काठमाडौं- लक्षण हेर्दा त क्यान्सरझैं पनि लाग्थ्यो । मध्यरातमा उनी ऐनामा असिन–पसिन भएको आफ्नै अनुहार हेर्दै तर्सिन थाले, ‘यसरी कहिलेसम्म बाँचुला?’
पानी पिउन पनि ठूलै कसरत पर्ने र घाँटीबाट खाना निल्न अर्काे संघर्ष गर्नुपथ्र्यो । महिनौँदेखि उनले दुई चम्चाभन्दा बढी भात निल्न सकेनन् ।
‘तपाईंले अत्यधिक मात्रामा अल्कोहल र खैनी खानुभएछ,’ पहिलो पटक अस्पताल पुगेपछि नाक, कान, घाँटीका विशेषज्ञ डाक्टरले भने, ‘छालाको टिस्यू मरेको छ । बढ्दै गयो भने क्यान्सर पनि हुन सक्छ।’
अभिनेता महेश त्रिपाठीले यस्तो होला भन्ने सोचेकै थिएनन् । उनले त फिल्म ‘हल्कारा’को राम क्यारेक्टरलाई जीवन्त र विश्वसनीय बनाउन यी सब गरेका थिए।
‘हल्कारा’ले उनलाई अमेरिकाको प्रतिष्ठित अन्तर्राष्ट्रिय हयुस्टन फिल्म फेस्टिभलमा सर्वोत्कृष्ट अभिनेताको अवार्ड दिलायो । उनी फिल्ममा बाँचेको राम पात्रले थुप्रै दर्शक र समीक्षकको प्रेम पनि पायो । तर त्यही पात्रलाई जीवन्त बनाउन खाएको खैनीले महेशलाई निकै वर्षसम्म कष्टको बाटो हिँडायो।
उनी एक अभिनेता (नाम सम्झना भएन)को चर्चित भनाइ सापटी लिँदै भन्छन्, ‘कुनै पात्रमा बाँचिसकेपछि कति कुरा त्यो क्यारेक्टरलाई आफूले दिइन्छ । कति क्यारेक्टरले आफूलाई दिएर जान्छ ।’
महेशको हकमा पनि त्यस्तै भयो ।
०००
लामो समयदेखि सोचेजस्तो स्क्रिप्टमा काम नआउँदा महेश तनावमा जेलिएका थिए । जे गर्न उनी काठमाडौंमा टिकिरहेका थिए, त्यो हुन सकिरहेको थिएन।
महेशलाई अभिनयको भोकले सताइरहेको थियो । त्यही बेलामा उनलाई निर्देशक विक्रम सापकोटाले फिल्म ‘हल्कारा’को मुख्य भूमिकाका लागि प्रस्ताव गरे । स्क्रिप्ट पढेपछि लाग्यो, ‘यस्तो कथामा अवसर त विरलै पाइन्छ ।’ त्यसपछि उनले फिल्मको राम पात्रमा आफूलाई ढाल्न कसरत गर्न थाले।
उनी आफैं एक्टिङका विद्यार्थी । फिल्म कलेजमा विद्यार्थीहरूलाई अभिनय नै पढाउँथे । आफूले सिकेको अभिनय प्रकियालाई उनले फिल्ममा पछ्याउन कुनै कसर बाँकी छाडेनन् ।
राम अल्कोहोलिक पात्र थियो । ‘रामले यदि रक्सी खान नपाउँदा तलतल कसरी मेटाउँछ होला ?,’ महेशले खोजी गर्न थाले । उनको सूक्ष्म अवलोकनले भेट्टायो– खैनी।
‘पात्रले खैनी खाएको कुरा नियतबस क्यामेरामा देखाउनु पनि थिएन । यसरी बनोस् कि, त्यसको लजिक त्यही सिनेमा भित्र होस्,’ महेश सम्झन्छन्।
फिल्ममा राम बोल्नुअघि उसको घाँटीमा केही अड्केजस्तो हुन्छ । त्यो पात्रले खाने खैनीको प्रभाव थियो।
सानो छँदा महेशलाई एक जना काकाले खैनी खान दिएका थिए । पहिलो पटक मुखमा पर्दा उनलाई गाह्रो भएको थियो । यस पटक क्यारेक्टरका लागि उनले सुटिङको तीन महिना अघिबाट खैनी खान थाले । त्यतिबेला खैनी र रक्सी महेशका निम्ति नियमित जस्तो भयो ।
