काठमाडौं- थापाथलीमा रहेको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल महिला स्वास्थ्य सम्बन्धी केन्द्रीय विशिष्टकृत अस्पताल हो। २०१६ सालमा श्रीकृष्ण जन्माष्टमीको शुभासाइत पारेर अस्पताल स्थापना गरिएको थियो।
जम्मा ४० बेडबाट सुरु भएको अस्पतालले ६५ औं वर्ष पूरा गरेको छ । अस्पतालले भौतिक, संख्यात्मक र गुणात्मक विकास गर्दै गइरहेको छ । बेड संख्याको मात्रै हिसाब गर्ने हो भने ४ सय ८९ बेडबाट सेवा दिने अवस्थामा पुगेको छ।
प्रसुति सेवाका लागि उक्त अस्पताल भरोसाको केन्द्र बनेको छ। महिला र नवजात शिशुसँग सम्बन्धित उपचार सेवाका लागि पनि ठूलो संख्यामा सेवाग्राहीहरु पुग्ने गरेका छन्।
नेपाल सरकारको नवजात शिशु कार्यक्रम अन्तर्गतका सेवाहरु भइहाल्यो, आङ खस्ने महिलाहरुको पाठेघरको शल्यक्रिया, परिवार नियोजन सेवा, गर्भपतन सेवा लगायतका कार्यक्रमहरु समेत अस्पतालबाट सञ्चालित छन्। गाइनोकोलोजी सेवा दिने प्रमुख अस्पताल पनि यही भएको छ।
हरेक दिन यस अस्पतालको ओपिडीमा आउनेको संख्या कम्तिमा ८ सय रहेको छ। कहिलेकसो त एक हजार नाघ्ने गरेको अस्पतालको रेकर्डले दर्शाउँछ । गत वर्ष मात्रै १ लाख ९४ हजार बिरामीहरुलाई यस अस्पतालबाट ओपिडी सेवा लिएको तथ्यांक छ ।
अस्पतालले हरेक दिन ७० देखी ८० जनालाई आकस्मिक सेवा प्रदान गर्दै आइरहेको छ। गतवर्ष मात्रै यस अस्पतालबाट २२ हजार ३ सय ७९ ले प्रसुति सेवा लिएका छन्। तीमध्ये १० हजार भन्दा बढीले शल्यक्रियामार्फत् सन्तान सुख प्राप्त गरेका छन् ।
अस्पतालमा विविध कारणले बच्चा जन्माउन असमर्थहरुले समे सेवा लिएका छन्। ओपिडीमा करिब ९ हजारले आफ्नो बच्चा नबस्नुको कारण पहिचान गर्न चिकित्सकसँग परामर्श लिएको देखिन्छ भने २० जनाले आइभिएफ सेवा मार्फत् बच्चा जन्माएका छन्।
अस्पतालको निसन्तान सेवालाई अझै प्रभावकारी र व्यवस्थित बनाउनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले इक्सी मेसिन प्रदान गरेको छ । आगामी दिनमा आईभिएफ सेवालाई थप व्यवस्थित बनाउने योजनामा अस्पताल रहेको अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारी बताउँछन्।
सेवाग्राहीको सहजताका लागि अस्पतालले अनलाइन टिकट सेवा र डिजिटल भुक्तानीको व्यवस्था गरेको छ। अस्पतालमा सेवाग्राहीको भिडभाडलाई व्यवस्थित गर्नका लागि अस्पतालमा तीनवटा काउन्टर थपिएको छ ।
अनलाइन टिकट काट्ने, बालबालिका, अपांग तथा ज्येष्ठ नागरिकलाई छुट्टै काउन्टरको व्यवस्था गरिएको डा अधिकारी बताउँछन् । त्यसैगरी अस्पतालले फार्मेसी तथा बिलिङ काउन्टर पनि थप गरेको छ ।
बच्चा गर्भमा नै बिकलाङ्ग भए नभएको वा मुटुमा समस्या भए नभएको पत्ता लगाउनका लागि अस्पताल गत जेठ देखि गर्भवतीहरुका लागि मुटुको इको कार्डियोग्राफी सेवा सुरु गरेको छ। यसअघि उक्त सेवाका लागि अन्य अस्पताल जानुपर्ने तथा महंगोमा पर्ने अवस्थाको अन्त्य भएको डा अधिकारीको भनाइ छ।
अस्पतालमा नेपालकै पहिलो नियोन्याटल स्क्रिनिङ कार्यक्रम समेत सञ्चालनमा रहेको छ। विं सं २०७९ सालदेखि अस्पतालले नेपालकै पहिलोपटक ह्युमन मिल्क बैंक सञ्चालनमा ल्याएको छ । अस्पतालको एनआईसियूमा भर्ना भएका तथा अन्य अस्पतालमा भएका बच्चाहरुले आमाको दूध खान पाइरहेका छन् । आर्थिक वर्ष २०८०/८१ मा १ हजार १ सय ६१ जनाले मिल्क बैंकमा दूध दान गरेका थिए । जसमा ७ सय ९८ लिटर दूध संकलन भएको थियो । मिल्क बैंकबाट १६ सय ६३ नवजात शिशुहरुले आमाको दूध पाएका छन् ।
कुपन्डोलको नयाँ भवनबाट अस्पतालले गत असार १६ गतेबाट सेवा दिन सुरु गरेको छ । निसन्तान ओपिडी, आइभिएफ ,परिवार नियोजन तथा गर्भपतन सेवा उक्त भवनबाट दिन थालिएको छ ।
अस्पतालको भवन निक्कै पुरानो भएकाले सेवा विस्तारमा चुनौती थपिएको छ। नयाँ भवन बनाउनका लागि स्वास्थ्य मन्त्रालयले समन्वयकारी भूमिका खेल्न सके सेवालाई थप व्यस्थित र प्रभावकारी बनाउन सकिने डा अधिकारी बताउँछन्।
अस्पतालमा लामो समयदेखि विकास समितीका कर्मचारीको व्यवस्थापन हुन नसकेका कारण कर्मचारी व्यवस्थापन पनि सेवा प्रवाहमा चुनौतिको रुपमा देखिएको डा अधिकारीको भनाइ छ । नेपालल सरकारका ६८ जना मात्रै कर्मचारी रहेका छन् । स्वास्थ्य मन्त्रालयले समयमा नै ओएनएम सर्वे गरिदिएर कर्मचारी व्यवस्था गरिदिएमा सेवा प्रवाह सहज हुने डा अधिकारीले बताए।
अस्पतालले ओएनए सर्भे गरी स्वास्थ्य मन्त्रालयमा बुझाइसकेको उनले बताए। मन्त्रालयले तुरुन्तै पास गरेर लागू गर्न सकेमा प्रसुति अस्पताल आमजनको सेवा अझै अब्बल साविता हुने उनको धारणा छ। आगामी वर्षहरुमा स्वास्थ्य सेवालाई थप प्रभावकारी, गुणस्तरीय र सहज बनाउने कर्ममा अस्पताल अग्रसर रहेको उनी बताउँछन्।