वरिष्ठ मुटुरोग विशेषज्ञ डा मनबहादुर केसीको सहिद गंगालाल हृदय केन्द्रका पूर्व कार्यकारी निर्देशक हुन्। डा केसीले गंगालाल अस्पतालमा ओपिडी सेवा सुरु भएको पहिलो दिनदेखि नै सेवा गरेका हुन्। उनी मुटुको चालसम्बन्धी रोग तथा समस्याका विषय विज्ञ हुन्। डा केसीलाई नेपालमा इलेक्टोफिजियोलोजिकल स्टडी एण्ड रेडियोफ्रिक्वोन्सी अब्लेसन (इपिएसआरएसएस) सेवाका प्रणेताका रुपमा चिनिन्छ। हाल उनी ह्याम्स अस्पतालमा कार्यरत छन्। डा केसीसँग मुटुको चालसम्बन्धी समस्या, उपचार, पेसमेकर लगायतका विषयमा स्वास्थ्यखबरकी रिता लम्सालले गरेको कुराकानीः
१. मुटुमा चाल कसरी उत्पन्न हुन्छ?
मुटुमा चारवटा कोठा हुन्छ। चार कोठा मध्ये दायाँ अर्थात् राइट अरिकलको माथिल्लो भागमा चामलको दानाभन्दा सानो साइनस नोड भन्ने भाग हुन्छ, त्यसबाट मुटुको चाल निस्कन्छ। गर्भवती आमाको पेटमा भएको भ्रुणबाटै साइनस नोड विकसित हुन्छ। साइनस नोडबाट निस्किएको मुटुको लयलाई साइनस रिदम भन्छौं।
त्यसले काम गर्न कम भयो वा कुनै रोग लाग्यो र काम गरेन भने अरु ठाउँबाट पनि चाल निस्कन सक्छ। अन्य ठाउँबाट निस्कने चाल कोही अनियमित, कोही ढिलो वा छिटो हुनसक्छ। मानव जीवनलाई निरन्तरता दिनका लागि अन्य ठाउँबाट पनि मुटुको चाल त आउँछ तर ती रिदमहरु साइनस रिदम जस्तो नियमित चाँही हुँदैनन्।
२. स्वस्थ व्यक्तिमा मुटुको चाल कस्तो हुनुपर्छ?
स्वस्थ मानिसको मुटुको चाल नियमित हुन्छ। र त्यसको रेन्ज ५० देखि १०० प्रति एक मिनेटसम्म हुन्छ। बालबालिका र १८ वर्षमुनिका किशोर किशोरीमा कहिलेकाहिँ नर्मल चाल पनि सास फाल्दा छिटो चल्ने र लामो सास तान्दा ढिलो हुन्छ। त्यसलाई रेस्पिरेटरी भेरियसन भन्छौं। यो पनि फिजियोलोजिकल फेनोमेनम भित्र नै पर्छ।
३. मुटुको चाल गडबड किन हुन्छ?
मुटुको चाल गडबड हुने धेरै रोगहरु छन्। मुटुको चाल ढिलो/छिटो हुने पनि विभिन्न कारण छन्। विभिन्न कारण मध्ये एउटा उमेर हो। केही औषधिको प्रयोगले पनि मुटुको चालमा समस्या ल्याउन सक्छ। हार्टअट्यासँग सम्बन्धित रोगले पनि मुटुको चाल गडबडी हुनसक्छ। अर्को, मुटुको चारकोठाको बिचमा चाल निस्कने ठाउँबाट मुटुको चाल सही तरिकाले निस्कदा निस्कदै पनि मुटुको चाल पास हुने एभिनोड भन्ने अर्को नोड हुन्छ, त्यो एभिनोडमा गडबडी आयो भने मुटुको चाल नै प्रवाह हुँदैन। त्यसलाई कम्पिल्ट हार्ट ब्लक भनिन्छ। हो, पेसमेकर राख्ने इन्डिकेसन त्यही हो।
४. मुटुको चालमा समस्या आउनु भनेको के हो? मुटुको चाल गडबडी भएमा कस्तो लक्षण देखिन सक्छ? कस्तो अवस्थामा अस्पतालमा जाने?
