काठमाडौं– सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाका शिवबहादुर रसाइली आफ्नी १५ वर्षीया छोरीको उपचारका लागि भक्तपुरस्थित क्यान्सर अस्पतालमा छन्।
गत कात्तिकमा छोरी सावित्राको खुट्टा दुख्ने समस्या देखियो। गाउँले परिवेशमा हुर्किएका शिवबहादुर अझै पनि केही रुढीबादी परम्परामा विश्वास राख्छन्। गाउँमा घाँसदाउरा गर्न जंगल गइरहने छोरीको खुट्टामा समस्या देखिएपछि सुरुमा शिवबहादुरलाई लाग्यो– भूतप्रेतका कारण छोरीको खुट्टामा समस्या देखियो।
त्यसपछि शिवबहादुरले छोरीलाई धामीझाँक्री कहाँ लगे। झारफुक गरेपछि निको हुन्छ भन्ने विश्वासमा केही समय बसे। तर समस्या ज्यूँकात्यूँ रह्यो।
‘हाम्रो विकट गाउँमा जे भएपनि धामीझाँक्री लगाउने चलन छ,’ उनी अहिले पश्चाताप गर्छन्, ‘धामीझाँक्री लगाइयो, तर धामी लगाएर निको नहुने रोग रहेछ।’
पहिलो पटक धामीझाँक्री लगाएर ठिक नभएपछि नजिकैको स्वास्थ्य संस्थामा छोरीलाई लगे। तर त्यहाँ एक्सरे सेवा नै थिएन। स्वास्थ्यकर्मीले सुन्निएको ठिक हुने भन्दै औषधि दिएर घरै पठाए। तर त्यो औषधिले पनि ठिक भएन। समस्या झनै बढ्दै गयो। शिवबहादुरले फेरि छोरीलाई धामीकहाँ नै लगे।
शिवबहादुरलाई धामीले देउता रिसाएर बिरामी भएको भन्दै आफैंले झारफुक गरेर निको पार्ने आश्वासन दिए।
‘धामीले अस्पताल लाने होइन, हामी निको पारिहाल्छौं नि भन्यो, देउताको आनबान छ भन्यो,’ उनले भने, ‘घरमा चिन्ता राख्यो, जंगलमा देउताको बानहरु निकाल्यो भनेर धामी भन्यो। के को बान निक्लिन्थ्यो।’
समस्या देखिएको तीन महिनासम्म धामीझाँक्रीको भरमा बसेका शिवबहादुरलाई गाउँका जनप्रतिनिधि र छरछिमेकले अस्पताल नै लैजान सुझाए।
गाउँमा आरन चलाएर बसेका शिवबहादुरसँग शहरको अस्पतालमा लाने खर्च थिएन। वडा अध्यक्ष र गाउँलेहरुले काठमाडौंको जोरपाटीमा रहेको अर्थोपेडिक अस्पतालमा निःशुल्क उपचार हुने सुनाइदिएपछि उनी छोरी लिएर आउन तयार भए।
‘वडा अध्यक्ष र अरु गाउँलेहरुले हड्डी बिग्रिएको पो छ कि भनेर जोरपाटी अस्पतालमा निःशुल्क उपचार हुन्छ भनेर पठाए अनि ल्याएँ’ शिवबहादुरले सुनाए।
उनले छोरीलाई सुरुमा फाप्लुस्थित अस्पतालमा लगे। त्यहाँबाट जोरपाटीमा अर्थोपेडिक अस्पताल रेफर गरिदिए। त्यसपछि उनी छोरीलाई लिएर अर्थोपेडिक अस्पताल आए। अर्थोपेडिक अस्पतालले एक्सरे गरेपछि वीर अस्पताल रेफर गरिदिए। वीर अस्पतालले त्यहाँ ढिलो हुने भन्दै फेरि राष्ट्रिय ट्रमा सेन्टरमा पठायो।
राष्ट्रिय ट्रमा सेन्टरमा चिकित्सकले रिपोर्टहरु हेरेपछि क्यान्सरको आशंका गरे। शिवबहादुर झस्किए। ‘क्यान्सर हो की भनेपछि डर लग्यो,’ उनले भने, ‘छोरीको रगत, पिसाबको जाँच, सिटी स्क्यान, एमआरआई सबै गरेपछि क्यान्सर हो कि होइन भनेर पुष्टि गर्न बायोप्सी गर्नुपर्ने कुरा ट्रमामा भयो। बायोप्सीको रिपोर्ट भारतबाट १५ दिनपछि आयो। रिपोर्टमा क्यान्सर भन्ने पुष्टि भएपछि आँखाबाट आँशु झरे।’
