काठमाडौं- सरकारले आगामी आर्थिक वर्षका लागि संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट घटाएको छ। अर्थमन्त्री वर्षमान पुनले संघीय संसदको दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को संयुक्त बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षका बजेटमा संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट घटेको देखिन्छ।
सरकारले चालु आर्थिक वर्षका लागि संघीय स्वास्थ्य मन्त्रालयलाई ४९ अर्ब ८० करोड ५४ लाख रुपैयाँ बजेट दिएको छ। तर आगामी आर्थिक वर्षका लागि भने उक्त रकमभन्दा कम ४६ अर्ब १४ करोड २३ लाख रुपैयाँ रकम विनयोजन गरेको उल्लेख छ।
अर्थमन्त्री पुनले प्रस्तुत गरेको बजेट अनुसार आगामी आर्थिक वर्षका लागि संघीय स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्षको तुलनामा २ अर्ब ७१ करोड ५४ लाख रुपैयाँ कम बजेट पाएको छ।
सिलिङभन्दा ६ अर्ब ३८ करोड कम
संघीय स्वास्थ्य मन्त्रालयलाई आगामी आर्थिक वर्षका लागि राष्ट्रिय योजना आयोगले ५२ अर्ब ५२ करोड रुपैयाँको बजेट सिलिङ दिएको थियो। मन्त्रालयले सोही अनुसार कार्यक्रमहरु प्रस्ताव गरेर पठाएको थियो। तर उक्त बजेट भने सिलिङभन्दा ६ अर्ब ३८ करोड रुपैयाँ कम आएको देखिन्छ। यसले स्वास्थ्यका कार्यक्रमहरुमा समस्या पर्न सक्ने मन्त्रालयका कर्मचारी बताउँछन्।
स्वास्थ्य क्षेत्रका लागि ८६ अर्ब २४ करोड, प्रदेश र स्थानीय तहमा कति?
सरकारले आगामी आर्थिक वर्षका लागि संघीय स्वास्थ्य मन्त्रालयसहित स्वास्थ्य क्षेत्रका लागि ८६ अर्ब २४ करोड रुपैयाँ बजेट विनियोजना गरेको अर्थमन्त्री पुनले जानकारी दिएका छन्। यो रकम चालु वर्षका लागि स्वास्थ्य क्षेत्रका लागि आएको भन्दा जम्मा १४ करोड रुपैयाँ मात्र बढी हो। चालु वर्ष स्वास्थ्य क्षेत्रका लागि ८६ अर्ब १० करोड ९१ लाख रुपैयाँ बजेट आएको छ।
आगामी आर्थिक वर्षका लागि संघीय मन्त्रालयलाई ४६ अर्ब १४ करोड २३ लाख, प्रदेशका लागि ६ अर्ब ३७ करोड ८६ लाख र स्थानीय तहका लागि ३३ अर्ब ७१ करोड ८० लाख रुपैयाँ बजेट छुट्याइएको छ। चालु आर्थिक वर्षको तुलनामा प्रदेश र स्थानीय तहको बजेट बढेको छ। चालु आर्थिक वर्षका लागि प्रदेशमा ६ अर्ब १२ करोड ७२ लाख र स्थानीय तहका लागि ३० अर्ब १७ करोड ६५ करोड रुपैयाँ बजेट आएको छ।