मुटुरोग विशेषज्ञ डा रोशन राउत ह्याम्स अस्पताल, मण्डिखटारमा कार्यरत छन्। मुटुको चाल सम्बन्धी समस्यामा केन्द्रीत उपचारमा विशेष दख्खल राख्ने राउतसँग यही विषयमा केन्द्रीत भएर स्वास्थ्यखबरकर्मी लक्ष्मी चौलागाईंले संवाद गरेकी छिन् :
मुटुमा चाल कसरी उत्पन्न हुन्छ ?
सामान्यतयाः मानिसको मुटुले काम गर्नलाई मुटुमा विद्युत प्रवाह हुन आवश्यक छ।
बिद्युतीय तरंग मुटुमा बग्नका लागि बिद्युत् उत्पादन आवश्यक हुन्छ। मुटुमा विद्युतीय तरंग उत्पादन हुनुलाई ‘साइनस नोड’पनि भनिन्छ यदि उत्पादित विद्युत समग्र मुटुभरी नै प्रवाह हुनुपर्छ। यसरी प्रत्येक पटक ‘साइनस नोड’बाट विद्युतीय तरंग उत्पादन भएपछि मुटु धड्किने गर्छ। स्वस्थ मानिसको मुटु धड्किनु सामान्य प्रक्रिया हो।
स्वस्थ व्यक्तिमा मुटुको चाल कस्तो हुनुपर्छ ?
सामान्यतयाः स्वस्थ व्यक्तिमा मुटुको चाल ६० देखि १०० हुनुपर्छ। कहिलेकाहिँ ६० भन्दा कम पनि हुनसक्छ, राति सुतेको समयमा मुटुको चाल ५० कम र कुदेको समयमा १०० भन्दा माथि हुँदा पनि आत्तिनुपर्दैन। सामान्यतयाः ६० देखि १०० हुनुपर्ने भए पनि कहिलेकाहिँ केही तलमाथि भने हुनसक्छ।
मुटुको चालमा किन गडबडी हुन्छ ?
मुटुको चाल आवश्यकता भन्दा कम हुँदा या बढी हुँदाको अवस्थालाई मुटुको चालमा गडबडी भएको मान्न सकिन्छ।
शारीरिक आवश्यकताका आधारमा ६० भन्दा कम मुटुको चाल हुनुलाई सामान्य नै मानिन्छ। जस्तै राति सुतेको अवस्थामा मुटुको चाल कम हुनु।
यद्यपि शारीरिक आवश्यकता बिना नै मुटुको चाल कम भएर त्यसले शरीरलाई असर गरिरहेको तथा असामान्य लक्षणहरु देखिएको अवस्थालाई मुटुको चाल गडबडी सम्बन्धी रोग लागेको बुझिन्छ।
त्यसैगरी मुटुको चाल आवश्यकता भन्दा बढी हुनु पनि एक प्रकारको रोग नै हो। यदि शरीरलाई आवश्यक परेको अवस्थामा मुटुको चाललाई केही बढ्नुलाई भने रोग मानिदैन। तर, शरीरको आवश्यकता बिना नै एक्कासी मुटुको चाल बढेमा त्यसलाई रोग मानिन्छ।
यस्तो अवस्थामा शरीरमा मुटुको चाल गडबडी सम्बन्धि लक्षणहरु समेत देखापर्ने गर्छन्। यद्यपि ज्वरो आउँदा, दौडिँदा मुटुको चाल अन्य समयमा भन्दा केही बढ्छ। त्यसलाई सामान्य नै मानिन्छ।
मुटुको चालमा गडबडी किन हुन्छ ?
कतिपयमा जन्मजात रुपमा नै मुटुको चालमा गडबडी हुनसक्छ। त्यस्तै लामो समयसम्म उच्च रक्तचाप हुँदा, हार्टअट्याक हुँदा, बाथ तथा मुटुसम्बन्धि अन्य रोगका कारण मुटुको चालमा गडबडी आउन सक्छ। त्यस्तै उमेर ढल्किँदै जाँदा पनि मुटुको चालमा गडबडी आउन सक्छ।
मुटुको चालमा गडबडी भएको कसरी थाहा पाउन सकिन्छ ?
