एउटै क्यान्सरको उपचारका लागि अनेक उपचार विधिहरुको प्रयोग हुने गरेका छन्। क्यान्सर उपचारमा रेडियोथेरापी, सर्जरी, सिस्टमिक थेरापी जस्ता विधिहरुको प्रयोग हुँदै आइरहेको पाइन्छ। अहिले क्यान्सरमा कार्टिसेल उपचार विधि पनि आएको छ तर नेपालमा अझै अभ्यास सुरु भएको छैन। नेपालका क्यान्सर उपचारका लागि प्रयोग हुँदै आएका उपचार विधिका बारेमा काठमाडौं क्यान्सर सेन्टरका अध्यक्ष तथा क्यान्सर रोग विशेषज्ञ डा सीमित सापकोटासँग स्वास्थ्यखबरका लागि लक्ष्मी चौलागाईंले गरेको कुराकानीको अंशः
नेपालमा बढी मात्रामा देखिएका क्यान्सरहरु कुन–कुन हुन्?
नेपालमा बढी मात्रामा फोक्सोको क्यान्सरका बिरामीहरु रहेका छन्। महिलाहरुको हकमा कुरा गर्नुपर्दा भने पाठेघरको मुखको क्यान्सर बढी मात्रामा देखिएको छ। त्यस बाहेक अन्य मुलुक भन्दा नेपालमा फरक रुपमा मुख तथा घाँटीको क्यान्सर देखिएको छ।
क्यान्सरका बिरामीहरुको उपचारका लागि के–कस्ता विधिहरुको प्रयोग हुँदै आएका छन्?
क्यान्सर बिरामीको उपचारका लागि मुख्यतया ३ प्रकारका विधिहरुको प्रयोग हुने गरेको छ। जसमा रेडियोथेरापी, सर्जरी, सिस्टमिक थेरापी जस्ता विधिहरुको प्रयोग हुँदै आइरहेका छन्। पहिले केमोथेरापी मात्रै हुनेमा आजकाल टार्गेडेड तथा इम्युनोथेरापी समेत हुने गरेको पाइन्छ। नेपालमा पनि क्यान्सर उपचारमा यी तीनवटा विधिहरुको प्रयोग हुने गरेको पाइन्छ। क्यान्सरको प्रकृति तथा स्टेजका आधारमा उपचार विधि निर्धारण गरिन्छ।
क्यान्सरको उपचारमा प्रयोग हुने केमोथेरोपी के हो?
केमोथेरापी क्यान्सर सेललाई लक्षित गर्ने एक प्रकारको औषधि हो। जसरी इन्फेक्सन मार्नका लागि एन्टी बायोटिकको प्रयोग हुन्छ, त्यसरी नै क्यान्सर सेललाई मार्नका लागि केमोथेरापीको प्रयोग हुने गर्छ। इन्जेक्सनको माध्यमबाट केमो दिएर विकास भइरहेका क्यान्सर सेलहरुलाई मार्नका लागि केमोथेरापीले सहयोग गर्छ।
कुन स्टेजका कस्ता बिरामीहरुमा क्यान्सरको केमोथेरापी विधिको प्रयोग हुने गर्छ?
आजभोलि एकै प्रकारकको क्यान्सर उपचारका लागि समेत विविध प्रकारका उपचार विधिहरुको प्रयोग गर्ने गरिन्छ।
एकै खालको क्यान्सर निको पार्नका लागि समेत शल्यक्रिया, केमोथेरापी तथा रेडियोथेरापीको समेत प्रयोग गर्नुपर्ने हुनसक्छ। कतिपय क्यान्सरहरु केमोथेरापीले मात्रै निको हुन सक्छन् भने कतिपयमा केमोथेरापी सँगै रेडियोथेरापीको समेत प्रयोग गर्नुपर्ने हुन्छ।
सामान्यतया रक्त क्यान्सर केमोथेरापीले मात्रै पनि निको हुन सक्छ। आजभोलि धेरैजसो क्यान्सरहरुमा धेरै प्रकारका उपचार विधिहरुको प्रयोग हुने गरेको छ।
क्यान्सर उपचारमा प्रयोग हुने केमोथेरापी विधिका फाइदा तथा बेफाइदा के –के छन्?
हरेक उपचारका केही न केही साइट इफेक्ट हुने गर्छन्। यद्यपि कुनै विधिले बढी साइट इफेक्ट गर्छन् त कुनैले कम।
उपचार विधिको प्रयोग गर्नु अगाडि त्यसबाट हुने फाइदा वा बेफाइदाका बारेमा तौलिनु पर्ने हुन्छ। केमोथेरापीका कारण सामान्यतया खाना खान मन नलाग्ने, वाकवाकी हुने,रिगँटा लाग्ने जस्ता समस्या देखिन सक्छन्। यद्यपि कुनै पनि उपचार विधिको प्रयोग हुँदा त्यसका लागि रहेका विकल्पका बारेमा समेत चिकित्सकले सधै सोच्ने गर्छन्। आजभोली फरक–फरक उपचार विधिको विकासका कारण केमोथेरापीको साइट इफेक्टहरु पनि न्यून मात्रामा रहेका छन्।
केमोथेरापी कति प्रकारका हुन्छन्?
