डा काजन रानाभाट इन्टरभेन्सन न्युरो रेडियोलोजिस्टको रुपमा ५ वर्षदेखि विशिष्टकृत सेवामा संलग्न छन्। यो अवधिमा डा काजनले झन्डै एक हजार बिरामीको इन्टरभेन्सन रेडियोलोजीको भास्कुलर र ननभास्कुलर विधिबाट उपचार गरेका छन्। उनले बीएण्डबी र किष्ट अस्पतालमा हरेक दिन बिरामीको उपचार गरिरहेका हुन्छन्। डा रानाभाटसँग इन्टरभेन्सन रेडियोलोजीको विषयमा केन्द्रीत भएर रिता लम्सालले गरेको कुराकानीः
इन्टरभेन्सन रेडियोलोजी भनेको के हो?
रेडियोजोली दुई भागमा बाडिएको हुन्छ। एउटा डाइग्नोस्टिक अर्को इन्टरभेन्सन। डाइग्नोस्टिक रेडियोलोजी भनेको निदान गर्ने विधा भयो। जस्तै एक्सरे, अल्ट्रासाउण्ड, सिटी स्क्यान, एमआरआई, फ्लोरोस्कोपी मेसिन, पेट स्क्यान लगायतका रेडियोलोजीकल उपकरहरुबाट रोगको पत्ता लगाउने डाइग्नोस्टिक पार्ट भयो।
यही रेडियोलोजीकल उपकरणको सहायताबाट बिरामीको शरीरभित्र प्रवेश गरेर कुनै पनि रोगको उपचार गर्ने प्रक्रिया इन्टरभेन्सन रेडियोलोजी हो।
इन्टरभेन्सन रेडियोलोजीमा कसरी उपचार गरिन्छ?
सामान्य भाषामा बुझाउनु पर्दा इन्टरभेन्सन रेडियोलोजी पनि दुई भागमा छुट्याइएको हुन्छ। एउटा भास्कुलर इन्टरभेन्सन भनिन्छ। यसमा रगतको नलीबाट शरीरभित्र प्रवेश गरेर रोगको उपचार गर्ने हो। अर्को नन् भास्कुलर इन्टरभेन्सन हुन्छ। यसमा चिकित्सा विधामा प्रयोग गरिने सियो, तारहरु, पाइपहरु हुन्छ। यो शरीर भित्र छिराएर गरिने उपचार नन् भास्कुलर इन्टरभेन्सन उपचार विधि हो। यो दुवै विधिबाट उपचार गर्दा शरीरमा सानो भन्दा सानो दुई वा तीन एमएमको प्वाल बनाएर रेडियोलोजिकल उपकरण तथा सामग्री अल्ट्रा साउण्ड, सिटी स्क्यान, फ्लोरोस्कोपी मेसिन, क्याथल्याब लगायतका आवश्यकता अनुसारको मेसिनको सहायताबाट यसको गाइडेन्सबाट शरीरभित्र प्रवेश गरिन्छ।
यसका लागि हामीसँग विभिन्न प्रकारका निडलहरु हुन्छन्। निडललाई छिराउन डाइड वायरहरु हुन्छ। त्यसबाट हामीले पाइपहरु छिराउछौं। भेसल भित्र जान क्याथेटर पनि हुन्छ। क्याथेटर पनि विभिन्न किसिमका हुन्छन्। यी प्रविधिको सहायताले हामी खुट्टादेखि टाउकोसम्म पुग्छौं।
इन्टरभेन्सन रेडियोलोजीमा कस्ता कस्ता रोग तथा समस्याको उपचार गर्न सकिन्छ?
