हाम्रो अस्पतालहरूमा पुरुष जनेन्द्रियको क्यान्सरको उपचार गराउनेहरूको संख्याको कमी छैन। दुर्भाग्यवश यो रोग हुनुको कारण सुरुमा लक्षणहरू थाहा नपाएर तथा शल्यक्रियाद्वारा लिङ्ग नै काटेर फाल्नुपर्छ भन्ने त्रासले गर्दा उपचार गराउन आउनै डराउँछन्। यस्ता रोगी प्रायःजसो रोग फिजिइसकेको अवस्थामा मात्र देखाउन आउँछन्।
आफ्नो स्वास्थ्यप्रति ध्यान नदिनेहरूलाई लिंगको क्यान्सर हुने सम्भावना बढी रहन्छ। लिंगको टाउको वा अघिल्लो भागलाई ग्लान्स पेनिस भनिन्छ। यसलाई छालाले वा प्रिप्युसले अर्थात् टोपीले ढाकेको हुन्छ। यस भागमा धेरै जसो ग्रन्थीहरू हुन्छन् जसले सेतो पदार्थ बनाउँछ। यो सेतो पदार्थ (विकार) त्यहाँ जम्मा हुन्छ। यसले क्यान्सर गराउने सम्भावना भएको बुझिएको छ। मुसलमान र यहुदी जातिमा लिंगको अधिल्लो छालालाई बाल्यकालमै काटिदिने गरेकोले यी जातिमा लिंगको क्यान्सर धेरै कम पाइन्छ। हामीकहाँ निजी ( व्यक्तिगत) स्वास्थ्यको ख्याल नगर्नेहरूको लिंगमा विकार जम्ने भएकोले लिंगको क्यान्सर हुनेको संख्या प्रशस्त देखिन्छ। कसैकसैलाई त यो सेतो पदार्थ प्रजनन गराउने वस्तु हो भन्ने पनि लाग्दछ र सफा गर्दैनन्।
क्यान्सर सुरू हुनअघि छालाको टोपी नखोलिने हुन्छ र त्यसभित्र मैलो वा फोहोर जमेको हुन्छ। अझ पछि गएर टोपीको भित्री भाग र ग्लान्स पेनिस वा लिंगको बाहिरी भाग सेतो (ल्यूकोप्लेकिया) हुन जान्छ। टोपीको अघिल्लो भागमा चिरिएर घाउ लाग्ने हुन्छ। पछि गएर क्यान्सरको रूपमा पूर्ण विकसित हुन्छ। लिंगको क्यान्सर लिम्फको मार्गद्वारा काछमा रहेको लिम्फ ग्रन्थीमा फिजिन्छ। पछि गएर काछका ग्रन्थीमा पनि घाउ भई त्यहाँबाट पनि पीप र रगत निस्कन्छ। कहिलेकाही क्यानारका कोषहरू रगतमा गई शरीरका विभिन्न भागमा पनि फैलिन पुग्दछ।
आरम्भमा नदुख्ने खटीरा देखिनु यस्तो क्यान्सरको लक्षण हो। यो खटीरा बढ्दै गएर काउलीको फूलको रूप लिन्छ। यो रूपमा पुगेर सुची (पिसाब) को मार्गलाई असर गरी सूची विभिन्न मार्गद्वारा बाहिर आउँछ र लिंगको अघिल्लो भाग पनि कडा हुन्छ। साथै पीप र रक्तश्राव भइरहन्छ, पछि गएर नशाहरूमा फिनिएर दुख्न थाल्दछ। शुरुमा काछका गिर्खाहरु बढी पनि देखिन्नन, पछि ती गिर्खाहरु देखिने गरी बढेर ठाउँ ठाउँमा घाउ पार्छन् र रगत, पीप निस्किरहन्छ। अन्त्यमा गएर काछमा रहेका गिर्खाहरूलाई वा लिंगको मुख्य नशाहरूलाई पनि रोगले खाएर रक्तश्राव गराइदिन्छ। अनि असह्य पीडर, वेदना आदि पाएर मात्र यस्ता व्यक्तिहरूले यस दुनियाँलाई सधैका लागि छाड्छन्।
यो क्यान्सर शुरूमा सानो गिर्खाको रूपमा वा घाउको रूपमा (प्रिप्युसमा) निक्लिन्छ। पछि बढ्दै गएर काउलीको फूल जस्तै चारैतिर फैलिन्छ। समय बित्दै गएपछि लिंगको फेदमा पनि फैलिन्छ र मुत्रनलीबाट पिसाब नभई घाउको चारैतिरबाट पिसाब निक्लन्छ। यस्तो घाउ गन्हाउने भएकोले अगल बगलमा आफ्नै मानिस पनि बस्न चाहँदैनन्। अझ पछि गएर त कम्मरको हाडमै पनि क्यान्सर फैलिने गर्दछ।