‘यसरी बानी परेछ कि राति उठेर पनि खान थालेँ,’ महेश सम्झन्छन् ।
०००
सन् २०१८, सुटिङको अन्तिमतिर ‘हल्कारा’ टिम बन्दीपुरमा थियो।
त्यहाँ छँदा पहिलो पटक उनले घाँटीबाट खाना निल्न असहज भएको महसुस गरे । क्रमशः अफ्ठ्यारो हुँदै गएपछि खाना खाने समयमा महेश समूहबाट छुट्टिए । अनि एक्लै बसेर खान थाले । तर मुस्किलले २ चम्चाभन्दा खाना खान सक्दैनथे।
सुटिङ सकेर काठमाडौं फर्केपछि ओस्कार कलेज र एभरेस्ट कलेजमा उनले नियमित अध्यापन गराउन थाले । अध्यापनको समयमा धेरै बोल्पथ्र्यो । उनलाई बोल्न पनि गाह्रो हुन थाल्यो । थुक निल्न पनि असहज हुन थाल्यो । घाँटी सुक्खा भएकाले उनी थुकिरहन्थे ।
विद्यार्थीहरू सोच्थे, ‘सरलाई खैनी खान बानी परेछ।’
महेशले सुटिङबाट फर्कनासाथ खैनी खान छाडिसकेका त थिए । तर उनलाई त्यो खैनीको दुखाइले भने ४ वर्षसम्म छाडेन । उनी ७२ केजी तौलबाट घटेर ५५ केजीमा झरे । ‘मैले खाना खान नसक्दा ममी धरधरी रुनुहुन्थ्यो । मलाई यस्तो गर्दागर्दै खाना नखाई मर्छु भन्ने लाग्न थालेको थियो,’ उनी सुनाउँछन्।
कतिपय बेला खाना निल्न नसकेर साटो स्लाइन पानी चढाउनुपरेका दिन पनि उनी सम्झिन्छन्।
सुरुमा उनले चाबहिलस्थित नाक, कान, घाँटीका एक विशेषज्ञ डाक्टरलाई समस्या देखाए । चेकअपश्चात् डाक्टरले भने, ‘छालाको टिस्यू मरेको छ । बढ्दै गयो भने क्यान्सर पनि हुन सक्छ।’
नियमित औषधि खाएमा ३/४ वर्षसम्ममा निको हुने आश्वासन डाक्टरले दिए । ‘तर जति औषधि खाँदा पनि ठिक हुँदैन । गाह्रो भइरहेको छ । फेरि अल्का अस्पताल गएँ । नर्भिक गएँ । टिचिङ गएँ । ग्रान्डी गएँ । सबैले आत्तिनु पर्दैन भने,’ उनी सुनाउँछन्।
महेशलाई बेलाबेला श्वास फेर्न गाह्रो भएझैं लाग्थ्यो । यही समस्याले उनको एन्जाइटी बढ्यो । उनी साइकोलोजिस्ट कहाँ पनि धाए ।
दुई वर्षपछि विस्तारै सहज महसुस हुन थाल्यो । उनी पहिलेभन्दा सहज तरिकाले पानी पिउन सक्ने भए । विस्तारै खानाको गाँस पनि बढ्न थाल्यो । ५ वर्षपछि पहिलो पटक महेशले औषधि घुटुक्क निले । त्यतिबेला उनलाई निकै आनन्द समेत लाग्यो । अहिले त धेरै सहज भइसकेको छ । तर पनि उनी समूहमा बसेर अझै खान सक्दैनन् । यो समस्या पूर्ण निको हुने क्रममै छ।
महेशलाई अहिले आएर लाग्छ, ‘त्यो पात्रका लागि मैले जे गरेँ, त्यसको अल्टरनेटिभ तरिकाले पनि गर्न सक्थेँ।’
किनकि, स्वास्थ्यभन्दा ठूलो अरु हुन्न भने कुरा त्यसपछि मात्र महेशले महसुस गरे । ‘खासमा क्यारेक्टरमा अथेन्टिक चाहिन्छ । तर अथेन्टिकको नाममा आफूलाई हार्म गर्ने काम चाहिँ गर्न हुन्न रहेछ,’ महेश भन्छन्, ‘बरु त्यसका लागि विकल्पहरू खोज्नुपर्छ ।