मुटुको चलमा समस्या आउनु भनेको मुटुको चाल अत्याधिक ढिलो हुनु वा अत्याधिक छिटो हुन वा अनियमित हुनु हो। यस्तो अवस्थामा केही व्यक्तिलाई खासै समस्या नदेखिन पनि सक्छ। लक्षण देखिहाले पनि अलिअलि मुटु ढुकढुक हुने, हल्का सास फेर्न गाह्रो हुने, हल्का रिंगाटा लाग्ने, कमजोर महसूस हुने, शिथिल महसूस हुने हुनसक्छ। अलिअलि मात्र लक्षण छ भने उनीहरु समय लिएर डाक्टरकोमा जचाउँन जान मिल्छ। यसमा हतारमा आकस्मिक उपचार गरिहाल्नुपर्ने हुँदैन।
तर जो व्यक्तिको मुटुको चाल अत्याधिक ढिलो भएर वा अत्याधिक छिटो भएर रिगाँटा लाग्ने, होस् हराउला जस्तो हुने वा होस् हराउने र बेहोस् नै हुने समस्या हुन्छ। यदि यस्तो लक्षण देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा जानुपर्छ। सम्भव भए मुटुरोग विशेषज्ञ भएको अस्पतालमा जाने, सम्भव नभए नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा जानुपर्छ।
५. अस्पतालमा पुगेपछि मुटुको चाल गडबडी भएका बिरामीको उपचार कसरी गरिन्छ?
सामान्य अवस्थाको मुटुको चाललाई साइनस रिदम भनिन्छ। साइनस रिदममा यदि मानिस आराम अथवा सुतेको अवस्थामा मुटुको चाल ३०-३५ प्रति मिनेट सम्म पुग्दा पनि कुनै असर नहुन सक्छ। तर, असामान्य तरिकाले मुटुको चाल ढिलो हुने, मुटुको जुन ठाउँबाट चाल आउनुपर्ने हो, त्यो ठाउँबाट नआउने र अन्य ठाउँबाट आउँदा त्यो व्यक्तिलाई निकै असहज हुनसक्छ। त्यस्तो व्यक्तिलाई अस्पतालमा गएपछि उपचार गर्ने विधि भनेको अस्थायी पेसमेकर राख्ने हो। यो आकस्मिक प्रोसिजरको रुपमा प्रयोग गरिन्छ। सुविधा नभएको अस्पतालमा नशाबाट दिने औषधि प्रयोग गरेर तत्काल मृत्यु हुने अवस्थाबाट बचाउन सकिन्छ।
मुटुको चाल छिटो हुने पनि विभिन्न प्रकारका हुन्छन्। अस्पतालमा आइपुगेका बिरामीको इसीजी हेरेर त्यो अनुसार उपचार हुन्छ। मुटुको चाल छिटो हुने समस्याको उपचार मुटुको चाल ढिलो हुने समस्याको जस्तो सरल भने छैन।
६. उमेर ढल्कदै जादाँ मुटुको चाल गडबडीको समस्या देखिने जोखिम किन हुन्छ?
उमेर बढ्दै जाँदा शरीरका सबै अंग-प्रत्यंगहरु पनि कमजोर र शिथिल हुँदै जान्छ। मुटुको चाल निकाल्ने र पास गर्ने भागहरु पनि उमेर बढ्दै जाँदा कमजोर र शिथिल हुने हुँदा उमेर ढक्लदै जाँदा जोखिम बढ्नु प्राकृतिक नै हो।
७. मुटुको चाल गडबडीको उपचारका लागि विशेषज्ञ जनशक्तिको अवस्था कस्तो छ?
