काठमाडौं– रेटिनोब्लाष्टोमा क्यान्सर लागेका ५० प्रतिशत बालबालिकाको मृत्यु हुने गरेको पाइएको छ।तिलगंगा आँखा प्रतिष्ठानकी अकुलोप्लाष्टि तथा अकूलर अंकोलोजी विभाग प्रमुख डा पूर्णिमा राजकर्णिकार स्थापित अनुसार विकासोन्मुख मुलुकमा रेटिनोब्लाष्टोमा क्यान्सर लागेका बालबालिका मध्ये ५० प्रतिशतको मृत्यु हुने गरेको छ।
विकसित मुलुकमा ५ प्रतिशत बालबालिकाको मृत्यु हुने गरेको छ। तिलगंगा आँखा प्रतिष्ठानद्वारा आयोजित एक पत्रकार सम्मेलनमा डा राजकर्णिकारले उक्त जानकारी दिएकी हुन्। विकसित मुलुकमा रोगको पहिचान तथा उपचार छिटो र सहज पहुँच भएकोले मृत्युदर कम भएको उनको तर्क थियो।
रेटिनोब्लास्टोमा बालबालिकामा हुने एक प्रकारको आँखाको क्यान्सर हो। यो क्यान्सर आँखाको भित्री भागबाट पलाउँछ र विस्तारै आँखाको सबै भागमा फैलिएर अन्धोपनाको समस्या आउँछ।
यो रोगको उपचार गर्न ढिलो भएमा शरीरका अन्य भागमा फैलिएर बिरामीको ज्यान समेत जान सक्छ।
यो क्यान्सरले बालबालिकाको बच्चाको एक वा दुवै आँखा प्रभावित पार्न सक्छ। करिब १५ हजार नवजात शिशुहरुमध्ये एक जनामा यो रोग देखापर्ने बताइएको छ।
यो रोग ५ वर्षभन्दा कम उमेरका बालबालिकालाई देखिने गर्छ। रेटिनोब्लास्टोमा ४५ प्रतिशत बंशाणुगत हुने गर्दछ। विशेषगरी हाडनाताभित्र विवाह गर्ने व्यक्तिमा यो रोग लाग्ने सम्भावना धेरै हुन्छ।
अध्यारो कोठामा बालबालिकाको तस्बिर खिच्दा आँखाको नानीको कालो भागमा सेतो टिका देखिनु,आँखा असमान्य रुपमा रातो हुनु र दुख्नु ,आँखाको आकार ठूलो हुँदै जानु र बाहिर तिर आउनु, आँखाको डेढोपन हुनु र आँखा सुक्दै जानु रेटिनोब्लाष्टोमाकोलक्षण हुन सक्ने डा राजकर्णिकारले जानकारी दिइन्। यी लक्षणहरुलाई सतर्क रुपमा समयमा नै पहिचान गर्न सकेको अवस्थामा यसको उपचार सम्भव भएको उनको तर्क छ।
तिलगंगा आँखा प्रतिष्ठानले ओपन आइज नेपालसँगको सहकार्यमा रेटिनोब्लाष्टोमाको समस्या भएका बालबालिकाका लागि निशुल्क ओपिडी, उपचार सेवा तथा प्रोस्थेसीस् सफाईको व्यवस्था गरेको जनाएको छ।
आँखाको पर्दा जाँच गरी यो रोग पत्ता लगाउन सकिन्छ। यस्तै आँखाको अल्ट्रासाउन्ड तथा टाउकाको सिटि स्क्यान र एमआरआई बाट पनि यो रोग पत्ता लाग्छ। लेजर, केमोथेरापी र रेडियोथेरापीबाट रोगको उपचार गरिने डा राजकर्णिकारले जानकारी दिईन् ।
बिरामीलाई केमोथेरापीका लागि कान्ति बाल अस्पताल र रेडियोथेरापीका लागि भक्तपुर क्यान्सर अस्पतालमा पठाउने गरेको डा राजकर्णिकारले बताइन्। उनका अनुसार जटिल अवस्थामा पुगेका बिरामीको आँखाको शल्यक्रिया गरी उपचार गर्न सकिन्छ। क्यान्सर फैलिएको छ भने आँखा वरिपरिको भाग नै निकालेर फाल्नुपर्ने हुन्छ।
आँखाको डल्लो निकालेपछि प्लाष्टिक वा सिसाको कृत्रिम आँखा हालेर आँखा जस्तै बनाउन सकिन्छ। यस्तो अवस्थामा भने बालबालिकाको आँखाको दृष्टि भने रहदैन।