रोगबाट बच्ने उपाय
लिंगको अघिल्लो भाग खुल्ने भएमा डाक्टरी सल्लाह अनुसार शल्यकृयाद्वारा अधिल्लो भागको छालालाई काटिदिनु अति उत्तम हुन्छ। अघि उल्लेख गरिए झैं मुसलमान वा यहुदी जातिमा बालक कालमै यो छालाको शल्यकृया गर्ने चलन भएकोले यी जातिमा लिंगाको क्यान्सरको सम्भावना कम रहन्छ। लिंगको अघिल्लो भागको छाला खोलिने भएमा नुहाउने बेलामा सधै लिंगको टुप्पोलाई खोलेर सफ राखी विकारलाई हटाई दिएमा यस रोगबाट जोगिन सकिन्छ। लिंगको अगाडिको छालाको रंग परिवर्तन भई सेतो भएमा अलिक दिनमा नै क्यान्सर हुने निश्चित छ।
मानिसहरूले दिनहुँ नुहाउने गरे पनि लिंग आफ्लै शरीरको अंग त हो नि भन्ने ठानी केही नगरे पनि हुन्छ भन्ने सोची सफा नराख्ने गरेकाले लिंगको क्यान्सर हुनेहरूको संख्या कम छैन। एकपल्ट रोगको शंका भएकाले डाक्टरी सल्लाह लिई एकजना खनालजीले बेलैमा सानो शल्यकृया गराउनु भएकोले आज लामो समय बितिसक्दा पनि जीवन यापन गर्दै हुनुहुन्छ। साथै उहाँको यौन सन्तुष्टिमा पनि कुनै अवरोध छैन। तर शल्यकृयाको डरले डाक्टरी सल्लाह नलिनु भएका मानन्धर दाइले रोग पत्ता लागेको १५ महिनाभित्र पिण्ड खान शुरू गरिहाल्नु भयो। मर्ने अन्तिम महिना त यति दुःखदायी भयो कि उहाँकी श्रीमती तथा छोरा छोरी पनि बूढो गइदिए हुन्थ्यो भन्ने जस्तो विचारसम्म प्रकट गर्न थालेका थिए।
लिंगको क्यान्सर पत्ता लगाउनमा बायप्सीको महत्वपूर्ण भूमिका छ। शुरूमा क्यान्सर प्रिप्युस वा अगाडिको छालामा मात्र सीमित रहेमा त्यसलाई मात्र काटेर फ्याँकिदिएमा निको हुनसक्छ। पछि लिंगको अघिल्लो भाग काटेर फ्याकिदिएपछि निको हुनसक्छ (पार्सियल एम्युटेशन) तर लिंगको तल्लो भागमा पनि क्यान्सर फिजिएमा पूरै लिंग काटेर (टोटल एम्पुटेशन) फ्याँकिदिनु पर्दछ। जाँघको गिर्खामा क्यान्सर सीमित छ भने ती गिर्खालाई पनि काटी फ्याँक्न सकिन्छ। तर त्यसपछि आएमा भने 'राम राम' भन्न सकिन्छ, अन्य कुनै पनि उपाय काम लाग्दैनन्।
आरम्भमा नै पत्ता लागे रेडियोथेरापीद्वारा पनि यस रोगलाई निको पार्न सकिन्छ। रेडियोथेरापीद्वारा क्यान्सरको कोषलाई डढाइन्छ र अंगभंग हुनबाट बचाउन सकिन्छ। औषधिको प्रयोगबाट पनि हामी यस रोगको असरलाई केही हदसम्म कम गर्न सकिएको छ।
अन्त्यमा सबै नेपाली पुरुषले लिंग पनि आफनै अंग हो र लिंगमा जम्ने सेतो विकार खराब तत्व हो भनी सधै लिंगलाई सफा राख्ने गरेमा यस रोगबाट बच्न सकिन्छ। रोगको लक्षण देखापरेमा तुरुन्तै डाक्टरी सल्लाह अनुसार उपचार गराएमा भविष्यमा आइपर्ने विपत्तिबाट निश्चित रूपमा बच्न सकिन्छ।
-प्राडा अञ्जनीकुमार शर्माको क्यान्सर सचेतना पुस्तकबाट