काठमाडौं– नेपालको स्वास्थ्य क्षेत्रमा काम गरिरहेका निक साइमन्स इन्स्टिच्युटका संस्थापक जिम साइमन्सको केही दिनअघि निधन भयो।
जिम साइमन्सले आफ्नो छोराको सपना पूरा गर्न स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर नेपालमा निक साइमन्स इन्स्टिच्युट मार्फत नेपालको स्वास्थ्य क्षेत्रमा काम गर्दै आएका थिए।
उनले नेपालको ग्रामीण क्षेत्रका डाक्टर नपुगेका ठाउँमा एमडिजिपी डाक्टर पठाउने, अस्पतालको सेवा विस्तार र गुणस्तरका लागि आफ्नै स्रोतको बजेट खर्चिने गरेका थिए।
तर उनको निधनपछि नेपालको ग्रामीण स्वास्थ्य सेवाको क्षेत्रमा काम गरिरहेको संस्था निक साइमन्स इन्स्टिच्युटको भिवष्य के हुन्छ? नेपालमा संस्थाले नियमित रुपमा काम गरिरहन्छ कि गर्दैन? भन्ने विषयमा धेरैको चासो देखिन्छ।
स्वास्थ्यखबरले यही जिज्ञासा निक साइमन्स इन्स्टिच्युटका वरिष्ठ कार्यक्रम प्रबन्धक डा कासिम शाहलाई गरेको छ। जिज्ञासाको जवाफ दिँदै डा शाहले भने ‘जिम साइमन्सको मृत्युपछि पनि नेपालमा चलिरहेको कार्यक्रम आगामी दिनमा पन िनियमित रुपमा अगाडि बढीरहन्छ।’
नेपालमा निक साइमन्स फाउण्डेसनबाट सहयोग प्राप्त भइरहेको बताउँदै डा शाहले अबका दिनमा पनि सोही फाउण्डेसन मार्फत नियमित रुपमा सहयोग प्राप्त भइरहने जानकारी दिए।
उनले भने, ‘निक साइमन्सको एउटा निश्चित फन्ड छ, उहाँहरुले व्यवस्थापन गर्दिनुभएको छ। त्यो सुनिश्चित जस्तै छ, नेपालका लागि बनाइएको निक साइमन्स फाउण्डेसन छ। त्यहीँबाट नेपाललाई सहयोग प्राप्त भइरहेको छ। उहाँको मृत्युपछि पनि उहाँको परिवारले त्यो सहयोगलाई निरन्तरता नै दिनुहुनेछ।’
डा शाहका अनुसार निक साइमन्स इन्स्टिच्युटको बोर्डमा रहेका सदस्यहरुको निर्णय अनुसार नै नेपालमा कार्यक्रम चल्दै आएको छ। जिम साइमन्सको मृत्यु भएपछि पनि सोही बोर्डको सदस्यहरुको निर्णय अनुसार नै कार्यक्रम चलिरहने छ। निक साइमन्स इन्स्टिच्युटले नेपालमा वार्षिक रुपमा ८० करोडदेखि एक सय करोडसम्म बजेट खर्चिदै आएको छ।
नेपालको स्वास्थ्यमा योगदान गरिरहेको निक साइमन्स इन्स्टिच्युटका संस्थापक जिमको ८६ वर्षको उमेरमा एक साताअघि निधन भएको थियो। गणित विज्ञ तथा अमेरिकाकै धनी मध्येका एक साइमन्सको मृत्यु के कारणले भएको हो भन्ने खुलाइएको छैन। उनको अमेरिकाको म्यानहट्टनस्थित आफ्नै घरमा निधन भएको हो।
जिम आफ्नो दिवंगत छोराको सपना पूरा गर्न नेपाल आएका थिए। दिवंगत छोरा निक साइमन्सको चाहना अनुसार उनले नेपालको स्वास्य क्षेत्रमा सहयोग गर्दै आइरहेका थिए। सन् २००२ मा नेपाल आएका निकले आफ्नी आमासँग नेपालमा सेवा गर्ने चाहना रहेको सुनाएका थिए। सन् २००३ मा इन्डोनेसियामा पौडी खेल्ने क्रममा डुबेर निकको मृत्यु भएको थियो।