इन्टरभेन्सन रेडियोलोजीबाट धेरै रोगहरुको उपचार गरिन्छ। मस्तिष्कघात अर्थात स्ट्रोकको उपचारको कुरा गरौं। मस्तिष्कको रक्तसञ्चार अचानक बन्द हुने समस्यामा ब्रेनमा रगत जमेको हुन्छ। यो समस्यामा हामीले खुट्टा वा हातको रगतको थेग्लो नलीबाट ब्रेनसम्म पुगेर त्यो जमेको रगत निकाल्न सकिन्छ। यसलाई चिकित्सा भाषामा मेकानिकल थ्रोमेक्टोमी भनिन्छ। यसरी रक्तसञ्चार पुनस्र्थापना गर्न सकिन्छ। यस्तै अर्को खालको मस्तिष्कघात भनेको रगतको नली आफैं फुटेर रक्तश्राव हुने समस्या जसलाई ब्रेन हेमरेज भनिन्छ। व्रेन हेमरेजमा पनि इन्टरभेन्सन रेडियोलोजीबाट उपचार गरिन्छ। यो समस्यामा पनि रगतको नली हुँदै रक्तश्राव भएको ठाउँसम्म पुगेर भित्रबाट त्यसलाई टालिदिन्छौं।
यदी इन्टरभेन्सन रेडियोलोजीबाट उपचार नगराउने हो भने शल्यक्रिया विधिबाट खप्पर खोलेर यी समस्याको उपचार गराउनुपर्ने हुन्छ। न्युरो इन्टरभेन्स विधिबाट सानो प्वालबाटै त्यहाँ पुगेर उपचार गर्न सकिन्छ।
यस्तै मुखबाट रगत आउने, खकारमा रगत आउने छातीको विभिन्न समस्या वा रोगहरु हुन्छ। त्यहाँ पनि रगतको फोकुन्डोहरु हुनसक्छ। रक्तनली फुटेको हुनसक्छ। त्यसमा पनि यो विधिबाट उपचार गरेर टालिदिन्छौं। यसको लागि छाती खोलेर ठूलो अप्रेसन गर्नुपर्ने हुँदैन।
यस्तै कलेजोको विभिन्न रोगहरु छन्। यसमा पनि रगतको नलीबाट वा डाइरेक्ट निडलहरु छिराएर उपचार गर्न सकिन्छ। जस्तो कलेजको क्यान्सर भएको बिरामी जसको अप्रेसन गर्न मिल्दैन भने बिरामीको बाहिरी छालाबाट चिकित्सा प्रविधिमा प्रयोग हुने रड छिराएर क्यान्सर भएको भागलाई पगाल्ने वा डढाउने गर्न सकिन्छ।
पाठेघर नै निकाल्नुपर्ने अवस्थाको पाठेघरमा मासु पलाउने समस्यामा रगतको नलीबाट गएर ट्युमरले पाइरहेको रक्तसञ्चार बन्द गरिदिन सकिन्छ। यो विधिले ट्युमर सुकेर जान्छ।
के इन्टरभेन्सन रेडियोलोजीलाई शल्यक्रियाको विकल्पको रुपमा लिन सकिन्छ?
इन्टरभेन्सन रेडियोलोजीलाई शल्यक्रियाको विकल्पको रुपमा लिन सकिन्छ। यो विधिको उपचार पनि एक प्रकारको सर्जरी नै हो। यो विधिबाट उपचारमा जाँदा सर्जरी गर्न पर्ने किसिमका थुप्रै रोगहरुको उपचार सम्भव छ। कुनै कुनै केसहरुमा इन्टरभेन्सन रेडियोलोजी वा कन्भेन्सन सर्जरीबाट गर्ने कुरा परिपुरक हुन जान्छ। जस्तो शरीरमा कुनै ठूलो ट्युमर छ भने इन्टरभेन्सन रेडियोलोजी विधिबाट पहिला ट्युमरलाई सानो बनाइदिने। रक्तसञ्चार कम गराइदिने त्यसपछि सर्जरीमा जाने गर्न सकिन्छ। कतिपय समस्यामा यसैबाट उपचार गर्न सकिन्छ।
इन्टरभेन्सन रेडियोलोजीको उपचार प्रक्रिया कसले गर्छ?