ट्रमा सेन्टरका चिकित्सकले बायोप्सीको रिपोर्ट आएपछि क्यान्सर भएको पुष्टि गर्दै खुट्टा नकाटी उपचार गर्न सम्भव भएको बताएपछि भने उनको दुखमा केही मल्हमपट्टी लाग्यो।
‘क्यान्सर भनेपछि त निकै डराएँ। खुट्टा काट्नुपर्दैन, खुट्टा जोगाएर उपचार हुन्छ भनेपछि केही शान्त भएँ,’ उनले भने।
छोरीको उपचार सम्भव रहेको जानकारी पाएपछि उनले डाक्टरसँग कतिखर्च लाग्छ भनेर सोधे। डाक्टरले पनि जवाफ दिए– २० लाख जति लाग्छ।
गाउँघरमा ऋण र सहयोगमा तीन लाख लिएर आएका शिवबहादुरको २ लाख सक्किसकेको थियो। २० लाख लाग्ने भनेपछि उनी छाँगाबाट खसेजस्तै भए।
‘दुर्गमबाट आएको मान्छे, डाक्टरले २० लाख लाग्छ भनेपछि म त झण्डै बेहोस् भए,’ उनले भने, ‘छोरी त बचाउन हुन्थ्यो, तर कसरी बचाऊँ? यतिकै ऐआ आथ्था भन्दै मर्न पनि दिनु भएन। म त कसरी बचाउने भनेर तनावमा परेँ।’
उनले छोरीको क्यान्सरको उपचारका लागि सहयोगीहरुसँग हारगुहार गरे। गाउँघरबाट २ लाख जति सहयोग आयो। त्यो पैसा त्यहीँ औषधि उपचारमा सकाए। हात रित्तो भएपछि उनले हार माने।
उनी ट्रमा सेन्टरबाट डिस्चार्ज गराएर क्यान्सरको उपचार नै नगराइ छोरीलाई लिएर घर फर्किए।
उनले भने, ‘आर्थिक अवस्थाले सकिएन, मैले त छोरीलाई घर फर्काएर लगें।’
१५ दिन गाउँमा राखेपछि गाउँले र जनप्रतिनिधिले फेरि उपचारका लागि अस्पताल लानुपर्छ भनेर सम्झाए।
त्यसपछि उनी गाउँलेको सहयोगमा जम्मा भएको केही पैसा बोकेर फेरि काठमाडौं आए र भक्तपुर क्यान्सर अस्पतालमा छोरीलाई भर्ना गराए। केही दिन उपचार गराएपछि उनले फेरि छोरीलाई लिएर घर फर्किए।
भर्ना भएर क्यान्सरको उपचारमा रहेकी छोरीलाई लिएर घर फर्किसकेका शिवबहादुरलाई छरछिमेकका काठमाडौं मै बस्नेहरुले सम्झाएर फेरि अस्पतालमा पुर्याए। घर फर्किन बनेपा पुगिसकेका शिवबहादुरलाई गाउँकै दाजुभाइले फेरि अस्पताल छाडेर साढे ३ लाख रकम पनि उठाइदिए।
‘दुईचार लाख उठेको पैसा किमो दिँदा सकिहाल्ने रहेछ, अहिले म नाजुक छु, छोरी बचाउन पनि मन छ तर धन छैन,’ उनले भने, ‘गाउँलेहरुले सहयोग चाहिए बरु जुटाइदिन्छु भनेपछि बाटोबाटै फर्किएर फेरि अस्पताल ल्याए।’
किमोथेरापीले अहिले शिवबहादुरको छोरीको खुट्टा सुन्निन केही कम भएको छ। शिवबहादुरले भने, ‘छोरीको खुट्टा नकाटी क्यान्सर निको हुन्छ कि भन्ने आसा छ।’
क्यान्सरको उपचारमा सरकारले विपन्न नागरिकलाई दिने सहुलियतबारे शिवबहादुरले अस्पतालमै आएपछि थाहा पाए। अस्पतालकै चिकित्सकहरुको सहयोगमा सरकारी सहुलियत लिने प्रक्रिया पनि गरे। तर सरकारको सहुलियत बिरामीको उपचारमा हात्तिको मुखमा जिरा भन्ने उखान जस्तै भयो।