मुटुको चाल कम हुँदा थकान महसुस हुने, रिंगटा लाग्ने, बेहोस हुन सक्ने, कतिपयको बेहोस भएकै अवस्थामा ज्यानै पनि जान सक्छ।
त्यस्तै मुटुको चाल बढी हुँदा एक्कासी मुटु चाँडै धड्किनु तथा ठीक हुनु, रिंगटा लाग्ने तथा ज्यान समेत जान सक्छ। यदि कसैलाई यी मध्ये कुनै पनि लक्षण देखिएमा समयमा नै चिकित्सकको सल्लाह अनुसार काम गर्नुपर्ने हुन्छ।
आँखा वरीपरी भुकम्म अध्याँरो हुने, रिंगाटा लाग्ने, अलिकति हिँड्दा नै थकान महसुस हुने, शरीर कमजोर हुने, सास फेर्न गाह्रो हुने, एक्कासी बेहोस हुने भएमा तुरुन्तै अस्पताल जानुपर्ने हुन्छ।
त्यस्तै मुटुको चाल एक्कासी बढेको अनुभव हुने, छाति दुख्ने भएमा पनि तुरुन्तै अस्पताल जानुपर्छ।
अस्पताल आइसकेपछि बिरामीको उपचार कसरी सुरु हुन्छ ?
कतिपय बिरामीहरुमा मुटुको चाल कम हुँदा समेत कुनै पनि लक्षण देखिँदैन। कतिपय त्यस्ता बिरामीलाई जाँच पश्चात् मात्रै गडबडी भएको थाहा पाउन सकिन्छ। मुटुको चाल कम हुने तथा खासै लक्षण नदेखिने भएमा धेरै बिरामीहरुलाई उपचारको आवश्यकता नपर्न पनि सक्छ। चाल भएर भविष्यमा मुटु नै बन्द हुने अवस्था आएमा त्यस्ता बिरामीको पेसमेकर राखेर उपचार गरिन्छ।
मुटुको चाल गडबडी हुँदा औषधिले उपचार गर्ने विधि भने छैन। भविष्यमा मुटु बन्द हुने जोखिम नभएका बिरामीको खासै उपचार गरिँदैन, यद्यपि बिरामीलाई निरन्तर फलोअपमा भने राखिन्छ।
मुटुको चाल बढी भएका धेरैे बिरामीहरुलाई भने दीर्घकालीन उपचार गरिन्छ। यस्ता बिरामीको गोडाबाट तार पसाएर मुटुको चालबारेको जानकारी लिने गरिन्छ।
मुटुको चाल सामान्य बाटोबाट नगई असामान्य बाटोबाट जाँदा चाल एक्कासी बढ्छ। मुटुको चाल असामान्य बाटोबाट गएको अवस्थामा हामीले असामान्य बाटोलाई जलाएर निष्क्रिय बनाई उपचार गरिन्छ। यस्तो उपचारका लागि बिरामीलाई बेहोस बनाउनु पर्दैन।
मुटुको चाल अत्याधिक बढी भएर त्यसले ज्यानकै जोखिम हुने अवस्था भएमा हामीले विशेष प्रकारको पेसमेकर राखी उपचार गर्छाैं। उमेर ढल्किदै जाँदा ‘साइनस नोड’ले मुटुको धड्कन कम निकाल्ने हुनाले मुटुको चाल कम हुँदै जान्छ।
मुटुको चाल गडबडी हुँदा पेसमेकरको प्रयोग अनिवार्य हो?
यदि मुटुको चालको गडबडीका कारण लक्षण देखिएको तथा ज्यानै जोखिम भएको अवस्थामा पेसमेकरको प्रयोग अनिवार्य नै हो।
मुटुको चाल गडबडीको उपचारमा प्रयोग हुने पेसमेकर के हो ?
