलाई गीतमा प्रस्तुत गरिएको छ। दुई भागमा प्रस्तुत गरिने दोहोरीको पहिलो भाग विश्व सुर्तीजन्य पदार्थबिरुद्धको दिवसको अवसरमा सार्वजनिक गरिएको हो।
मनोरञ्जान क्षेत्रमा काम गर्ने श्रमिकहरुले आफैं सुर्तीजन्य पदार्थ सेवन नगर्दा पनि उनीहरु समस्यामा पर्ने भएकाले उक्त विषय उठाएको मञ्चकी संस्थापक अध्यक्ष तथा कार्यकारी निर्देशक सिर्जना पुनले बताइन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले उक्त अभियानमा ऐक्यबद्धता जनाएको छ।
उक्त केन्द्रका तर्फबाट स्वास्थ्य प्रबर्द्धन तथा सुर्तीजन्य पदार्थ नियन्त्रण शाखाका प्रमुख डा भक्तबहादुर केसीले सहभागीता जनाएका छन्। दोहोरी सुरु हुनुअघि विषयबारे जानकारी दिँदै डा केसीले भने, ' रेस्टुरेन्ट, डान्सबार, खाजाघरलगायतमा सेकेन्ड ह्यान्ड र थर्ड ह्यान्ड स्मोकिङका कारण सेवन नगर्नेको स्वास्थ्यमा पनि हानी भइरहेको छ। त्यसैले उक्त ठाउँमा सेवन गर्न नमिल्ने कानुन ल्याइएको हो।'
उनले सुर्तीजन्य पदार्थले स्वास्थ्यमा पुर्या।उने हानी र नेपालमा विद्यमान कानुनका बारेमा उक्त भिडियोमा जानकारी दिएका छन्।
मनोरञ्जन क्षेत्रमा काम गर्ने श्रमिकका अधिकारका सवाल, विभेद र विभिन्न सामाजिक मुद्दामा केन्द्रीत रहेर 'सांस्कृति अभियान' चलाइएको छ। जसको योजना तथा समन्वय डिबी खड्का, सविता पोखरेल र वर्षा लुइँटेलले गरिरहेका छन्।
चर्चित गायक भगवान भण्डारीको गीत 'बनमा काँडा छ'को लयमा कलाकारहरु यशोदा केसी, श्याम राना, तारा थापा, रत्न श्रेष्ठ, देवि आले, शर्मिला बिसी, टेकराज भण्डारी, दिलु बिसी, रत्न श्रेष्ठ शान्ति घर्ति रमिला बुढा मगर, धिरज कोइराला लगायतले गीत गाएका छन्।