अस्पतालको शय्यामा क्यान्सरसँग लडिरहेकी सावित्रा बुवाको आर्थिक अवस्थाबारे जानकार छिन्।
‘यति धेरै खर्च नगर्नु बुबा म बाँच्छु जस्तो लाग्दैन, मलाई घर लैजानु भन्छिन्,’ शिवबहादुरले सुकसुकाउँदै भने, ‘छोरीले हरेस खान्छ, छोरी तलाई जसरी पनि बचाँउछु भनेर भरोसा दिन्छु।’ शिवबहादुरले शिरको टोपी खोलेर आँशु पुछे।
छोरीलाई क्यान्सरको लक्षण देखिँदा सुरुमा धामिझाक्रीकोमा लगेर समय खेर फालेकोमा भने उनी पश्चताप मान्छन्।
‘पहिला नै ल्याउन पाएको भए छिटो निको हुन्थिन् होला, सुरुमा थाहा भएन धामी लगाएर बसियो,’ उनले भने, ‘क्यान्सर भएर यहाँ आएकाहरुले सबैले पहिला धामीकैमा लगेको भन्ने रहेछन्। तर सुरुमै अस्पताल ल्याउनुपर्ने रहेछ। अहिले आएर थाहा भयो।’
रोग पत्ता लगाउन एकपछि अर्को अस्पतालमा चाहर्नु पर्दा उनी दुखी पनि भए। भने, ‘एक चक्कर लगाएँ छोरीको व्यथा बताउँदा बर्बन्डा फुटेर आउँछ। निकै दुख पाइयो।’
०००
ललितपुरको बागमती गाउँपालिकाका प्रेम बम्जनको छोरी जेनिशा भक्तुपर क्यान्सर अस्पतालको शैय्यामा छिन्। ८ वर्षीया छोरीलाई रक्तक्यान्सर भएपछि उपचारको प्रक्रिया सुरु भएको एकवर्ष भयो।
सुरुमा दाहिने कानको पछाडिको भागमा मासुको डल्ला पलायो। बिस्तारै मासु बढ्दै गयो र अरु पनि निस्किन थाल्यो। तर दुखाई थिएन। खानाको रुचीमा भने समस्या देखिएको बाबुआमाले महशुस गरे।
‘मासुको डल्ला आएपछि छोरीले खाना सुख्खा खान खोज्ने, दालहरु नखाने, थोरै खाने तर सुख्खा खालको खाना खान खोज्ने थियो,’ बम्जनले स्वास्थ्यखबरसँग भने, ‘स्कुल गइरहन्थिन्, बिरामी भएको फिल नै थिएन।’
मासुको डल्ला अरु पनि देखिन थालेपछि बम्जनले छोरीलाई उपचारका लागि पहिलो पटक आनन्दवन अस्पताल लगे। त्यहाँका स्वास्थ्यकर्मीले क्षयरोग हो कि भन्ने आशंका गरे। तर पुष्टि नगरी एकसाताको लागि मासु सुक्ने एन्टिबायोटिक दिएर घरै पठाए।
घर लगेको तीनचार दिनपछि बम्जनको मनले मानेन। घरपरिवारमा सल्लाह गर्दा कतै क्यान्सरको लक्षण पो हो कि भनेर उनीहरुले झक्तपुर क्यान्सर अस्पतालमा ल्याए। भक्तपुरका क्यान्सर अस्पतालमा आएपछि रक्त क्यान्सर भएको पत्ता लाग्यो।
बम्जनको छोरी पाँच महिनादेखि अस्पतालमा भर्ना भएर उपचार गराइरहेकी छन्।
सवारी चालक बम्जम छोरीको उपचारका लागि पाँच महिनादेखि काम छाडेर अस्पतालमा छन्।
घरमा रहेकी श्रीमतिले भैंसी पालन गरेर अहिलेसम्म औषधि उपचारको खर्च धानिरहेकी छन्। तर कहिलेकाँही बढी पैसा चाहिँदा बम्जन गाउँमा ऋण खोन्न आफैं जान्छन्।
‘पाँच महिना भयो म त छोरी कुरेर अस्पतालमा बसेको, बुढीले दूध बेचेर अलिअलि पैसा पठाउछिन्,‘ बम्जनले भने, ‘कहिलेकाँही म आफैं गएर सहकारी, संस्था र छरछिमेकमा पैसा ऋण मागेर पनि ल्याउछु।’
क्यान्सरको उपचारको क्रममा देखिने समस्याले कहिलेकाँही बम्जनको मन आत्तिन्छ।
