काठमाडौं– मातृ तथा नवजात शिशु उपचारको केन्द्रीय अस्पताल हो, थापाथलीमा रहेको परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल। स्वास्थ्य मन्त्रालयबाट ४८० शय्या स्वीकृत रहेको प्रसूति गृहले हाल ५१५ शय्या सञ्चालन गरिरहेको छ।
अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारीका अनुसार अस्पतालले आकस्मिक सेवा लिन आउने बिरामीलाई निःशुल्क सेवा दिइरहेको छ। अस्पतालमा ९० प्रतिशत शय्या निःशुल्क रहेको डा अधिकारीले जानकारी दिए।
अस्पतालमा हाल सुत्केरी सेवा, शिशुको उपचार सेवा, महिलाको पाठेघर खस्ने समस्याको उपचार, परिवार नियोजन, सुरक्षित गर्भपतन सेवा, पाठेघरको क्यान्सरको उपचार, निसन्तानपनको उपचार लगायतका सेवाहरु सञ्चालनमा छन्।
अस्पतालबाट हाल दैनिक ओपीडीमा ८०० देखि एक हजार व्यक्ति उपचार तथा नियमित स्वास्थ्य जाँचका लागि आउने गर्छन्। ती मध्ये करिब ५० प्रतिशत गर्भवती स्वास्थ्य जाँच तथा उपचारका लागि आउने गर्छन्।
यस्तै, दैनिक ७० देखि १०० जना बिरामी आकस्मिक अवस्थामा आइपुगेका छन्। आकस्मिक सेवालाई व्यवस्थित गर्न ट्रायजको व्यवस्था गरि बिरामीको अवस्था अनुसार रेड, एल्लो र ग्रिन जोनको व्यवस्था गरिएको अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारीको भनाइ छ।
सेवा सहज बनाउन अनलाइन टिकटको सेवा सुरु गर्नुका साथै टिकट काउन्टर, विलिङ काउन्टर तथा फार्मेसीहरु थप गरिएको डा अधिकारीले जानकारी दिए।
सरकारी दरबन्दीको न्यून जनशक्ति भएकाले अस्पतालले विकास समिति र करारका कर्मचारी थप गरेर अस्पतालमा सेवा सञ्चालन भइरहेको डा अधिकारीले बताए।
प्रसूति गृहमा निसन्तापनको उपचारका लागि इन भिट्रो फर्टिलाइजेसन (आईभीएफ) सेवा पनि छ। अस्पतालले यसको सेवा शुल्क ३५ हजार लिने गरेको छ। प्रसूति गृहबाट सञ्चालन भइरहेको आईभीएफ सेवा लिँदा २ लाखसम्म खर्च लाग्ने डा अधिकारीले जानकारी दिए।
तर २ लाखसम्म पनि खर्च गर्न सक्ने आर्थिक अवस्था नभएका व्यक्तिहरु उपचारका लागि आउने गरेकाले सरकारले यो सेवालाई स्वास्थ्य बीमामा पनि समेट्न आवश्यक रहेको उनले बताए।
पछिल्लो समय ढिला विवाह तथा अन्य विभिन्न कारणले प्रजनन् समस्या बढ्दै गएकाले यसमा पनि सोच्नुपर्ने समय आएको डा अधिकारीको भनाइ छ।
परिवार नियोजन कार्यक्रममा सुरक्षित गर्भपतन सेवालाई प्राथमिकता दिँदा बढ्दै गएको निसन्तानपनको समस्यामा पनि सोच्नुपर्ने उनको धारणा छ।
उनले सातै प्रदेशमा निसन्तापनको उपचार केन्द्र (आईभीएफ सेन्टर) हुनुपर्ने र जिल्ला अस्पतालहरुमा पनि सामान्य खालको निसन्तापनको उपचार केन्द्र हुनुपर्ने बताए। ९० प्रतिशत व्यक्तिको निसन्तानपनको समस्या सामान्य उपचारबाटै समाधान हुन सक्ने भएकाले निसन्तानपनको सेवा जिल्ला अस्पतालमा विस्तार गर्नुपर्ने डा अधिकारीको धारणा छ।
प्रसूति तथा स्त्री रोग अस्पतालबाट हाल कसरी सेवा सञ्चालन भइरहेको छ? बिरामीले सहज रुपमा सेवा पाएका छन् की छैनन्? के कस्ता सेवा नि:शुल्क छन्? लगायतका विषयमा डा अधिकारीसँग स्वास्थ्यखबरकी रिता लम्सालले भिडियो कुराकानी गरेकी छिन्।
हेरौं डाक्टर श्रीप्रसाद अधिकारीसँगको भिडियो वार्ता