अहिले काठमाडौं सहित अन्य ठूला शहरहरुका अस्पतालहरुमा पेस मेकर राख्ने सुविधा छ। इलेक्टोफिजियोलोजिकल स्टडी एण्ड रेडियोफ्रिक्वोन्सी अब्लेसन (इपिएसआरएसएस) भनेर विश्वमा नै मुटुको चाल गडबडी सम्बन्धी उपचार गर्ने नयाँ प्रविधि हो। धेरैजसो मुटुको चाल गडबडी सम्बन्धी समस्यालाई यो प्रविधिबाट गरिने उपचारले निको नै समेत पार्छ। मुटुको चालसम्बन्धि धेरैजसो उपचार क्युरेटिभ छन्। मुटुको चाल गडबडी सम्बन्धि उपचार गर्ने सुपरस्पेसियालिटी चिकित्सक अहिलेपनि कम नै छौं। सहिद गंगालाल हृदय केन्द्र र ह्याम्स अस्पतालमा यो प्रविधिबाट उपचार हुन्छ। मुटुको चाल गडबडीको उपचार गर्ने सुपरस्पेसियालिटी चिकित्सक अहिले नेपालमा करिब १० जना छौं होला।
८. पेसमेकर भनेको के हो? कस्तो अवस्थामा व्यक्तिको मुटुमा पेसमेकर राखिन्छ?
पेसमेकर भनेको व्यक्तिको मुटुलाई कृतिम चाल दिने यन्त्र हो। विभिन्न कारणले व्यक्तिको मुटुको चाल कम हुन्छ। व्यक्तिलाई आवश्यक पर्ने मुटुको चाल मुटुले उत्पादन गर्न सक्दैन। मुटुले चाल उत्पन्न गर्न नसक्दा रिगाँटा लाग्ने देखि होस् नै हराउने सम्मको अवस्था सिर्जना गर्छ। त्यस्तो व्यक्तिका लागि मुटुको चाल निकाल्ने यन्त्र नै पेस मेकर हो। अहिले सामान्य कम्तिमा पेसमेकरले पनि ७ देखि ८ वर्षसम्म पुग्छ।
९. पेस मेकरको प्रयोग नेपालीहरुको लागि पहुँच र सहुलियतको हिसाबले कस्तो छ?
सबैभन्दा सामान्य पेस मेकर भनेको एउटा तार भएको (सिंगल च्याम्बर) हो। त्यसको खर्च एकलाख हाराहारीमा हुन्छ। अहिले मुटुका बिरामीलाई पालिकाको सिफारिसमा नेपाल सरकारले एक लाखसम्मको सहुलियत दिने भएकाले त्यसैबाट बिरामीको उपचार सम्भव छ। बिरामीको व्यक्तिगत खर्च यसमा खासै हुँदैन। नेपालमा अहिलेपनि धेरैजसतो बिरामीमा त्यो सामान्य पेस मेकर नै राख्ने गरिन्छ। यस्तो पेस मेकर राखिएका व्यक्तिहरुले आफ्नो नियमित काम गरिरहेका छन्।
तर, अहिले प्रविधिको विकास सँगै विभिन्न प्रकारका हाइटेक पेसमेकरहरु उपलब्ध छन्। त्यसको मुल्य पनि अलि बढी छ। त्यस्ता पेस मेकरहरु २ लाख देखि १५ लाख सम्मको पनि पाइन्छ।
१०. नेपालमा कहिलेदेखि पेस मेकर राख्ने सेवा सुरु भएको हो?
नेपालमा पहिलो पटक सन् १९८३ मा पेस मेकर राख्ने सेवा सुरु भएको हो। डा मोतिराज बज्राचार्यले वीर अस्पतालमा पहिलो पेसमेकर राख्नुभएको हो। त्यसपछि १९९० तिर डा बालकृष्ण मान सिंहले त्रिवि शिक्षण अस्पतालमा पेस मेकर राख्ने सेवा सुरु गर्नुभएको थियो। त्यसपछि डा अरुण सायमी, डा रत्नराज पौडेल, डा विकास दलीहरुले त्रिवि शिक्षण अस्पतालमा सेवालाई निरन्तरता दिनुभएको थियो। १९९९ मा गंगालाल अस्पतालका अन्तरंग सेवा सुरु भएपछि गंगालाल अस्पतालबाट पेसमेकर राख्न सुरु गरियो। अहिले गंगालाल अस्पताल ठूलो संख्यामा पेसमेकर राखिन्छ। सेवा सुरु हुदाका वर्षहरुमा वर्षभरीमा मुस्किलले २०, २५ जना व्यक्तिमा पेसमेकर राखिन्थ्यो भने अहिले महिनामा ५० जना भन्दा बढी बिरामीको मुटुमा पेसमेकर राखिन्छ।