काठमाडौं–कोही बलमाथि चढेर उफ्रिरहेका थिए। कोही कृत्रिम माटोलाई मुठी पारेर विभिन्न स्वरुप बनाइरहेका थिए। ५ वर्षकी दृष्टिविहीन बालिका प्रकृति गौतमले कृत्रिम माटोको कलात्मक आकृति केयर टेकर सुस्मा थापालाई थमाउँदै सोधिन्, ‘मैले बनाएको कस्तो छ ?’
‘प्रकृतिजस्तै राम्रो,’ सुस्माले बालिकालाई काँखमा लिँदै भनिन्।
वरिपरि खेलिरहेका अरु पनि उसैगरी नजिक आउँथे। अनि सुस्मालाई मायाले सुम्सुम्याउँथे। त्यहाँ श्रवण शक्ति नभएका, दृष्टिविहीन र अटिजम भएका बालबालिकाहरूको भिन्नै दुनियाँ थियो। ब्रेलको सहायतामा अक्षर चिन्न सिकिरहेकाहरू बालसुलभ हाँसोमा रमाइरहेका थिए। कोही चित्रमा रङ भरिरहेका थिए। ‘यहाँ यी नानी–बाबुहरूलाई जीवन सिकाइन्छ,’ सुस्माले मुस्कुराउँदै भनिन्।
मध्यपुर थिमीस्थित बीपी कोइराला नेत्र विज्ञान तथा पुनर्स्थापना केन्द्रमा ल्याइएका बालबालिकाहरू जीवन सिकेरै फर्कन्छन्।
केन्द्रका संस्थापक डा मदन उपाध्यायसँग थुप्रै दृष्टान्त छन्। काभ्रे कोशीपारिका एक जना बालक हुर्कंदै जाँदा न आँखा देख्ने भए, न खुट्टै टेक्न सक्ने। बिछ्याउनामा सुतिरहनुपर्ने, आफैँ खान पनि नसक्ने। ‘यस्तो बच्चा पाइन् भनेर श्रीमान्ले श्रीमतीलाई छाडिसकेका थिए। गाउँलेले पनि अपमान गरेका रहेछन्,’ डा मदन सम्झन्छन्।
बालककी आमाले पुनर्स्थापना केन्द्रमा ती बालकलाई ल्यान्। १ वर्ष उनलाई यहाँ राखियो। दशैं बिदामा बालक घर जाँदा उनी आफ्नै खुट्टामा उभिएर हिँडिरहेका थिए। अक्षर पढ्न सक्ने भएका थिए। त्यो देखेर छिमेकीहरूले छक्क पर्दै भने, ‘यो त चमत्कार भयो।’
अस्पतालमा आँखा र कानका बिरामीहरू आउँथे। कतिपयको अन्धोपन र बहिरोपन कहिल्यै निको नहुने समस्या हुन्थ्यो। बालबालिकाका अभिभावकलाई बाध्य भएरै डाक्टरले भन्नुपथ्र्यो, ‘तपाईंहरूको बच्चाको औषधि–उपचार गरेर पनि दृष्टि फर्कन्न।’
अभिभावकको आशा भने कहिल्यै मर्दैनथ्यो। उनीहरू सोध्थे, ‘डा साब, विदेशमा लग्यो भने हुन्छ कि ?’ त्यसरी फर्काउनु पर्दा डा उपाध्यायको मन अमिलो हुन्थ्यो। त्यसपछि उनी विकल्प खोज्न थाले। एक दिन निष्कर्षमा पुगे– डिस्याबिलिटी नट अ इन्ड अफ द रोड। उनले सन् २०१२ मा पुनर्स्थापना केन्द्र स्थापना गरे।
पुनर्स्थापना केन्द्र खोलेसँगै अपाङ्गता भएका बालबालिका खोज्न उनीहरूले ‘सर्च आर्मी’ भन्ने नयाँ कन्सेप्ट निकाले। त्यतिबेला महिला स्वयंसेविकामार्फत उनीहरूले दृष्टिविहीन बालबालिकाहरू खोजे। ‘खोज्न त खोज्यो, बच्चा मान्दैन। ऊ हेपिएको हुन्छ। आत्मबल जिरो हुन्छ। स्पार्क भन्ने मेथड प्रयोग गरेर बच्चालाई मनायौँ,’ उनी सम्झिन्छन्, ‘फेरि अभिभावकलाई मनाउन गाह्रो। किनकि मधेसमा बच्चालाई लगेर त्यसको त किड्नी झिकिदिन्छ भन्ने अफवाह फैलिएका थिए। विस्तारै स्थानीयहरूमार्फत बच्चाहरू ल्यायौँ।’
९ जना बालबालिकाबाट पुनर्स्थापना केन्द्रको सुरुवात गरिएको थियो।
यो पुनर्स्थापना केन्द्रमा बालबालिकालाई १ महिनादेखि ३ महिनासम्म राखिन्छ। ग्र्याजुएसन सेरोमनीमा बालबालिकाको तर्फबाट पनि एक जनाले बोल्छन्। अभिभावकको तर्फबाट पनि बोल्छन्। त्यतिबेला आफ्नो सन्तानमा आएको परिवर्तन देखेर अभिभावकहरुको गह खुसीले भरिन्छ।
पुनर्स्थापना केन्द्रमा सुरुमा होस्टल थिएन। पछि अभिभावक र बालबालिकाको सहजताका लागि होस्टल पनि सुरु भयो।