यसमा काम गर्ने विशेषज्ञ चिकित्सक भनेको एमडि रेडियोलोजीको अध्ययन पुरा गरेपछि इन्टरभेन्सन रेडियोलोजीको तालिम लिनुपर्छ। त्यसपछि मात्र यसमा काम गर्न सकिन्छ।
इन्टरभेन्स रेडियोलोजीको प्रक्रियामा के–के हुन्छ?
प्रयाजसो बिरामीलाई बेहोस नै नगराई पनि उपचार गर्न सकिन्छ। बिरामीको शरीरमा सानो मात्र प्वाल बनाएर उपचार गर्ने हो। जस्तो खुट्टाको रगतको नलीमा त्यहाँ मात्र प्वाल बनाउन रगतको नली माथिको अलिकति छालालाई मात्र लठ्याउछौं। जसले गर्दा बिरामीलाई दुख्दैन। खुट्टाको नलीबाट तारहरु छिराएपछि उपकरणको सहायताले उपचार गर्ने हो।
अर्को भास्कुलर इन्टरभेन्सनमा क्याथल्याबको सेटअपमा गर्छौं। त्यहाँ फ्रोलो मेसिनको सहायताले जहाँ टार्गेट हो त्यहाँसम्म पुग्न सकिन्छ। यसमा सिथ भन्ने पाइप हुन्छ। त्यसमा क्याथेटर लिएर जान्छौं। कहिलेकाँही उपचार गर्दा एउटा मोटो क्याथेटर भित्र अर्को पातलो क्याथेटर त्यो भित्र पनि अझै पातलो क्याथेटर पनि बनाउने सिस्टम हुन्छ। त्यही सिस्टमलाई रोगसम्म लगेर त्यहाँ नशा खोल्नुपर्ने वा बन्द गर्नुपर्ने कस्तो अवस्था छ हेरेर सोही अनुसार उपचार गर्छौं।
इन्टरभेन्सन रेडियोलोजी प्रक्रियाको फाइदाहरु के के हुन्?
यसको धेरै फाइदाहरु छन्। सुक्ष्म प्वालहरु बनाएर रोगको उपचार गरिने भएकाले एक त सर्जरीको प्रक्रियामा जानै परेन। अस्पतालको बसाइ नै थोरै दिन हुन्छ। आज इन्टरभेन्सन रेडियोलोजी प्रक्रियाबाट उपचार गरेको बिरामी भोलिपल्ट घर जान सक्छन्। लामो समय अस्पताल बस्नु पर्दैन। अस्पतालमा हुने संक्रमणको जोखिम कम हुन्छ। रक्तश्रावको जोखिम भएन। रगत चढाउनुपर्ने अवस्था आउदैन। बिरामीका लागि धेरै फाइदा छन्।
इन्टरभेन्सन रेडियोलोजीको प्रक्रिया कसले गर्नु हुँदैन कस्ता बिरामीले गर्नु हुँदैन?
सबै रोगहरु इन्टरभेन्सन रेडियोलोजीको प्रक्रियाबाट गर्न सकिन्छ भन्ने पनि हुँदैन। केही कुराहरु छन् जसलाई शरीर चिरेर नै उपचार गर्नुपर्ने अवस्था हुन्छ। जस्तो एपेन्डिसाइटिस भएको बिरामीको एपेन्डिक्स काटेर निकाल्नु नै पर्छ। पित्त थैलीमा हुने ढुंगाहरुको लागि पनि इन्टरभेन्सन रेडियोलोजीको प्रक्रियाले उपचार गर्न सम्भव हुँदैन। तर एपेन्डिक्स फुटेर त्यहा पिप जमेको छ भने चाँही पाइप घुसाएर पिप निकाल्न सकिन्छ। कतिपय कुरामा इन्टरभेन्सन रेडियोलोजी र सर्जरी एकअर्कामा परिपुरक हो। कतिपयमा सर्जरी नै गर्नुपर्ने हुन्छ। कतिपय रोगमा इन्टरभेन्सन भास्कुलर विधिबाटै उपचार हुन्छ।
यो प्रक्रियाबाट गरिने उपचारमा कति खर्च र समय लाग्छ?