‘एकपटक त गाह्रो भयो, तीनचार हप्ता ज्वरो आयो, मुखभरी घाउ आयो, इन्फेक्सन भएर, त्यतिबेला त बाच्दैन कि जस्तो लागिसकेको थियो,’ उनले भने, ‘अहिले सुधार भयो, खाने, खेल्ने आनन्दले बसिरहेकी छिन्।’
छोरीको उपचारका लागि अहिलेसम्म ६ लाख खर्च भइसकेको बताएका बम्जनले अब ऋण र सहयोग माग्ने ठाउँपनि सकिन थालेको बताए।
‘कहिलेकाँही त औषधि किन्ने पैसा नै हुँदैन,’ उनले मलिन हुँदै भने, ‘छोरीलाई निको बनाएर घर लैजान पाए त फेरि कमाउथें।’
०००
जेनिशा र सावित्रा दुवैको भक्तपुर क्यान्सर अस्पतालमा बाल क्यान्सर रोग विशेषज्ञ डा ऋतु लामिछानेले उपचार गराइरहेकी छन्। दुवैको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उनले जानकारी दिइन्।
डा लामिछाने छोरी भएकै कारण कतिपय अभिभावकले क्यान्सरको उपचार गर्न अभिभावकहरु हिचकिचाउने गरेको अनुभव सुनाउँछिन्। ‘क्यान्सर भएका छोरीहरुलाई सकेसम्म उपचार नै नगरी घर फर्काउन खोजिरहेका हुन्छन्,’ डा लामिछानेले स्वास्थ्यखबरसँग भनिन्, ‘कति बिरामीको बुबासँग छोरीको उपचार गराउनुपर्छ भनेर बल्लतल्ल सम्झाउन सकिन्छ।’
सावित्राको उपचारका लागि पनि डा ऋतुले उनका बुबालाई धेरै सम्झाउन परेको थियो।
क्यान्सरका बिरामीको उपचारमा विपन्न नागरिक उपचार कोषको निर्देशिका अनुसार केन्द्र सरकारले एकलाखसम्मको सहुलियत दिन्छ। स्वास्थ्य बीमामा आवद्ध भएकाहरुले बीमा मार्फत पनि थप केही सहुलियत पाउँछन्। यस्तै, केही प्रदेश सरकारले पनि थप रकम सहुलियत दिन्छ। केही स्थानीय तहले पनि सहुलिय दिने घोषणा गरेको छ।
बाल क्यान्सर रोग विशेषज्ञ डा ऋतु लामिछाने सरकारी सहुलियतले क्यान्सरका बालबालिकाको उपचार पूरा हुन सम्भव नभएको बताउँछिन्।
‘रोग पत्ता लगाउन नै विभिन्न तरिकाबाट जानुपर्छ। डाइग्नोस्टिक पाटोमा नै सरकारी सहुलियत सक्किसकेको हुन्छ,’ उनले भनिन्, ‘अभिभावकहरुलाई सहयोगको आवश्यकता परेकै हुन्छ।’
डा लामिछाने लगायत अस्पतालका चिकित्सकहरु नै धेरैजसो बिरामीको उपचार बीचमा नछुटोस् भनेर आर्थिक सहयोग जुटाउन समेत सक्रियता देखाइरहेका हुन्छन्।
‘बीचमै उपचार नछुटोस् भनेर हामी आफैंले पहल गरेर कलेज पढ्ने विद्यार्थी विभिन्न निकायसँग आर्थिक सहयोग पनि जुटाइरहेका हुन्छौं,’ डा लामिछानेले भनिन्, ‘धेरै बिरामी अहिले पनि आफ्नो सबै आवश्यता पुरा गर्न सक्ने वा रोग लाग्दा उपचार गर्न सक्ने अवस्थाका छैनन्।’
डा लामिछाने सरकारले बच्चाहरुको रोगमा सहुलियत बढाउन आवश्यक रहेको बताउँछिन्।
उनी भन्छिन्,‘अस्पताल आइसकेपछि पनि फर्किनु भनेको बिरामीको स्वास्थ्य उपचार पाउने अधिकार नै खोसिनु हो। यसरी बिरामी उपचार पूरा नगरी फर्किने कारण नै आर्थिक समस्या हो। सरकारले यो कुरा बुझेर यसमा काम गर्नुपर्छ।’