यहाँबाट ग्र्याजुएसन भएर गएका एक जना बालक १० वर्षपछि माइकमा बोलेको सुनिए। उनको ओजिलो आवाज सुनेर डा मदन हर्षविह्वल देखिए। यहाँबाट फर्किएकामध्ये कोही राम्रो ट्रेनर बनेका छन्, कोही राम्रो डान्सर। ‘यी कुराहरूले निकै खुसी दिलाउँदो रहेछ,’ उनी भन्छन्। कतिपय दृष्टिविहीन बालबालिका भने अस्पतालमा उपचारमार्फत आँखा देख्ने भएर पनि फर्किएका छन्। उपचारबाट पनि आँखा नदेख्ने वा कान नसुन्ने समस्या रह्यो भने उनीहरूलाई पुनर्स्थापना केन्द्रमा ल्याइन्छ।
यहाँ बालबालिकासँगै अभिभावकलाई पनि १ हप्ता राख्ने गरिन्छ। एउटा बच्चा आँखा नदेख्ने भएर जन्मिएछन्। स्याहार गर्न गाह्रो भएर अभिभावकले उनलाई भीरमा तल खसालिदिएछन्। त्यस कारण हामी आमा–बाहरूलाई पनि यहाँ बोलाएर तालिम दिन्छौँ। काउन्सेलिङ गर्छौं,’ डा मदन भन्छन्।
एक पटक कान नसुन्ने सानो केटा र आँखा नदेख्ने सानी केटीबीचको आत्मीयताले डा मदनलाई भावुक बनायो। ‘ती कान नसुन्ने सानो केटाले आँखा नदेख्ने सानी केटीको जुत्ताको तुना बाँधिदिँदै थिए। त्यो दृश्यले निकै ठूलो अर्थ बोकेको थियो,’ उनी सम्झिन्छन्।
अहिले मदनहरूले बारामा पनि पुनर्स्थापना केन्द्र सुरु गरेका छन्।
०००
सुस्मा थापाले दृष्टिविहीनका साथै बहुअपांगता भएका बालबालिकाहरूसँग यही पुनर्स्थापना केन्द्रमा आएपछि काम गर्ने मौका पाइन्। ‘सुरुमा त प्राइमरी स्कुलमा पढाउँथेँ। विस्तारै डिस्याबिलिटी फिल्डमा आएँ। यही संस्थाबाट इन्डिया र थाइल्यान्डमा मलाई तालिमको लागि पठाउनु पनि भयो,’ उनी भन्छिन्।
सुस्माका लागि यहाँ काम गर्दाका सुरुवाती दिन पीडादायक थिए। ‘म आफू पनि आमा हुँ। आँखा नदेख्ने बच्चा, जो बाबा ममीको काँख छोडेर बसेका छन्, त्यो देख्दा आफैं रोएर जान्थेँ,’ उनी सम्झिन्छिन्।
अहिले उनलाई यहाँका बालबालिका आफ्नै सन्तान जस्ता लाग्छन्। सुनाउँछिन्, ‘यो ठाउँमा काम गर्न मन भित्रैबाट इच्छा जागृत हुनुपर्छ। मलाई त मेरा छोराछोरी घरमा मात्र हैन, यहाँ पनि छन् भन्ने फिल हुन्छ।’
यहाँबाट फर्केका बालबालिकाहरूले सुस्मालाई बिर्संदैनन्। फोन गरेर भन्छन्, ‘ठूलो भएपछि म भेट्न आउँछु है।’ केही समयअघि मात्र एक जना बालिकाले फोनमा सुनाइन्, ‘म्याम यसपालि म सेकेन्ड भएँ नि। अब त फस्र्ट हुने हो।’
सुन्दा सुस्मालाई निकै रमाइलो लाग्यो।
सुस्मा बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म बालबालिकासँग रहन्छिन्। बिहान र बेलुकाको लागि धाइआमाहरू पनि छन्।
दृष्टिविहीन बालबालिकालाई खाना खुवाउने बेला घडी अवधारणा अनुसार खुवाउने गरेको उनी सुनाउँछिन्। ‘१२ मा खाना राख्नुपर्छ। ६ भनेको खाली भन्ने बुझ्नुपर्छ। दाहिनेपट्टि ३ र देव्रेपट्टि ९ हुन्छ। उनीहरूले १२ को खाना ६ मा ल्याउनुपर्छ,’ सुस्मा प्रकिया बुझाउँछिन्।
सुरुमा ल्याइएका बालबालिका खाना छुन पनि डराउँछन्। विस्तारै उनीहरूलाई जीवनको दैनिकीमा आइपर्ने काम र प्रकिया सिकाउँदा सक्षम भएर उभिन्छन्।
बालबालिकाका लागि मनोपरामर्शदाता पनि हुन्छन्। मनोपरामर्शदाता दुर्गा आचार्य स्वयंं दृष्टिविहीन हुन्। उनलाई बालबालिकाका कुरा सुनिदिन, उनीहरूको साथमा खेलिदिन निकै आनन्द आउँछ। उनी बालबालिकालाई खुसी पार्न, उत्प्रेरणा जगाउन विभिन्न गतिविधि गराइरहन्छिन्। ‘यसरी गराउँदा रमाइलो लाग्छ। बालबालिका आफ्नै परिवार जस्ता लाग्छन्,’ दुर्गा भन्छिन्।