यो प्रक्रियाबाट उपचार गर्ने समय केस हेरेर निर्धारण हुन्छ। कुनै कुनै केसमा १५ वा २० मिनेटमै पनि सकिन्छ भने कुनै केसमा ४, ५ घण्टासम्म पनि लाग्नसक्छ। खर्चको कुरा गर्नुपर्दा भास्कुलर इन्टरभेन्सनमा प्रयोग हुने प्रविधि र सामग्रीहरु अलिकति महंगो नै हुन्छ। तर अस्पतालको बसाइ, आइसीयुको खर्च लगायतका अरु कुराहरुमा हुने खर्चको पनि हिसाबकिताब गर्ने हो भने यो प्रक्रियाको उपचार पनि सर्जरीको तुलनामा धेरै खर्चिलो होइन। तर सर्जरीको मात्र खर्च हिसाब गर्दा त सर्जरीमा नै कम हुन्छ।
बिना चिरफार उपचार गर्ने यो प्रक्रियाको बारेमा किन धेरैलाई जानकारी नभएको होला?
यो नयाँ फिल्ड हो। नेपालमा इन्टरभेन्सन रेडियोलोजी अहिले नयाँ बिषय नै हो। यो विधामा काम गर्ने विशेषज्ञ चिकित्सक औंलामै गन्न मिल्ने छ। तर अहिले यो विधा पढ्नेहरु बढेका छन्। सबै अस्पतालमा इन्टरभेसन रेडियोलोजीको सेवा पनि छैन। सबै अस्पतालमा क्याथ ल्याबको सुविधा छैन। यसको सेटअप नै महंगो पनि छ। त्यसैले पनि अहिले हामी यो विधाको विषयमा जानकारी दिने हिसाबले सचेतनामा पनि लागिरहेका छौं। विश्वभर नै पनि इन्टरभेन्सन रेडियोलोजी अरु विधाभन्दा नयाँ नै हो। तर विकसित देशमा इन्टरभेन्सन रेडियोलोजीबाट उपचार सेवा सुरु भएको धेरै नै भयो।
इन्टरभेन्सन रेडियोलोजी सेवालाई देशव्यापी विस्तार गर्न सरकारले कस्तो कदम चाल्नुपर्छ?
इन्टरभेन्सन रेडियोलोजीमा केही कुराहरु छन्। यसमा प्रयोग हुने प्रविधिहरु एकदमै महंगो छ। यसमा सरकारले कर छुट गर्ने वा खरिदमा सहुलियतका लागि पहल भयो भने धेरैले यो विधिबाट सेवा पाउन सक्ने थिए।
इन्टरभेन्सन रेडियोलोजीमा प्रयोग हुने सामान नै महंगो हुने भएपछि उपचार पनि महंगो हुने भयो। उपचार महंगो भएपछि सर्वसाधारण जनताको पहुँचमा पुग्न समस्या भयो। त्यसैले उपचार शुल्कमा सहुलियतका लागि सरकारले पनि यो विधिको उपचारमा सहुलियतको पहल गर्न आवश्यक छ। अर्को स्वास्थ्य बीमा कार्यक्रमबाट पाउने सुविधाले पनि यो विधिको उपचार गराउन मुस्किल छ। सरकारी अस्पतालहरुबाट यो विधिको सेवा उपलब्ध गराउन क्याथ ल्याब सेवाहरु विस्तार गर्ने। जनशक्तिलाई यो विधाका लागि तालिमहरु दिने व्यवस्था मिलाउनुपर्छ।