पेसमेकर एक प्रकारको बिद्युतीय ब्याट्री हो। मानिसको ‘ब्युटी बोन’को दुई इन्च तल उक्त ब्याट्री राखिन्छ। उक्त स्थानबाट तार मुटुसम्म गएको हुन्छ।
जसले इन्भटरले जस्तै चाल प्राकृतिक रुपमा उत्पन्न हुँदा काम नगर्ने तथा शरीरको आवश्यकता भन्दा कम मात्रै उत्पादन हुँदा काम गर्छ। यसरी चाल कम मात्रै उत्पादन भएको अवस्थामा ब्याट्रीको सहायताले मुटु चल्छ।
पेसमेकरको प्रयोग गरी नेपालको कुन–कुन अस्पतालमा उपचार हुँदै आएको छ?
मुटुको चाल कम र बढी हुँदाको अवस्थामा भिन्न–भिन्नै प्रकारको उपचारको आवश्यकता पर्छ।
चाल गडबडीमा साधारण पेसमेकरको प्रयोग गरी गरिने उपचारका लागि काठमाडौं तथा काठमाडौं बाहिर पनि उपलब्ध छन्। साधारण पेसमेकरको प्रयोग हुने उपचारका लागि काठमाडौं नै आउनुपर्ने अवस्था छैन।
यद्यपि पेसमेकर एक तारे÷दुई तारे तथा तीन तारे पेसमेकर गरी ३ प्रकारका छन्। एक तारे÷दुई तारे साधारण खालका पेसमेकर हुन्। यस्ता पेसमेकरको प्रयोग भई गरिने उपचारका काठमाडौं तथा बाहिरका धेरै अस्पतालहरुमा समेत उपलब्ध छ।
तर मुटुको शक्ति कम हुँदा उपचारका क्रममा तीन तारे पेसमेकरको प्रयोग हुन्छ। यसका लागि मुटु रोग विशेषज्ञका अलाव भिन्नै प्रकारको दक्षता भएको जनशक्तिको आवश्यकता पर्छ। यस्ता जनशक्ति नेपालमा एकदमै कम छन्। अहिले यस्ता जनशक्ति काठमाडौंको ह्याम्स अस्पतालमा मात्रै छन्।
मुटुको चाल बढी भएको अवस्थामा इपी सिस्टमको माध्यमबाट उपचार गरिन्छ। जुन काठमाडौंको गंगालाल अस्पताल, ह्याम्स अस्पताल तथा विराटनगरको नोबल अस्पतालमा मात्रै उपलब्ध छ।
मुटुको चाल बढी हुँदा उपचार गर्ने दक्ष जनशक्ति समेत नेपालमा धेरै छैनन्। जटिल प्रकारको उपचारका लागि प्रयोग हुने मेसिन गंगालाल तथा ह्याम्स अस्पतालमा मात्रै उपलब्ध छ।
मुटुको चाल गडबडीमा पेसमेकरको प्रयोग हुँदा कति खर्च लाग्छ ?
एक तारे पेसमेकरको प्रयोग भई गरिने उपचारमा करिब १ लाख, दुई तारे राख्नुपर्दाे एकदेखि डेढ लाख तथा तीन तारे पेसमेकरको प्रयोग गरि उपचार गर्नुपर्दाे अवस्था अनुसार ५ देखि १० लाखसम्म खर्च हुनसक्छ।
मुटु रोगको उपचारका लागि सरकारी स्तरबाट सहुलियत पाउनु खुशीको कुरा हो। सरकारी अस्पतालमा १५ वर्षसम्मका बालबालिका तथा ७५ भन्दा माथिका नागरिकहरुको मुटुको उपचार निःशुल्क हुने व्यवस्था समेत छ।
यद्यपि निजी स्तरबाट सञ्चालित ह्याम्स अस्पतालले पनि विपन्न नागरिकहरुको उपचारमा सहुलियत दिँदै आएको छ। विपन्न सहुलियत मार्फत् ह्याम्स अस्पतालले मुटुको चाल बढी भएका धेरै बिरामीहरुलाई निःशुल्क उपचार सेवा समेत दिइसकेको छ।