आजभोलि केमोथेरापी सँगसँगै टार्गेडेड तथा इम्युनोथेरापीको समेत प्रयोग हुने गरेको पाइन्छ। केमोथेरापीमा क्यान्सर प्रभावित तथा छिटो बढ्ने सेलहरुलाई लक्षित गरी उपचार गरिन्छ। कतिपय क्यान्सरहरुका लागि टार्गेडेड थेरापीको समेत प्रयोग हुने गर्छ। यद्यपि पछिल्लो समय अत्याधुनिक उपचार विधिका रुपमा इम्युनोथेरापी विकास भएको छ।केमोथेरापी तथा टार्गेडेड थेरापीले क्यान्सर सेललाई लक्षित गरी उपचार गर्छ भने इम्युनोथेरापीले मानव शरीरको प्रतिरक्षा प्रणालीलाई लक्षित उपचार गर्छ। क्यान्सर सेलले विस्थापित गरेको मानव शरीरको प्रतिरक्षा प्रणालीलाई विस्थापन हुन रोकेर क्यान्सर सेललाई मार्नका लागि इम्युनोथेरापी विधिले काम गर्छ।
उपचार विधि अनुसार क्यान्सर उपचारमा लाग्ने शुल्कमा के–कस्तो फरक पाउन सकिन्छ?
शुल्क भन्दा पनि कुन क्यान्सर उपचारका लागि कुन विधिको प्रयोग गर्ने भन्ने महत्वपूर्ण हुन्छ। प्रायः केमोथेरापी जुनसुकै क्यान्सरका लागि प्रयोग गरिन्छ भने टार्गेडेड थेरापी लक्षित रुपमा मात्रै प्रयोग हुन्छ। त्यस्तै इम्युनोथेरापी विधि पनि निश्चित अवस्थामा मात्रै प्रयोग हुन्छ। पहिलो उपचार विधिले काम गर्छ या गर्र्दैन भन्ने महत्वपूर्ण हुने गर्छ। त्यस्तै उपचार विधि जति नयाँ तथा अत्याधुनिक भयो त्यतिनै महंगो पर्नु पनि स्वभाविक नै हो। केमोथेरापीको कुरा गर्नुपर्दा सस्तोमा ५० रुपैयाँदेखि लिएर लाखौंसम्म पनि पर्न सक्छ। पछिल्लो समयमा इम्युनोथेरापीलाई क्यान्सर उपचारको महंगो उपचार विधिका रुपमा लिइन्छ। यसका लागि लाखौं रुपैयाँसम्म खर्च हुने गर्छ।
हर्माेन थेरापी क्यान्सर उपचार विधि कस्तो प्रकारको विधि हो?
मानव शरीरमा भएका कतिपय हर्माेनहरुले क्यान्सर लाग्नमा सहयोग गर्छ। यस्तो अवस्थामा क्यान्सर उपचारमा हर्माेन थेरापी उपचार विधि समेत प्रयोग हुने गर्छ। जस्तै स्तन तथा प्रोस्टेट क्यान्सर लाग्नका लागि हर्माेनको भूमिका हुन सक्छ। यस्तो अवस्थामा उपचारका क्रममा हामीले हर्माेनलाई ब्लक गर्छौं, जसकारण क्यान्सर फर्केने सम्भावना कम हुने गर्छ। स्तन तथा प्रोस्टेट क्यान्सरमा बढी मात्रामा हर्माेन थेरापी विधिको प्रयोग हुन्छ।
क्यान्सर उपचारमा प्रयोग हुने स्टिम सेल ट्रान्सप्लान्ट कस्तो विधि हो?
यो क्यान्सर उपचारका लागि विकास भएको एकदमै अत्याधुनिक उपचार विधि हो। जसलाई कार्टिसेल उपचार विधि समेत भनिन्छ। यस प्रकारको उपचार विधिको प्रयोग संसारका एकदमै कम मुलुकहरुमा मात्रै भएको छ। छिमेकी मुलक भारतले यस प्रकारको उपचार विधिको प्रयोग केही समय अगाडि मात्रै गरेको छ। नेपालमा अझै यो उपचार विधिको प्रयोग भने भइसकेको छैन। यो इम्युनोथेरापी अन्तर्गतकै उपचार विधि समेत हो। यो रक्त क्यान्सरको उपचारमा बढी फाइदाजक भएको पाइएको छ। यद्यपि अन्य प्रकारका क्यान्सरमा समेत यस विधिको प्रयोग गर्न सकिन्छ भन्ने अनुसन्धानकै क्रममा रहेको छ। इम्युनोथेरापी उपचार विधिमा एक प्रकारको औषधिको प्रयोग गरिन्छ।
क्यान्सर उपचारमा सर्जरीको प्रयोग कति बेला हुन्छ?
सामान्य बुझाइमा क्यान्सरको सुरुवाती अवस्थामा शल्यक्रियाको प्रयोग हुन्छ भन्ने धारणा छ। सर्जरी गर्ने वा अन्य उपचार विधिको प्रयोग हुने भन्ने कुन अंगको क्यान्सर हो त्यसमा भर पर्छ। यद्यपि सर्जरी क्यान्सर उपचारमा प्रयोग हुने मुख्य विधि हो, धेरै जसो क्यान्सरलाई निको पार्नका लागि शल्यक्रियाको प्रयोग गरिन्छ। स्तन क्यान्सरको उपचारमा सर्जरीको प्रयोग बढी गरिन्छ।